वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानी मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
काठमाडौं । काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा अवस्थित ऐतिहासिक तलेजु भवानी मन्दिरमा महानवमीका अवसरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
वर्षभरि बन्द रहने मन्दिर परम्पराअनुसार वर्षमा एक दिन मात्र सर्वसाधारणका लागि खुला गरिने भएकाले दर्शनार्थीको बाक्लो उपस्थिति देखिएको हो।
बडादशैंको महानवमीका दिन बिहान ४ बजेदेखि मन्दिरको मूलढोका खुला गरिएपछि काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रबाट आएका श्रद्धालु दर्शनका लागि लामबद्ध भएका छन्। दर्शनार्थीको लाम न्युरोड, मखन हुँदै वसन्तपुर दरबार स्क्वायरसम्म पुगेको छ।
हनुमानढोका दरबार हेरचाह तथा संरक्षण कार्यालयका अनुसार महानवमीका दिन तलेजु भवानीको विशेष पूजाआराधना गर्ने र सर्वसाधारणलाई दर्शनको अवसर दिने परम्परा छ।
भक्तजनको चापलाई व्यवस्थित गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्काउट तथा स्थानीय क्लबका स्वयंसेवक परिचालन गरिएको छ। ज्येष्ठ नागरिक, अशक्त तथा महिला दर्शनार्थीका लागि छुट्टै लामको व्यवस्था मिलाइएको छ।
ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको तलेजु भवानी मन्दिर मल्लकालीन इतिहाससँग जोडिएको छ। नेवार समुदायमा कुलदेवीका रूपमा पुजिने तलेजु भवानीलाई मल्लकालदेखि नै राजपरिवारको इष्टदेवीका रूपमा आराधना गरिँदै आएको छ।
तलेजु भवानीको दर्शन तथा पूजाआराधना गर्नाले सुख, शान्ति, आरोग्य र पारिवारिक समृद्धि प्राप्त हुने जनविश्वास छ। वर्षमा एक दिन मात्र मन्दिर खुल्ने भएकाले महानवमीका दिन यहाँ ठूलो संख्यामा भक्तजन आउने गरेका छन्।
भक्तजनको भीडका कारण वसन्तपुर आसपासको सवारी आवागमन प्रभावित भएको छ। ट्राफिक प्रहरीले सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
















