१६ आश्विन २०८३, शुक्रबार

जहाज थपेर मात्र सुधार सम्भव छैन : मन्त्री पौडेल

प्रकाशित मिति :  2 October, 2026 10:40 am


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले संरचनागत सुधार नगरी नेपाल वायुसेवा निगममा थप जहाज भित्र्याउनुको औचित्य नहुने स्पष्ट पारेका छन् ।

शुक्रवार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री पौडेलले निगमको वर्तमान प्रशासनिक ढाँचा र व्यवस्थापकीय कमजोरीमा सुधार नआएसम्म जहाज थपेर मात्रै निगमको साख उकास्न नसकिने दाबी गरेका हुन ।

मन्त्री पौडेलले निगम लामो समयदेखि राजनीतिक हस्तक्षेप र गलत व्यवस्थापकीय परिपाटीको शिकार बन्दै आएको स्वीकार गरे । उनले हाल निगममा देखिएको कानूनी जटिलताका कारण महाप्रवन्धक नियुक्तिको प्रक्रिया अवरुद्ध भएको जानकारी दिए । महाप्रवन्धक नियुक्तिसम्बन्धी विषय अदालतमा विचाराधीन रहेकाले तत्कालका लागि निमित्त वा बोर्डकै कुनै सदस्यलाई जिम्मेवारी दिएर चलाउनुपर्ने बाध्यात्मक अवस्था रहेको उनको भनाइ छ ।

मन्त्री पौडेलले बोर्डले नियमनकारी र कार्यकारी दुवै भुमिका एकसाथ निर्वाह गर्दा थप समस्या उत्पन्न हुन सक्नेतर्फ सचेत गराए । यद्यपि, आफू निगम सुधारका लागि सकारात्मक राजनीतिक हस्तक्षेपको पक्षमा रहेको उनले जिकिर गरे । निगमको कमजोर व्यवस्थापनले गर्दा एउटा जहाजमा समस्या आउँदा पनि सम्पूर्ण उडान तालिका प्रभावित हुने र यात्रु व्यवस्थापनका लागि ठूलो आर्थिक नोक्शानी व्यहोर्नुपर्ने अवस्था रहेको मन्त्री पौडेलले बताए ।

हाल ६ वटा जहाज रहेको निगममा व्यवस्थापकीय दक्षताको कमी र सही समयमा सही निर्णय लिन नसक्ने संयन्त्र मुख्य बाधक रहेको उनको टिप्पणी छ । हाल निगमको संरचनागत सुधारका लागि आवश्यक कागजात र कार्ययोजना तयार भइरहेको मन्त्री पौडेलले जानकारी दिए ।

उक्त सुधारको योजना छिट्टै संसदीय समितिमा पेश गरिने र त्यसलाई कार्यान्वयनमा ल्याएपछि मात्रै जहाज थपको प्रक्रिया अघि बढाउने उनले प्रतिवद्धता व्यक्त गरे । न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !