२७ आश्विन २०८३, मंगलबार

जर्मनीका लागि प्रस्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’

प्रकाशित मिति :  13 October, 2026 11:12 am


काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले प्रवासी नेपालीको मताधिकार र श्रम गन्तव्यको समस्या समाधानका लागि स्पष्ट खाका माग गरेका छन् ।

संसदीय सुनुवाई समितिको मंगलवारको बैठकमा जर्मनीका लागि प्रस्तावित राजदुत सरु जोशीको कार्ययोजना र क्षमतामाथि प्रश्न गर्दै सांसद पुनले जोशीको लामो अनुभव र विज्ञताको प्रशंसा गर्दै अब उनी एक अभियन्ताबाट कुटनीतिक प्रतिनिधिमा रूपान्तरण भएकोले थप जिम्मेवारी बढेको बताए ।

उनले विशेषगरी विदेशमा रहेका नेपालीहरूको ‘नोट चल्ने तर भोट नचल्ने’ अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै प्राविधिक र प्रशासनिक रूपमा प्रवासी मताधिकार कार्यान्वयन गर्न कत्तिको सम्भव देख्नुहुन्छ भनी प्रश्न गरे ।

आर्थिक कुटनीतितर्फ संकेत गर्दै पुनले नेपालको जर्मनीसँगको ऊर्जा र जलवायु परिवर्तनको साझेदारीलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए । उनले एलडिसीबाट स्नातक हुँदै गरेको नेपाललाई वैदेशिक सहयोगभन्दा बढी लगानीको आवश्यकता रहेको उल्लेख गर्दै सोहीअनुरूप प्राथमिकता तय गर्न सुझाव दिए। उनले जर्मनीमा रहेको नेपालको जग्गा र सम्पत्तिको उचित व्यवस्थापन गर्न पनि ध्यानाकर्षण गराए।

श्रम आप्रवासनको क्षेत्रमा काम गरिसक्नुभएकी जोशीलाई लक्षित गर्दै पुनले महिला श्रमिकको सुरक्षा र गन्तव्य मुलुकमा भइरहेको शोषण न्युनिकरणका उपायबारे प्रश्न सोधे । रोमानियाजस्ता देशमा श्रम स्वीकृति लिएका नेपालीहरू अनधिकृत रूपमा अन्यत्र जाने क्रम बढेको भन्दै उनले सरकारी डेटा र वास्तविक धरातलबीचको ‘मिस म्याच’ लाई कुटनीतिक च्यानलबाट कसरी सम्बोधन गर्ने भन्नेबारे स्पष्ट पार्न आग्रह गरे ।

उनले भने, ‘यहाँले विगतमा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिलाउन वकालत गरेका थिए । अब यसको आर्थिक, प्राविधिक र प्रशासनिक सम्भाव्यता कति छ, र आगामी निर्वाचनमा यो व्यवस्था लागू गर्न सकिन्छ ? नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने प्रक्रियामा रहँदा जर्मनीको विकास सहायता र लगानीलाई निरन्तरता दिन, विशेषगरी नवीकरणीय ऊर्जा, जलवायु परिवर्तन र विपद् व्यवस्थापनका क्षेत्रमा सहयोग बढाउन यहाँले के पहल गर्नुहुन्छ रु वैदेशिक रोजगारीमा जाने महिला श्रमिकको शोषण अन्त्य गरी सुरक्षित र सम्मानजनक आप्रवासन सुनिश्चित गर्न यहाँको योजना के छ रु बोनस्थित नेपाली राजदूतावासको सम्पत्ति व्यवस्थापन र बिक्रीसम्बन्धी समस्या कहिलेसम्म समाधान गर्नुहुन्छ रु रोमानियाका लागि श्रम स्वीकृति लिएर अन्य युरोपेली मुलुकमा पुगेका नेपालीको तथ्याङ्क र वास्तविक अवस्थाबीचको अन्तर कसरी समाधान गर्नुहुन्छ?’

समिति बैठकमा सांसद पुनले कुटनीतिक नियोगको नेतृत्व गर्दा विज्ञतालाई व्यवहारमा उतार्न चुनौती हुने भएपनि आफ्नो पृष्ठभुमिले जोशीलाई काम गर्न सहज हुने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !