१९ मंसिर २०८२, शुक्रबार

एमालेमा ओली नेतृत्वलाई निरन्तरता दिनुपर्छ-उपाध्यक्ष थापा

प्रकाशित मिति :  5 December, 2025 3:35 pm


काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापाले पार्टीले अध्यक्ष केपी शर्मा ओलीलाई नै नेतृत्वमा निरन्तरता दिनुपर्ने निष्कर्षमा पुगेको बताएका छन् ।

शुक्रबार प्रेस चौतारी नेपालले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले मुलुकको राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको रक्षा र प्रतिक्रान्तिलाई परास्त गर्न ओली नेतृत्व अपरिहार्य रहेको दाबी गरे ।

उनका अनुसार पार्टीको केन्द्रिय समिति बैठकमा नेतृत्वको विषयमा गम्भीर छलफल भएको र अध्यक्ष ओलीका नीति, विचार तथा उपलब्धिले नै उनलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालिएको हो ।

थापाले भने, “उहाँका योगदान, उहाँले लिएका नीति–विचार र प्राप्त उपलब्धिहरूलाई हेर्दा अहिले पनि ओलीको आवश्यकता देशलाई छ, पार्टीलाई छ। लोकतन्त्रको स्थापनादेखि राष्ट्रिय स्वाधीनताको रक्षासम्मका विषयमा अहिले पनि उहाँकै नेतृत्व उपयुक्त छ ।”

उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति संकेत गर्दै वर्तमान परिस्थितिमा नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्नु उपयुक्त नभएको टिप्पणी गरे। थापाका अनुसार यसले पार्टीलाई एकताबद्ध गर्नभन्दा उल्टो विखण्डनतर्फ लैजान सक्छ ।

थापाले पार्टीको केन्द्रिय समितिको निर्णय स्पष्ट रहेको उल्लेख गर्दै थपे, “अहिले जो नेतृत्व छ, त्यसलाई नै निरन्तरता दिनुपर्छ भन्ने केन्द्रिय समितिको निष्कर्ष हो। प्रतिस्पर्धाको नाममा उम्मेदवारी घोषणा गर्दै हिँड्नु अहिलेको सन्दर्भमा उचित छैन ।”

पदाधिकारी संख्या तथा केन्द्रिय समितिको आकार बढाउन आवश्यक रहेको जिकिर गर्दै थापाले विधान संशोधनमार्फत त्यसलाई अघि बढाउनुपर्ने बताए । उनका अनुसार पार्टीलाई सुदृढ, एकतावद्ध र प्रतिक्रान्ति विरुद्ध सक्षम बनाउन नेतृत्व निरन्तरताको विकल्प छैन ।

कार्यक्रममा थापाले एमालेको आगामी महाधिवेशन, पार्टी एकता, समसामयिक राजनीतिक परिस्थिति र आगामी रणनीतिबारे पनि धारणा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस !