१९ मंसिर २०८२, शुक्रबार

एनपीएलका चौकाबापत एनसेलले २ हजारभन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने

प्रकाशित मिति :  5 December, 2025 2:54 pm


काठमाडाैँ । एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा बिहीबारसम्म प्रहार भएका चौकाको आधारमा २ हजाभन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ।

‘क्रिकेटलाई कक्षाकोठासँग, चौकालाई उज्ज्वल भविष्यसँग’ जोड्ने सामाजिक पहलअन्तर्गत, यी सामग्री सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रदान गरिनेछन्।

फाउन्डेसनले गत वर्षदेखि एनपीएलसँग सहकार्य गर्दै आएको यो अभियानले खेलमार्फत शिक्षा क्षेत्रमा प्रत्यक्ष योगदान पुर्‍याउँदै आएको छ। सिजन २ मा पनि प्रत्येक चौकाबापत ४ वटा शैक्षिक सामग्री वितरण गर्ने प्रतिबद्धता गरिएको छ।

मंसिर १८ सम्मका खेलमा ९० खेलाडीले कुल ५१० चौका प्रहार गरेका छन्, जसअनुसार २,०४० शैक्षिक सामग्री वितरण हुने निश्चित भएको छ।

चौका प्रहार गर्ने शीर्ष खेलाडीमध्ये पोखरा अवेन्जर्सका एडम रोसिङटन २७ चौकासहित अग्रस्थानमा छन्। उनले १०८ शैक्षिक सामग्री सुनिश्चित गरेका छन्। लुम्बिनी लायन्सका डार्सी सर्ट १९ चौका प्रहार गरी दोस्रो स्थानमा रहँदै ७६ सामग्री योगदान गरेका छन्। तेस्रो स्थानमा काठमाडौँ गोर्खाजका बेन चाल्र्सवर्थ र सुदूरपश्चिम रोयल्सका बिनोद भण्डारी संयुक्त रूपमा १७–१७ चौकासहित छन्। उनीहरूले प्रत्येकी ६८ सामग्री सुनिश्चित गरेका छन्।

विद्यार्थीलाई प्रदान गरिने प्रत्येक किटमा झोला, कापी, पेन्सिल, शार्पनर र इरेजरलगायत आवश्यक शैक्षिक सामग्री रहने छन्। फाउन्डेसनका अनुसार, यसले विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव पर्ने र आवश्यक स्रोतको कमी कम गर्न सहयोग गर्नेछ।

“यस सामाजिक अभियानमा चौका प्रहार गर्दै योगदान पुर्‍याउने सबै खेलाडीलाई धन्यवाद छ,” एनसेलकी कर्पोरेट कम्युनिकेसन्स तथा सस्टेनेबिलिटी डाइरेक्टर विषाखा लक्ष्मी खड्काले भनिन्, “गत वर्षदेखि क्रिकेटप्रतिको उत्साहलाई अर्थपूर्ण सामाजिक कार्यसँग जोड्दै आएका छौं। बाँकी खेलहरू अझ रोमाञ्चक हुने र शिक्षामा हुने योगदान अझ बढ्ने अपेक्षा गरेका छौं।”

गत वर्ष एनपीएल सिजन १ का ६५३ चौकाबाट २,६१२ शैक्षिक सामग्री प्रदान गर्ने प्रतिबद्धता गरिएको थियो। सोही प्रतिबद्धताअनुसार २,६१२ सामग्रीसहित देशभर ९,००० भन्दा बढी शैक्षिक सामग्री वितरण गरिएको थियो, जसले हजारौँ विद्यार्थीलाई सहयोग पुर्‍याएको थियो। यस वर्ष पनि शैक्षिक सामग्री वितरण कार्य क्यान, स्थानीय तह तथा कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा सञ्चालन गरिनेछ।



प्रतिक्रिया दिनुहोस !