७ बैशाख २०८१, शुक्रबार

पर्वतका मु्ख्य ग्रामीण सडकमा धमाधम पुल निमार्ण हुँदै

प्रकाशित मिति :  22 February, 2021 1:22 pm


काठमाडौं । पर्वतका मुख्य ग्रामीण सडकमा पर्ने खोलामा धमाधम पुल निर्माण भइरहेको छ । हिउँदमा गाडी गुड्ने र वर्षात्मा बन्द रहने ग्रामीण सडकको समस्या रही आएको छ । ग्रामीण सडक वर्षात्का करीब तीनसम्म स्थानीय नदी तथा खोलामा पुल नहुँदा ग्रामीण सडकको यात्रा रोकिने गरेको थियो ।

चालू वर्ष मात्रै पर्वतका करीब आधा दर्जन मुख्य खोला नदीमा पुल निर्माण सम्पन्न भइसकेका छन् । केही खोलामा निर्माणाधीन पुल आगामी असारभित्रै सम्पन्न हुने चरणमा छन् । पूर्वाधार विकास कार्यालय पर्वत र सडक डिभिजन कार्यालय बागलुङले निर्माण थालेका पक्की पुलले मुख्य राजमार्ग तथा कुस्मा जोड्ने सबै स्थानीय तहलाई सहज बनाउने छ । पर्वतका सातै स्थानीय तह आवतजावत गर्ने सडकको यात्रा अब बाह्रै महिना सहज हुने भएको छ ।

गण्डकी प्रदेशको सबै स्थानीय तहमा पक्की सडक सञ्जाल पु¥याउने लक्ष्यकासाथ गत वर्षदेखि शुरुआत भएका सबैजसो पक्की पुल आगामी २०७८ असारभित्रै सम्पन्न हुने तयारीमा छन् । केही पुल यसअघि नै सम्पन्न भइसकेको सडक डिभिजन तथा पूर्वाधार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार फलेबासको अर्चले–भङ्गरा जोड्ने पुल निर्माण सम्पन्न भइसकेको छ । अघिल्लो वर्ष नै कुस्मा–२ छमर्के खुर्कोटको रिठेखोला पुल निर्माण सम्पन्न भइसकेको छ ।

गत महिना कुस्मा नगरपालिका–३ अम्बोटखोला र मोदी गाउँपालिका–६ तिलाहारस्थित रतिखोला पुलको निर्माण सम्पन्न भएको छ । सडक डिभिजन कार्यालयले निर्माण गरेका दुवै पुलले कुस्मा तथा मोदी गाउँपालिकालाई मध्यपहाडी राजमार्गसँग जोड्छन् ।

मोदी गाउँपालिका–१ तथा कास्कीको अन्नपूर्ण गाउँपालिका–९ जोड्ने भुरुङ्दी खोला पुल यसै वर्षभित्र सम्पन्न गर्नेगरी तीव्र गतिमा निर्माण भइरहेको छ । कास्कीको नयाँ पुल हुँदै म्याग्दीको घोडेपानीसम्म पुग्ने सडकमा भुरुङ्दी खोलाको पुल निर्माण भएपछि देशी विदेशी पर्यटकको यात्रामा सहज हुनेछ ।

पूर्वाधार कार्यालयले चालू वर्षमा सकिने गरी पैँयु गाउँपालिका–७ मा शेरा खोला, पैँयु–४ मा गेडी खोला, मर्दी खोला र शिब्दी खोला पुल निर्माण गरिरहेको छ । कार्यालयका सूचना अधिकारी गौरवदास बैरागीका अनुसार चालू वर्षमा नै सक्नेगरी तीव्ररुपमा अघि बढिरहेका पुलमध्ये सबैको प्रगति ७५ प्रतिशत नाँघीसकेको छ ।

कार्यालयका प्रमुख कृष्ण आचार्यका अनुसार भुरुङ्दी खोला पुलको काम विगतदेखि नै ढिलाइ भए पनि यस वर्ष सक्नेगरी ताकेता गरिएको छ । शेरा खोला, गेडी खोला, मर्दी खोला र शिव्दी खोलाको काम तीव्र गतिमा अगाडि बढाइएको छ ।

कोरोनाका कारण गरिएको लकडाउनले काम समयमै सम्पन्न गर्न समस्या भएको कार्यालय प्रमुख आचार्यले बताए । शेरा खोला र गेडी खोला पुल निर्माणको जिम्मा लिएको बाइएसएस निर्माण कम्पनीका प्रतिनिधि यज्ञबहादुर थापाका अनुसार गेडी खोला पुल निर्माण सकिएको छ । शेरखोला र गेडी खोला पुलले पैँयु, बिहादी र महाशिला गाउँपालिका जोडिन्छन् ।

सडक डिभिजन कार्यालय बागलुङका अनुसार पर्वतका ग्रामीण सडकलाई सहज हुनेगरी चार वटा पक्की पुल निर्माणको चरणमा छन् । चारमध्ये मोदी गाउँपालिका–५ बाजुङ र कुस्मा नगरपालिका–३ दुर्लुङ जोड्ने अम्बोट खोला पुल निर्माण सम्पन्न भइसकेको छ । डिभिजन प्रमुख रामेश्वर लम्सालले कुस्मा–२ स्थित रिठेखोला, तथा पर्वतको फलेबास र बागलुङको जैमिनी नगरपालिका जोड्न काली गण्डकी पुल निर्माणको चरणमा रहेको बताए ।

निर्माणाधीन कालीगण्डकीको पुलका लागि आगामी एक वर्ष लाग्नसक्ने उनले जानकारी दिए । कालीगण्डकी करिडोर अन्तर्गत मोदीखोला र सेतीखोलाको पुल पनि सम्पन्न भइसकेका छन् । पुलले पर्वतको फलेबास नगरपालिका र बागलुङको जैमिनी नगरपालिका जोड्छ । पर्वतमा निर्माणाधीन यी पुलले सबैजसो मुख्य बस्तीलाई समेट्छन् । विगतमा जेठको अन्तिम सातादेखि कात्तिकसम्म अवरुद्ध हुने ग्रामीण सडक आगामी वर्षदेखि बाह्रै महिना सञ्चालनमा आउने स्थानीयवासीको अपेक्षा छ ।



प्रतिक्रिया दिनुहोस !