१९ मंसिर २०८२, शुक्रबार

धानखोला–लमही चार लेन सडक निर्माण संघर्ष : जिल्ला प्रशासन कार्यालय दाङलाई ध्यानकर्षण पत्र

प्रकाशित मिति :  2 December, 2025 4:12 pm


दाङ । धानखोला–लमही चारलेन सडक निर्माण संघर्ष अभियानले जिल्ला प्रशासन कार्यालय दाङमा ध्यानकर्षण पत्र बुझाएको छ ।

लुम्बिनी प्रदेशको राजधानी समेत रहेको दाङको देउखुरी क्षेत्रमा एमसिए नेपालद्वारा प्रस्तावित दुई लेनको धानखोला–लमही सडक खण्डलाई चारलेन निर्माणका लागि पहल गर्न आग्रह गर्दै अभियानका संयोजक प्रकाश शाहीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा आज ध्यानकर्षण पत्र बुझाइएको हो ।

अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेञ्ज कर्पोरेसन(एमसिसि)को अनुदानमा सञ्चालित मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) नेपालले लुम्बिनी प्रदेश राजधानी क्षेत्रमै दुइ लेनको मात्र सडक बनाउने तयारी गरेपछि विरोध भइरहेको छ ।

पूर्वपश्चिम राजमार्गको अन्य सडकखण्डमा ४ लेनको सडक निर्माण भइरहे पनि धानखोलादेखि लमहीसम्म ४० किलोमिटरलाई दुई लेनको मात्रै सडक निर्माण गर्ने गरी एमसिए, नेपालले प्रक्रिया अगाडि बढाएको छ ।

यो सडक खण्डको देउखुरीमा लुम्बिनी प्रदेश राजधानी छ । प्रदेश राजधानीभित्रै जम्मा दुई लेनको सडक बनाउने तयारी भइरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत बोधार्थ दिइएको पत्रमा एमसिए नेपालद्वारा प्रस्तावित दुई लेनको धानखोला लमही सडक खण्ड रोकी चार लेनका लागि पहल गर्न आग्रह गरिएको छ ।

ध्यानकर्षण पत्रमा भनिएको छ,“मिति २०८२ मंसिर ९ गते एमसिए नेपालका प्रतिनिधीसँगको भेटघाटमा प्रस्तावित धानखोला–लमही सडक आयोजना दुई लेन सडक भन्दा बढाउन नसकिने एमसिए, नेपाल स्पष्ट गरेको छ । प्रतिनिधीले कामको टेन्डर प्रक्रिया अगाडि बढाएको समेत जानकारी गराएका छन् । जो देउखुरीवासी जनताको विरुद्ध रहेकाले लुम्बीनी प्रदेशको राजधानी समेत रहेको दाङ जिल्लाको देउखुरी क्षेत्रमा एमसिए नेपालद्वारा प्रस्तावित दुई लेनको धानखोला–लमही सडक खण्ड रोकी चार लेनका लागि पहल गर्नु हुन हामी जिल्ला प्रशासन कार्यालय समक्ष बिषेश अनुरोध गर्दछौँ ।”

यस परिस्थीतिमा एमसिए नेपालले अघि बढाएको काम तुरुन्त बन्द गराई सरोकारवालारूसंग छलफल गर्न समेत पत्रमा अनुरोध गरिएको छ ।

जायज माग सम्बोधन नगरी दुई लेनकै बाटो अगाडि बढाइए एमसिए नेपालको काम रोकी चरणवद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरिने चेतावनी दिइएको छ ।



प्रतिक्रिया दिनुहोस !