७ बैशाख २०८१, शुक्रबार

रोल्पाका राजनीतिज्ञ एवं पूर्वमन्त्री रेगबहादुर सुवेदीको निधन

प्रकाशित मिति :  1 February, 2022 8:37 am


रोल्पा । रोल्पाका राजनीतिज्ञ एवं पूर्व सहायकमन्त्री रेगबहादुर सुवेदीको निधन भएको छ । सुवेदीको आज बिहान उनकै निवास सुनिल स्मृति गाउँपालिकाको गजुलमा निधन भएको हो ।

रोल्पाबाट पटक पटक राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका सुवेदी सहायक मन्त्रीसम्म भएका थिए । वि.स.१९९६ मा जन्मेका सुवेदीले २०२० सालमा युवक संगठनबाट राजनीतिक यात्रा सुरु गरेका थिए ।

राजनीतिमा आउनु अघि सुुवेदी गजुलकै प्राइमरी स्कुलको प्रध्यानाध्यापक थिए । रोल्पाका चर्चित नेता तथा उनका ठूलो बुवा षडानन्द सुवेदीको चुनावी अभियान होमिएसँगै रेगबहादुर राजनीतिमा आकर्षित भएका थिए ।

उनलाई षडानन्द सुवेदीको राजनीतिक उत्तराधिकारीकाका रुपमा समेत लिने गरिन्छ । लामो समय जिल्ला पञ्चायत सभापति भएका सुवेदीले २०३४ सालमा राष्ट्रिय पञ्चायतको चुनाव जितेका थिए ।

जनमतसंग्रहपछि पहिलो पटक बालिक मताधिकारबाट भएको निर्वाचनमा पनि राष्ट्रिय पञ्चायत सदस्य भएका थिए भने २०४३ सालमा पनि सुवेदी राष्ट्रिय पञ्चायत सदस्य भएका थिए ।

२०३९ सालमा नै सूर्यबहादुर थापा प्रधानमन्त्री भएका बेला भूमिसुधार सहायक मन्त्री भएका सुवेदीले पछि २०४३ सालमा मध्य क्षेत्र भूमिसम्बन्धी उच्चस्तरीय आयोगको अध्यक्ष भएर काम गरेका थिए ।

द्वन्द्वका बेला तत्कालिन बिद्रोही नेकपा (माओवादी)को ३ महिना अपहरणमा परेका सुवेदीको पछि दिल्लीमा मुटको बाइपास सर्जरी गरिएको थियो । २०५६ सालको प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उमेद्वार भएका सुवेदी पराजित भएका थिए ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि राप्रपामा सक्रिय रहेका सुवेदी पछिल्लो समय नेपाली कांग्रेसमा थिए ।

थप समाचार 

सम्झनामा रेगबहादुर सुवेदी : जसले सहकर्मीबाटै अन्तिममा ‘धोका’ पाएका थिए

 



प्रतिक्रिया दिनुहोस !