८ बैशाख २०८१, शनिबार
सम्झनामा रेगबहादुर सुवेदी

जसले सहकर्मीबाटै अन्तिममा ‘धोका’ पाएका थिए

प्रकाशित मिति :  1 February, 2022 1:19 pm


हिम विष्ट ।

२०१५ सालको पहिलो संसदीय निर्वाचनमा क्षेत्र नम्बर ८३ प्यूठानबाट षडानन्द सुवेदी पहिलो पटक सांसद भए । २०१८ सालमा रोल्पा जिल्ला बनेपछि २००७ सालको नेपाली कांग्रेसको सशस्त्र क्रान्तिमा समेत संलग्न षडानन्द सुवेदीको राजनीतिक उचाइसँगै आफ्ना उत्तराधिकारी पनि तयार गर्नुपर्ने थियो । 

उनले आफूपछि रोल्पाको राजनीतिक नेतृत्वका लागि दुई जनालाई बढी विश्वास गरे । पहिलो थिए, बलाराम घर्तीमगर र दोस्रा थिए आफ्नै भतिज रेगबहादुर सुवेदी ।  बालाराम घर्तीका पुरोहित गजुलकै सुवेदीहरू नै थिए । त्यसैले पारिवारिक सम्बन्ध पनि थियो । रोल्पा मगर बाहुल्य क्षेत्र भएकाले बलारामलाई पनि अगाडि बडाउनुपर्ने सोच षडानन्द सुवेदीमा थियो ।

२०१५ सालको संसदीय चुनावकाे समयमा रेगबहादुर सुवेदी गजुलकै प्राइमरी स्कुलको प्रध्यानाध्यापक थिए । तर २०१५ सालको चुनावसँगै उनी राजनीतिमा आर्कषित भए । षडानन्द सुवेदीले तत्कालिन गजुल राज्यका  हर्ताकर्ता रहेका पुर्खाका सन्ततीबाटै बलाराम घर्ती र रेगबहादुर सुवेदीलाई रोल्पाको राजनीतिमा उठाउन सहयोग गरे । राजनीतिमा बालाराम केही सिनियर थिए तर रेगबहादुर र बलाराम सधै एकताबद्ध भएर पञ्चायतकालीन राजनीतिमा जमिरहे । 

वि.स.१९९६ मा जन्मेका सुवेदीले २०२० सालमा युवक संगठनबाट राजनीतिक यात्रा सुरु गरेका थिए ।

जिल्ला पञ्चायत सभापति भएका सुवेदीले २०३४ सालमा राष्ट्रिय पञ्चायतको चुनाव जितेर सिंहदरबारको यात्रा तय गरे । जनमतसंग्रहपछि पहिलो पटक बालिग मताधिकारबाट भएको निर्वाचनमा पनि राष्ट्रिय पञ्चायत सदस्य भए । २०३९ सालमा सूर्यबहादुर थापाको क्याबिनेटमा बालाराम घर्ती मन्त्री र रेगबहादुर भूमिसुधार सहायक मन्त्री बने । २०४३ सालमा पनि सुवेदी राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भए र राज्यमन्त्री सरहको हैसियतमा मध्य क्षेत्र भूमिसम्बन्धी उच्चस्तरीय आयोगको अध्यक्ष भएर काम गरे । 

पञ्चायतमा बालाराम र रेगबहादुरको जोडी निकै जम्यो । पूर्वमन्त्री बलाराम घर्तीले लुम्बिनी सञ्चारसँग रेगबहादुरलाई सम्झदै भने,“हामी सहकर्मी थियौं, रोल्पामा दुई वटा निर्वाचन क्षेत्र भएकाले पनि मलाई सजिलो भयो हामी एउटै क्यबिनेटमा पनि बस्यौं र आज रोल्पाले एउटा महत्वपूर्ण व्यक्ति गुमाएको छ ।”

तत्कालीन नेकपा (माओवादी)ले सुरु गरेको बिद्रोह उत्कर्षमा पुग्दै थियो तर पनि क्षेत्र नम्बर १ मा राप्रपाको जग बलियो थियो । यसको कारण थियो बलाराम घर्तीमगर, रेगबहादुर सुवेदीको जोडीले पञ्चयातको जगलाई राप्रपामा ढालेको थियो र साथमा थिए, बालाराम घर्तीकै भाई भुपनारायण घर्ती र पूर्वप्रधान पञ्च परशुराम घर्तीसहितको उर्जाशील युवा नेतृत्व पंक्ति। 

बालाराम घर्तीले बहुदलकालमा पनि चुनाव जितेर मन्त्री बनिसकेका थिए तर सुवेदीले अवसर पाएका थिएनन् । माओवादी जनयुद्ध बढ्दै थियो । २०५६ सालमा प्रतिनिधि सभाको चुनावको घोषणा भयो । रोल्पा क्षेत्र नम्बर १  रोल्पा राप्रपाका लागि आकर्षक ठाउँ नै थियो। 

चुनावमा पहिलो पुस्तामा दाबेदार थिए बालाराम र रेगबहादुर भने दोस्रो पुस्ताबाट परशुराम घर्ती र बालारामकै भाइ भुपनारायण घर्ती । बालारामले अब आफूले रोल्पा छोड्ने घोषणा गरे र ललितपुर क्षेत्र नम्बर ३ बाट चुनावको टिकट पक्का  गरे । बालारामले छोड्दा रेगबहादुर स्वतः रोल्पा क्षेत्र नम्बर १ का लागि राप्रपाको उमेद्वारका हकदार थिए । 

छलफलका क्रममा उनले आफूलाई अन्तिम अवसर दिन आग्रह गरेका थिए । रेगबहादुरको भनाई थियो,“अब उमेरले पनि गाह्रो छ र यो पटक अन्तिम अवसर दिनुपर्‍यो ।” प्रारम्भिक छलफलमा बालाराम घर्तीले छोड्ने भएपछि २०५६ मा रेगबहादुर सुवेदीले टिकट पाउनुपर्ने र त्यसपछि अर्को चुनावमा परशुराम घर्ती अनि भुपनारायण घर्तीको पालो आउनुपर्ने माग उठ्यो । परशुराम घर्तीले लुम्बिनी सञ्चारसँग भने,“ राजनीतिमा सिनियारिटीको कुरो मुख्य हुन्छ, बलाराम जीले छोड्दा रेगबहादुरको पालो स्वभाविक थियो र उहाँले छोड्दा म थिएँ । ”

केन्द्रमा टिकट बाँड्ने समितिमा बालाराम आफै थिए । चाहेको भए रेगबहादुरलाई टिकट दिलाउन गाह्रो थिएन । आफूले टिकट नपाउने छाँट देखिएपछि उनले तत्कालिन पार्टी अध्यक्ष सूर्यबहादुर थापालाई भेटेर टिकटका लागि आग्रह गरे ।

जानकारहरूका अनुसार अध्यक्ष थापाले रेगबहादुरलाई, बलारामसँग सल्लाह गर्न र मिलाउन आग्रह गरेका थिए । त्यसपछि सुवेदी निराश बनेका थिए । अहिले एमालमा क्रियाशील परशुराम घर्तीले लुम्बिनी सञ्चारसँग भने,“पार्टी अध्यक्षको जवाफपछि रेगबहादुर जी निराश बन्नुभएको थियो ।”

सुवेदी निराश बन्नुको कारण थियो बालाराम घर्तीले भाइ भुपनारायणलाई टिकट दिँदैछन् भन्ने पर्नु । भुपनारायणपनि दुई पटक माओवादीको बम आक्रमण परेर पनि बाँचेका थिए भने संगठनमा पकड बढाउँदै लगेका थिए ।  गाविस अध्यक्ष बन्दै छोटो समयमै उनले जिल्लामा राम्रो प्रभाव जमाइसकेका थिए । त्यसैले बालारामले भाइलाई छिटो ‘ग्रो’ गर्न चाहेको देखिन्थ्यो । 

अन्तिममा २०५६ सालको प्रतिनिधि सभाको टिकट भुपनारायणले नै पाए । उक्त घटनाले राप्रपा भित्र आन्तरिक विभाजन ल्यायो । रेगबहादुर स्वतन्त्र उमेद्वार बनेर छाता चुनाव चिन्ह लिएर चुनाव लडे । अन्तिममा रेगबहादुरले काटेको मतले नै भुपनारायण चुनाव हार्न प्रयाप्त रहयो । चुनाव नेपाली कांग्रेसका लेखनाथ आचार्यले जिते। 

के अन्तिममा रेगबहादुर माथि धोका भएको थियो ? भन्ने प्रश्नमा बालाराम घर्तीले लुम्बिनी सञ्चारसँग भने,“धोका त नभनौ, पारिवारिक होस वा राजनीतिक हिसाबले हामी सँगसँगै रहयौं, त्यो बेलामा पार्टीले टिकट भुपनारायणलाई दियो अब धोका नै न नभनम् तर के के भयो भयो ?”

अनि राप्रपा सकियो !

२०५६ सालको चुनावले रोल्पामा राप्रपामा बिग्रह मात्रै लिएन अन्तत: अस्तित्वहीन अवस्थामा पुरायो । बालाराम र रेगबहादुरले मिलेर बनाएको राप्रपा दुबैजनाबीचको तालमेल बिग्रदा राप्रपा समेत बिग्रियो । बलारामले पनि ललितपुरबाट चुनाव हारे । भुपनारायण अमेरिका पलायन भए, परशुराम घर्ती निस्क्रिय बने भने रेगबहादुर पछि नेपाली कांग्रेसमा प्रवेश गरे ।

परशुराम घर्ती भन्छन्,“ पछि विस्तारै हामी पनि निस्कृया भयौं, अभिभावक त सक्रिय नभएपनि बसिदिँदापनि धेरै कुरा सहज हुन्छ  तर बालारामजीसँगको राजनीतिक सम्बन्धका कारण रेगबहादुर जी निस्कृय हुनुभयो, म पनि निस्किृय भए, जनयुद्धपनि बढ्यो, कार्यकर्ताको संरक्षण गर्न सकेनौं, हाम्रै भविष्यको टुंगो भएन तर शान्ति प्रकृयापछि पनि सक्रिय बनेको भए एउटा हैसियत बनाउन सकिन्थ्यो त्यो हुन सकेन ।” परशुराम आफै अहिले नेकपा एमालेको राजनीतिमा सक्रिय छन् । 

रेगबहादुर द्वन्द्वका बेला तत्कालिन बिद्रोही नेकपा (माओवादी)को ३ महिना अपहरणमा परे । पछि दिल्लीमा मुटको बाइपास सर्जरी गरिएको थियो । निधनको केही दिन अघि मात्रै आफ्ना पुराना मित्र बालाराम घर्तीसँग टेलिफोन सम्बाद भएको थियो । घर्तीले भने, “केही दिन अघि मात्रै टेलिफोनमा कुरा भएको थियो, स्वास्थ्य ठिकै छ भन्नुभएको थियो तर निधनको खबर सुने, हामीले एउटा असल नेतृत्व गुमायौं ।”

सम्बन्धित समाचारः

रोल्पाका राजनीतिज्ञ एवं पूर्वमन्त्री रेगबहादुर सुवेदीको निधन

 



प्रतिक्रिया दिनुहोस !