१९ मंसिर २०८२, शुक्रबार

एमाले महाधिवेशन राष्ट्रियता र लोकतन्त्र रक्षा गर्ने अवसर-अध्यक्ष ओली

प्रकाशित मिति :  5 December, 2025 3:50 pm


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७ गतेबाट सुरु हुने पार्टी महाधिवेशनलाई राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि उत्पन्न भइरहेको संकटविरुद्ध जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने ऐतिहासिक अवसरका रूपमा व्याख्या गरेका छन् ।

उनले शुक्रबार जारी अपिलमार्फत राष्ट्रियता, लोकतान्त्रिक प्रणाली र सुशासनको पक्षमा उभिने सबैलाई महाधिवेशनमा व्यापक सहभागिताका लागि आह्वान गरे ।

अध्यक्ष ओलीले एमालेलाई ‘७७ वर्षको जनयात्रामा निरन्तर जनताको साथमा उभिएको शक्ति’ भन्दै पार्टीलाई राष्ट्रियता र स्वाभिमानको पहरेदार, लोकतन्त्रको सारथि, सामाजिक न्यायको सूत्रधार, सुशासन र विकासको नायक तथा समृद्ध नेपाल–सुखी नेपालीको स्वप्नद्रष्टा पार्टीका रूपमा चित्रण गरे । उनका अनुसार वर्तमान राजनीतिक परिस्थिति अत्यन्त चुनौतीपूर्ण बिन्दुमा पुगेको छ ।

उनले प्रतिनिधि सभा असंवैधानिक रूपमा विघटन गरिनु, जनादेश प्राप्त सरकार विस्थापित गरिनु, विधिको शासन कमजोर पारिनु, अराजक गतिविधि बढ्नुजस्ता घटनालाई देशको स्थायित्वविरुद्धको षड्यन्त्रका रूपमा व्याख्या गरे ।

मुलुकका महत्वपूर्ण धरोहरमाथि आपराधिक आक्रमण हुँदा कारबाही नहुनु समाजमा भय र असहजता बढाउने कारक रहेको उनको भनाइ छ।

यता, निर्वाचन घोषणा गरिए पनि आवश्यक निर्भयताको वातावरण निर्माण नहुनु र स्थापित पार्टी तथा नेतृत्वविरुद्ध घृणा–निषेधको राजनीति बढ्नु लोकतान्त्रिक प्रक्रियाका लागि चिन्ताजनक रहेको अध्यक्ष ओलीको मूल्यांकन छ ।

“लोकतन्त्र फर्काउनु छ, राष्ट्रियता तथा संविधानविरुद्धका षड्यन्त्र परास्त गर्नु छ। यस्तो विशेष परिस्थितिमा हुन लागेको महाधिवेशनको ऐतिहासिक महत्त्व छ,” अपिलमा उल्लेख छ ।

अध्यक्ष ओलीले महाधिवेशनमा जनताको उत्साहपूर्ण उपस्थिति नेपाली जनताको लोकतान्त्रिक सामर्थ्यको प्रकट रूप हुने बताउँदै मंसिर २७ गते दिउँसो साढे १२ बजे भक्तपुर सल्लाघारीमा उपस्थितिका लागि आग्रह गरेका छन् ।

उनले भनेका छन्, “तपाईंको एक दिनको योगदानले अराजकता र प्रतिगमन नियन्त्रणमा सहयोग पुग्ने छ। महाधिवेशनको भव्य सफलताले लोकतन्त्र अझ बलियो बन्नेछ ।”



प्रतिक्रिया दिनुहोस !