१९ मंसिर २०८२, शुक्रबार

सुनिलस्मृति गाउँपालिकामा नवनिर्मित प्रशासनिक भवनको उद्घाटन

प्रकाशित मिति :  5 December, 2025 3:26 pm


रोल्पा । सुनिलस्मृति गाउँपालिका, सुलिचौरमा निर्माण सम्पन्न भएको नयाँ प्रशासनिक भवनको शुक्रबार एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ ।

भवनको उद्घाटन नेपाल सरकारका पूर्व अर्थ तथा ऊर्जा मन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता वर्षमान पुनले गरेका हुन् ।

गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीको अध्यक्षतामा भएकाे कार्यक्रममा बोल्दै पूर्वमन्त्री पुनले प्रशासनिक भवनको निर्माणले गाउँपालिकामा सेवा प्रवाह अझ सुदृढ र प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए । उनले स्थानीय सरकारलाई जनतासँग नजिक रहने सबैभन्दा महत्वपूर्ण तह भन्दै, भौतिक संरचना सुदृढीकरणले सुशासन र विकास दुवैलाई गति दिने उल्लेख गरे ।

त्यसैगरी, पूर्व मुख्यमन्त्री जोखबहादुर महराले नयाँ भवनले प्रशासनिक कामलाई सहज र व्यवस्थित बनाउने बताए । पूर्व मन्त्री दीपेन्द्रकुमार पुन (सिजल) ले रोल्पा जिल्लामा भौतिक पूर्वाधारका योजना क्रमशः अघि बढिरहेको उल्लेख गर्दै स्थानीय आवश्यकताअनुसार विकासलाई प्राथमिकता दिनुपर्ने विचार व्यक्त गरे ।

गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै अब सेवा प्रवाह झनै नागरिकमैत्री बनाइने प्रतिबद्धता व्यक्त गरे। नवनिर्मित भवनमा आधुनिक प्रशासनिक सेवाका लागि आवश्यक कक्ष, बैठक कक्षा तथा सुविधाहरू समेटिएको गाउँपालिकाले जनाएको छ ।

उपाध्यक्ष मिना थापाको स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रममा रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र घर्ती थापा, जिल्ला समन्वय समितिका उपप्रमुख कर्मलाल परियारलगायत स्थानीय राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो । कार्यक्रमकाे सञ्चालन प्रमुख प्रशासकीय अधिकृत नगेन्द्रप्रसाद रिजालले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !