२० बैशाख २०८१, बिहिबार

छोरीको कपाल काटिदिएको भन्दै शिक्षिका विरुद्ध १० लाख डलर क्षतिपूर्ति दाबी सहित मुद्दा दायर

प्रकाशित मिति :  17 September, 2021 6:58 pm


काठमाडौं । अमेरिकामा विद्यालय गएकी आफ्नी छोरीको कपाल शिक्षिकाले बिनाअनुमति काटिदिएको भन्दै एक व्यक्तिले १० लाख डलर क्षतिपूर्ति दाबी गरेका छन् । उनले विद्यालय सञ्चालन गर्ने स्थानीय प्रशासन र दुई कर्मचारीलाई मुद्दा हालेका छन् ।

जिमी होफ्मेयरले मिश्रित वर्णकी आफ्नी छोरीको संवैधानिक अधिकार हनन भएको दाबी गरेका छन् । उनले छोरीलाई मिशिगनस्थित उक्त विद्यालयबाट निकालेका छन् । स्थानीय शैक्षिक प्रशासनले गत जुलाई महिनामा एउटा अनुसन्धान गर्दै उक्त विद्यालयकी एक शिक्षिकाले विद्यालयको नीति उल्लङ्घन गरेको तर उनले साम्प्रदायिक पूर्वाग्रहका कारण त्यसो नगरेको निष्कर्ष निकालेको थियो । ती शिक्षिकालाई चेतावनी दिइएको थियो तर उनलाई उक्त विद्यालयमा काम गर्न रोकिएको थिएन ।

होफ्मेयरले सञ्चारमाध्यमलाई बताएअनुसार गत अप्रिलमा उनकी छोरी जर्नी घर फर्किँदा उनको टाउकोको एउटा भागमा अधिकांश केश काटिएको थियो । उनले विद्यालयको बसमा छोरीका एक सहपाठीले जर्नीको घुम्रिएको लामो केश काट्न कैँची चलाएको बताए । बिग्रिएको केश मिलाउन उनलाई हजामका लगिएको भए पनि दुई दिनपछि जर्नी विद्यालयबाट फर्किँदा अर्को भागको केश पनि काटिएको थियो ।

जर्नीका बुवाले त्यस्तो काम अर्को विद्यार्थीले गरेको ठानेका थिए । तर छोरीले भने त्यसो शिक्षिकाले गरेको बताइन् । उनले बताएअनुसार ती शिक्षिकाले दुवैतिरको केश बराबर बनाइदिन त्यसो गरेकी थिइन् ।

पश्चिम मिशिगनस्थित एउटा सङ्घीय अदालतमा दायर मुद्दामा माउन्ट प्लीजन्ट पब्लिक स्कूल्स र दुई शिक्षक प्रतिवादी बनाइएको छ । उक्त मुद्दामा ती बालिकाको संवैधानिक अधिकार हनन भएको तथा रङ्गभेद, जातीय त्रास, मनोवैज्ञानिक अस्थिरताका लागि नियतवश व्यवहार र आक्रमण गरिएको आरोप लगाइएको छ ।

शैक्षिक प्रशासनले “आफ्ना कर्मचारीहरूलाई राम्रोसँग तालिम, अनुगमन, निर्देशन, अनुशासनमा राख्न असफल“ भएको आरोप पनि छ । ती आरोपबारे कुनै औपचारिक उत्तर आएको छैन र विद्यालय प्रशासनले कुनै सार्वजनिक प्रतिक्रिया जनाएको छैन ।

बीबीसी नेपालीबाट साभार



प्रतिक्रिया दिनुहोस !