३१ आश्विन २०७८, आईतवार

रेमिट्यान्स सदुपयोगले उद्यमी

प्रकाशित मिति :  १६ आश्विन २०७८, शनिबार १४:२१


हीराबहादुर घर्तीमगर

रोल्पा । वैदेशिक रोजगारमा जाने अधिकांश युवामध्ये थोरैले मात्र राम्रो सफलता प्राप्त गरेको देखिन्छ । तीमध्ये हुन्, रोल्पाको माडी गाउँपालिका वडा नं. २ घर्तिगाउँका धनबहादुर भनिने भीमसेन घर्तीमगर ।

उनी ६ वर्षको छँदा उनका बुवा मजदुरी गर्न कालापहाड (भारत) गए । उनले केही जग्गा–जमिन पनि बेचे । उल्टै ऋणमा    पारे । बुवाले राम्रो हेरचाह गर्न नसकेको भीमसेन सम्झिन्छन् । उनका अधिकांश साथीहरू स्कूल जान्थे । उनी भने घरायसी काम गर्दथे । विद्यालय भने गाउँमै थियो । गाउँकै फुपूले ‘स्कूल पढ्न जान्छस्’ भने पछि उनी स्कूल जान तयार भए ।

कक्षा ४ अध्ययन गर्दै गर्दा उनी इँटा बोक्न काठमाडौं गए । उनी कक्षा ४ को परीक्षा दिन भने गाउँ फर्किए । कक्षा ६ सम्म पढेपछि उनले पढ्न छाडे । विवाहपछि उनी पैसा कमाउन कालापहाड गए । भारतमा उनले गिट्टी कुट्ने काम गरे । भारतमा उनले पैसा कमाउन सकेनन् । त्यसपछि उनले पैसा कमाउन होटल खोल्ने विकल्प रोजे । उनी दाङ झरे । घोराहीमा एक वर्ष होटल चलाए । तर उनले होटलबाट पनि पैसा कमाउन सकेनन् ।

उनले दोस्रो विकल्प रोजे । त्यो थियो ‘पैसा कमाउन विदेश जाने ।’ ‘सिप सिकेर विदेश जाँदा राम्रो कमाई हुन्छ’ भन्ने उनले सुनेका थिए । उनले काठमाडौं जाने र केही सिप सिक्ने योजना बनाए । उनले वेल्डिङ तालिम लिए । विदेश जान उनले साउदीको भिसा लगाए ।

२०५९ साउनमा उनी विदेश जाँदा रोल्पामा माओवादी द्वन्द्वको प्रभाव बढ्दो थियो । राज्य पक्षले विद्रोही पक्षको गतिविधि नियन्त्रण गर्न विभिन्न अप्रेसन चलाइ रहेको थियो । सर्वसाधारणहरू राज्य र विद्रोही पक्षको दोहोरो चेपुवामा परी रहेका थिए ।

गाउँमा मासिक सयकडा तीन प्रतिशत ऋण लिएर विदेश जान उनले डेढ लाख खर्च गरे । उनी मासिक ६ सय रियालमा वेल्डिङ गर्ने काममा साउदी गए । त्यहाँ उनले विन कोरिया कम्पनीमा वेल्डिङको काम सुरु गरे । तर उनको काम सन्तोषजनक हुन सकेन । कम्पनीले उनलाई लेबर (श्रमिक) को रुपमा अर्कै काममा लगाइ दियो । मासिक पारिश्रमिक ६ सयबाट ५ सयमा झारी दियो ।

साउदीमा उनले दैनिक १२ घण्टासम्म काम गरे । लेबर काम गरेर विदेश जाँदा लिएको ऋण तिर्नुबाहेक उनीसँग अर्को विकल्प थिएन । विदेश जाँदा लिएको डेढ लाख साँवा–ब्याज गरी साढे तीन लाख भुक्तानी गरे । त्यतिखेर उनलाई ‘विदेश आएर पनि सोचे जस्तो कमाइ भएन । अब पैसा कसरी कमाउने ?’ भन्ने लागेको थियो । यही खुलदुली बीच कम्पनीमा काम गर्दै जाँदा उनले विभिन्न जुक्ति निकाले ।

