अन्तर्राष्ट्रिय अपांगता दिवसको पूर्वसन्ध्यामा प्रदेश सभा प्रवेशद्वारमा दीप प्रज्ज्वलन
लक्ष्मी पाेखरेल,
दाङ (देउखुरी) । अन्तर्राष्ट्रिय अपांगता दिवसको पूर्वसन्ध्यामा लुम्बिनी प्रदेश सभाको प्रवेशद्वार दीपको उज्यालाले झलमल्लिएको छ यो उज्यालाले मात्र समारोहलाई होइन, प्रदेशका नीतिनिर्माणदेखि भौतिक संरचनासम्म अपांगता समावेशीतामा अझै बाँकी रहेको ‘अधेरो’ पक्षलाई समेत स्पष्ट देखाएको छ।
कार्यक्रममा प्रदेश सरकार, नागरिक समाज, पत्रकारिता क्षेत्रका प्रतिनिधि तथा अपांगता आन्दोलनकर्मीहरूको सक्रिय उपस्थिति रहे पनि उनीहरूले व्यक्त गरेका धारणा भने उत्सवको उत्साहभन्दा बढी समावेशीताको कमीकमजोरीतर्फ नै निर्देशित देखिए ।
वक्ताहरूले भौतिक पूर्वाधार अपांगतामैत्री नबनिएको, नीतिगत प्रतिबद्धता व्यवहारमा रूपान्तरण नभएको र सेवा–सुविधामा पहुँच अझै चुनौतीपूर्ण रहेको संयुक्त पीडा व्यक्त गरे ।
दीप प्रज्ज्वलनले प्रतीकात्मक रूपमा समान अवसर र सम्मानपूर्ण जीवनको आकांक्षा प्रकट गरे पनि, सहभागी वक्ताहरूको आवाजले भने प्रदेशमा अपांगता अधिकारको यात्रा अझै धेरै अवरोध पार गर्दै अघि बढ्नुपर्ने वास्तविकता पुनः स्मरण गरायो ।
कार्यक्रमका प्रमुख अतिथि निमा गिरीले समान अवसरलाई समावेशीताको ‘अन्तिम लक्ष्य’ भन्दै सरकार क्रियाशील रहेको बताइन्। तर भौतिक संरचना, सेवा प्रणाली र व्यवहारगत चुनौतीहरूमा गतिलो प्रगति नदेखिएको आवाज सहभागीहरूकै भनाइले झल्याङ्ग बनायो।
प्रदेश सभा सचिव दुर्लभकुमार पुनले नीतिगत प्रक्रियामा अपांगता क्षेत्रको आवाज समेटिएको बताए पनि, अपांगता सञ्जालका प्रतिनिधिहरूले नीति र व्यवहारबीचको दूरी अझै कहिल्यै नपुग्ने गलैँचा जस्तै फैलिएको टिप्पणी गरे ।
सामाजिक विकास मन्त्रालयका अधिकारीदेखि गैरसरकारी संस्था महासंघका प्रतिनिधिसम्मले समन्वय आवश्यकताको पुनरावृत्ति गरे । तर वास्तविकता भने, कार्यक्रम र प्रतिवद्धता बारम्बार दोहोरिए पनि व्यवहारिक परिवर्तन सुस्त गतिमा चलेको अनुभवलाई अपांगता क्षेत्रमा काम गर्नेहरूले साझा पीडा झैँ व्यक्त गरे ।
कार्यक्रममा अपांग सञ्जाल राप्तीका अध्यक्ष ऋषिराम बस्नेतले भौतिक पूर्वाधारदेखि प्रशासनिक सेवासम्म अझै अपांगतामैत्री नबनेको गुनासो गर्दै राज्यलाई “मात्र प्रतीक होइन, व्यवहारमै परिवर्तन” गर्न आग्रह गरे। कार्यक्रममा पत्रकार पत्रकार ओमप्रकाश गुप्तालगायतले मन्तव्य व्यक्त गरेका थिए ।








