यात्रुलाई गुणस्तरीय खाना खुवाउन होटल–रेस्टुरेन्टलाई विभागको आग्रह
काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका यात्रुलाई सुरक्षित, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउन यातायात व्यवसायी तथा सवारी चालकलाई आग्रह गरेको छ।
खाद्य स्वच्छतामा लापरबाही, बासी तथा झिँगा भन्किएका खानेकुरा र न्यून गुणस्तरको खाना उपलब्ध गराइएको गुनासो बढेपछि विभागले एक सुचना जारी गर्दै यस्तो आग्रह गरेको हो।
विभागले सार्वजनिक यातायातका यात्रुलाई खाना, नास्ता तथा खाजाका लागि रोक्ने होटल तथा रेस्टुरेन्ट छनोट गर्दा खाद्य स्वच्छतालाई प्राथमिकता दिन सवारी चालकलाई आग्रह गरेको छ। सम्भव भएसम्म खाद्य स्वच्छतासम्बन्धी स्टिकर टाँसिएका होटल तथा रेस्टुरेन्टमा मात्रै यात्रुलाई खाना तथा खाजाका लागि रोक्न विभागले सुझाव दिएको छ।
विभागका अनुसार होटल तथा रेस्टुरेन्टमा उपलब्ध गराइने खाना तथा खाजाको गुणस्तरमा लापरबाही हुँदा यात्रुको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्छ। न्यून गुणस्तरको खाना खाएका कारण यात्रु बिरामी परेको गुनासो आएमा सम्बन्धित निकायबाट निगरानी गरिने विभागले जनाएको छ।
खाद्य स्वच्छता तथा गुणस्तरमा लापरबाही गरेको पाइएमा सम्बन्धित सवारी चालक र होटल–रेस्टुरेन्ट सञ्चालकलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत विभागले दिएको छ।
त्यस्तै, होटल तथा रेस्टुरेन्टमा खाना र खाजाको स्वच्छता तथा गुणस्तरमा कमी देखिएमा वा मूल्यमा ठगी भएको पाइएमा यात्रुलाई नेपाल प्रहरीको हेल्पलाइन नम्बर १०० मा सम्पर्क गरी जानकारी गराउन विभागले आग्रह गरेको छ।
यात्रुले सम्बन्धित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा त्यसअन्तर्गतका नजिकका कार्यालयमा समेत उजुरी गर्न सक्नेछन्।
विभागले सार्वजनिक यातायातका यात्रुको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै होटल तथा रेस्टुरेन्ट सञ्चालकलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न तथा सवारी चालकलाई यात्रुका लागि सुरक्षित र स्वच्छ खाना उपलब्ध हुने स्थान छनोट गर्न आग्रह गरेको छ।