त्यसमध्ये एउटा थियो ‘थाइल्यान्ड लटरी कम्पनी’ मा लटरी खेल्ने । त्यो कम्पनी साउदीमै कार्यरत थियो । त्यहाँ महिनामा दुई चोटी लटरी खुल्थ्यो । उनी पनि कम्पनीका अन्य कामदार जस्तै लटरी खेल्न थाले । लटरीबाट पनि राम्रो पैसा कमाएको उनले सुनाए ।

वैदेशिक रोजगारीसँगै उनले ग्राहकको माग संकलन गर्ने र व्यापार गर्ने काम पनि विकल्पको रुपमा अगाडि बढाए । उनले भने “ड्युटी बाहेकको समय मिलाएर माग संकलन गर्ने गर्दथ्यौं । माग अनुरुप ग्राहकलाई सामान आपूर्ति गरी दिन्थ्यौं । त्यहाँ हामीले रिचार्ज कार्ड, जुस, पेप्सी लगायतका सामान बिक्री गर्दथ्यौं ।” विदेशमा कमाएको पैसा उनले त्यही व्यापारमा लगानी पनि गर्थे । उनको व्यापार पनि बढ्दै गयो ।

उनले भने “पछि त्यहाँ मेरा ग्राहक मात्रै साढे छ हजारसम्म पुगेका थिए । मासिक दुई–अढाई लाख त सधैं कमाउँथे । कुनै महिना त मैलें त्यो भन्दा पनि बढी कमाउँथे ।”

एजेन्टको रुपमा काम गर्दै जाँदा उनी कम्पनीको मुख्य एजेन्टसम्म भए । यस्तै प्रकृतिका काम गर्ने अन्य कम्पनीको रोजाइमा पनि उनी पर्थे । उनी मार्फत व्यापार गर्ने १५ जना अरु एजेन्ट पनि थिए । उनले आफ्ना एजेन्टलाई सामान बिक्री गरे वापत बिक्री मूल्यको १० प्रशित कमिसन दिन्थे ।

भीमसेनले साउदीमा करिव १५ वर्ष बिताए । उनी यस अवधिमा जम्मा पाँच पटक नेपाल आए । उनको साउदी बसाईको १५ वर्षे कमाई पनि उल्लेख्य देखिन्छ । उनले २०७२ मा सदरमुकाम लिबाङमा ९५ लाख रुपैयाँ खर्च गरेर घर बनाए । उनी विदेशमा रहेकै बेला उनको घर तयार भएको हो । अहिले उनको घर भाडाबापत मासिक ३० हजार रुपैयाँ आम्दानी हुन्छ ।

उनले ३२ लाख रुपैयाँमा फोर्स जीप (गाडी) किनेका छन् । उनको यातायात सेवाको पहुँच जिल्ला भित्र र छिमेकी जिल्ला दाङ, प्यूठान, रुकुमसम्म रहेको छ । यसबाट मासिक ५० हजार रुपैयाँ कमाइ हुने गरेको भीमसेनले सुनाए ।

उनले लगानी विविधीकरण गर्ने अभिप्रायले घोराहीमा २८ लाख रुपैयाँमा घडेरी किनेको जानकारी दिए । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरी दाङ तोकिएपछि घडेरीको मूल्य पनि सोंचे भन्दा बढेको उनले बताए ।

उनले रोल्पा नगरपालिका वडा नं. २ मूलपानीमा ठूला–साना गाडीका लागि ग्यारेज खोलेका छन् । स्थानीय सोर बुढामगरसँगको साझेदारीमा २५ लाख लगानी गरेर ग्यारेज सञ्चालन गरिएको उनले जानकारी दिए । उनले खोलेको ‘नेसनल मोटर पार्टस फर्म’ मा पनि सेवाग्राहीको घुइँचो देखिन्छ । यसबाट करिब मासिक ६० हजार कमाई हुने गरेको छ । ग्यारेजमा तीन जनालाई रोजगारी पनि दिइएको उनले बताए ।

उनको सम्पत्ति पनि बढ्दै गएको छ । उनले भने “म जसरी हुन्छ पैसाबाट थप पैसा कमाउने उपाय सोच्ने गर्छु । त्यही अनुसारको योजना बनाएर काम गर्छु । विदेशमा पनि म यही सोच अनुसार काम गर्थेँ । यहाँ पनि म पैसालाई आफू थुपारेर राख्ने होइन, चलायमान बनाउनु पर्छ भन्ने सोचका साथ काम गरिरहेको छु । अहिले मसँग अढाई करोड जतिको सम्पत्ति छ ।”

