८ जेष्ठ २०८१, मंगलबार

प्रचण्डको गैह्र जिम्मेवार अभिव्यक्ति आउनु दुःखदः कांग्रेस

प्रकाशित मिति :  13 February, 2020 8:05 pm


काठमाडौं । नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । विहीबार जनयुद्ध दिवसका अवसरमा नेकपा अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिप्रति कांग्रेसले गम्भीर ध्यानकर्षण भएको जनाएको हो । विहीबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञिप्त जारी गरि प्रचण्डको अभिव्यक्तिको खण्डन गरेको हुन् । जनयुद्ध दिवसका अवसरमा नेकपा मुख्यालयमा आज आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले आफूहरुलाई फौजी आक्रमण बढाइदिन आग्रह गर्ने गरेको प्रचण्डको भनाइ थियो ।

प्रचण्डको अभिव्यक्तिलाई खण्डन गर्दै प्रवक्ता शर्मामाले जारी गरेको विज्ञप्तिमा भनिएकोछ, ‘माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपुर्ण अवतरण गराउन निर्णायक पहल गर्नुहुने शान्तिका नायक स्व। गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भुमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक त छ नै आपत्तिजनक समेत छ ।’

प्रचण्डको गैह्र जिम्मेवार अभिव्यक्ति आउनु दुःखद रहेको विज्ञप्तिमा उल्लेख छ । प्रवक्ता शर्माले विज्ञप्तिमा भनेका छन्, ‘फौजी आक्रमण अलि बढाइदिनुपर्‍यो र सदरमुकाम हान्‍नुपर्‍यो भनेर गिरिजाप्रसाद कोइरालाले दाहाललाई यदि सांचै भन्नुभएको हुंदो हो त त्यो संवादको कुरा कोइराला जिवित छँदैनै दाहालले पक्कै सार्वजनिक गर्नुहुन्थ्यो, ‘तर उहाँको निधन भएको यतिका बर्षपछि ऎतिहासिक तथ्यलाई तोडमोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैह्र जिम्मेवार अभिव्यक्ति आउनु दुःखद छ ।’

माओवादीको हिंसात्मक आक्रमणबाट मुलुकलाई मुक्त गर्न कोइरालाले सहमति, सहकार्य र एकताको राजनीति अघि सारेको काँग्रेस स्मरण गराएको छ ।विज्ञप्तिको अन्त्यमा भनिएकोछ, ‘ऐतिहासिक तथ्य यो हो कि माओवादीको हिंसात्मक आक्रमणबाट मुलुकलाई मुक्त गर्न कोइरालाले सहमति, सहकार्य र एकताको राजनीति अघि सार्नु भएको थियो । हिंसाको राजनीतिलाई सुरक्षीत अवतरण गराउन सफल ढंगले संयोजन र नेतृत्व गर्नुभएको नेताले नै हिंसात्मक आक्रमणका लागि प्रेरित गर्नुभयो भन्नू आफैमा विरोधाभासपूर्ण छ ।’



प्रतिक्रिया दिनुहोस !