उनले लिबाङ बजारमा बाइकको सोरुम, फेन्सी, जुत्ता पसल पनि सञ्चालन गर्ने योजना सुनाए । “मैले विदेशमा कमाएको पैसा त नेपाल ल्याए । तर विदेशमा कमाएका नेपाली साथीभाइले चाहेर पनि नेपाल ल्याउन सक्दैन,” उनले भने ।

रोल्पा नगरपालिका वडा नं. ८ जंकोटका लालबहादुर डाँगी पनि रेमिट्यान्स सदुपयोग गर्ने थोरै व्यक्ति मध्येमा एक हुन । उनी वैदेशिक रोजगारीको सिलसिलामा २०६३ सालमा फ्रि भिसामा दुबई गए । त्यहाँ उनले कम्पनीको मेकानिकल एसी डिपार्टमेन्टमा प्लम्बरको रुपमा काम गरे ।

उनको मासिक पारिश्रमिक सुरुमा १ हजार ५ सय डिराम थियो । कम्पनीमा राम्रो काम गर्दै गएपछि उनको तलब ३ हजार ५ सय सम्म पुग्यो । पछि उनले खरिद विभागमा काम गर्ने अवसर पाए । उनले विदेशमा कमाएको पैसा बचत गर्न दुबईमै एभरेस्ट बैंकमा खाता खोले । उनी भन्छन “अरु साथीहरू त्यहाँ जति कमायो । यता घर–परिवारलाई पठाई हाल्थे । ९० प्रतिशतले त खाएरै सक्थे । म चाहिँ मेरो खातामै जम्मा गर्थेँ । घरतिर महिनामा त्यस्तै ८–१० हजार रुपैयाँ जति मात्र पठाइ दिन्थे ।”

३९ वर्षीय लालबहादुरले ५ वर्षे दुबई बसाईको क्रममा करिब २० लाख रुपैयाँ कमाए । त्यसपछि उनलाई ‘विदेश जानुभन्दा यतै केही गर्नु पर्छ भन्ने’ लाग्यो । सदरमुकाम लिबाङमा उनले चियानास्ता पसल शुरु गरे । उनले पसलबाट पनि राम्रै पैसा कमाए । लिबाङमै ८० लाख रुपैयाँ खर्चेर पक्की घर बनाए । उनले भने “आफूले कमाएको अनि बैंकबाट ऋण गरेर घर बनाएको ६ वर्ष भयो । घरमै होटेल पनि सञ्चालन गरेको छु । आफ्नो व्यवसाय गर्न भाडा तिर्न परेको छैन ।”

उनले पनि ३४ लाख रुपैयाँमा फोर्स जीप गाडी किनेका छन् । यसबाट पनि उनको राम्रै कमाइ भइरहेको छ । आफ्नै घरमा मोटर साइकलको वर्कसप सञ्चालन गरेका छन् । यो व्यवसायबाट उनले अरुलाई रोजगारी पनि दिएका छन् । आफूले पनि राम्रै आम्दानी गरिरहेको उनले बताए । उनले थपे “सात जनालाई रोजगारी भएको छ । सबै खर्च कटाएर मासिक ४०/५० हजार रुपैयाँ जति बचत हुन्छ, ४१ हजार बैंकको किस्ता तिर्छु । आफ्नो व्यवसायबाट सन्तुष्ट नै छु ।”

विदेश र स्वदेशको कमाइ, बैैंकको ऋणले उनले भाइलाई अमेरिका पठाएको सुनाए । उनले भने “बैंकबाट ऋण निकाले । विदेश र स्वदेशको कमाई जोरजाम गरेर भाईलाई अमेरिका पठाएँ । उसले पनि जाँदा लागेको ऋण तिरी सक्यो । मैले अलिअलि कमाएको हुनाले उसलाई पनि अघि बढ्न सहज भयो ।”

विदेशबाट फर्केका युवाले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा उनले जोड दिए । उनले भने “उत्पादनशील क्षेत्रमा युवाले लगानी गर्छन् । राज्यले त्यो खालको वातावरण बनाइ दिनुप-यो ।” गाउँको उत्पादनले उचित मूल्य र बजार पाउन नसकेको उनले बताए । उनले थपे “किसानको उत्पादनले उचित बजार नै पाउन सकेको छैन । फेरि गाउँमा उत्पादन गरेर बेच्ने कहाँ ? राज्यले यसको पनि ग्यारेन्टी गर्नुपर्छ ।”

रेमिट्यान्स सदुपयोगका लागि गर्नुपर्ने काम

जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पाका समाजशास्त्रका सहप्रध्यापक कृष्ण प्रसाद न्यौपाने रेमिट्यान्स सदुपयोग गर्न राज्यले युवालाई स्वदेशमै सरकारी कम्पनी खोलेर रोजगारी दिनु पर्नेमा जोड दिन्छन् । उनी भन्छन् “रेमिट्यान्स सदुपयोग गर्न राज्यले छुट्टै सरकारी कम्पनी खोलेर रोजगारी दिनु पर्छ । यसो ग-यो भने सार्वजनिक खरिदमा गरिने बजेटको पनि सही सदुपयोग हुन्छ । बेरोजगार युवाले पनि स्वदेशमै रोजगारी पाउँछन् ।”

बैदेशिक रोजगारबाट भित्रिने रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लगाउन राज्यले नै वातावरण बनाउनु पर्ने उनको भनाइ छ । “सरकारले अगुवाई गरेर आह्वान गर्ने हो भने विदेशमा पैसा कमाएका युवाले लगानी गरी हाल्छन् नि, तर राज्यले त्यसो गर्न सकेको छैन । युवालाई देशका उद्योग धन्दा, कलकारखानामा लगानी गर्ने वातावरण बनाई दिनु पर्छ,” उनले भने ।

रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्द रेमिट्यान्स सदुपयोग गर्न तीन तहका सरकारले समयमै उचित कदम चाल्न अब ढिला गर्न नहुने बताउँछन् । उनले भने “युवालाई स्वदेशमै रोजगारी दिनु पर्‍यो। नाम मात्रको युवा स्वरोजगार, प्रधानमन्त्री रोजगार कार्यक्रमले विदेश जाने युवालाई छोएकै छैन । सञ्चालित कार्यक्रममा पनि फलानो पार्टीको समर्थक भनेर विभेद गरिन्छ ।”

नागरिक समाजका अगुवा जीतविक्रम मल्ल पनि रेमिट्यान्ससँग सम्बन्धित समस्या समाधान गर्न सरकारले ठोस नीति तथा कार्यक्रम तर्जुमा गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताउँछन् । उनले भने “रेमिट्यान्सले देश चलि रहेको छ । तर राज्यसँग रेमिट्यान्स सदुपयोग गर्ने ठोस कार्यक्रम देखिदैन ।”

अर्का अधिवक्ता टेकमप्रसाद घर्तीमगरले रेमिट्यान्स सदुपयोगको लागि राज्यले बचतलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनु पर्ने बताउँछन् भने महिला अधिकारकर्मी श्री कुमारी रोकामगरले रेमिट्यान्स सदुपयोग गर्न हुन्डी कारोबार रोक्नु पर्ने, फ्रि भिसाको व्यवहारिक कार्यान्वयन गर्नु पर्ने, गाउँमा चर्को व्याजदर नियन्त्रण गर्नु, रेमिट्यान्स भुक्तानी लिदा बैंकमा अनिवार्य खाता खोल्नु पर्ने र निश्चित रकम राख्नु पर्ने कार्यलाई व्यवस्थित गर्नु पर्ने बताउँछिन् ।

गैर सरकारी संस्था महासंघ जिल्ला शाखाका अध्यक्ष घनश्याम आचार्यले रेमिट्यान्स सदुपयोगका लागि गैर सरकारी क्षेत्रले पनि आफ्नो तर्फबाट पहल गर्नुपर्ने बताए । उनले भने “रेमिट्यान्सको प्रभावकारी उपयोग गर्न राज्यले नै अग्रसरता लिनु पर्छ । संघ संस्थाले पनि यस सम्बन्धी कार्यक्रम बनाउन जरुरी देखिन्छ ।”

टक्सार म्यागजिन, साउन २०७८ मा प्रकाशित



प्रतिक्रिया दिनुहोस !