२० बैशाख २०८१, बिहिबार

एक सातामा १३ अर्बको सेयर कारोबार

प्रकाशित मिति :  7 March, 2020 6:04 pm


काठमाडौ, २४फागुन । 

धितोपत्र बजारमा यस साता सेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । अघिल्लो साता निकै उच्च विन्दुले बढेको बजार यस साता तुलनात्मकरुपमा ओरालो लाग्यो । पाँच कारोबार दिनमा एकाध दिनमात्रै बजारले उकालो लाग्न सक्यो ।

यस साता बजारले नकारात्मक सर्किटसमेत सामना गर्‍यो। नेपाल स्टक एक्सचेञ्जको प्रणालीमा समस्या आउँदा लगानीकर्ता मर्कामा परे। साताको पहिलो दिनदेखि नै ओरोलो लागेको बजार अन्तिम दिनसमेत ओरोलो लागेर बन्द भयो। बजारमा अल्पकालीन नाफा कमाउने प्रवृत्ति हावी हुँदा बजारले नकारात्मक लय समात्न पुग्यो।

साताभर १८१ कम्पनीको कूल तीन करोड १६ लाख ५५ हजार ५८३ कित्ता सेयर १३ अर्ब ७६ करोड रुपैयाँमा कारोबार भयो। नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से ४०‍ दशमलव ८२ अंकले घटेर एक हजार ५९१ दशमलव ३६ अंकमा पुग्यो। त्यस दिन १८३ कम्पनीका एक करोड २५ लाख १७ हजार २१७ कित्ता सेयर चार अर्ब ८४ करोड ७४ लाख ३७ हजार ५०५ मा खरिद बिक्री भए।

सोमबार भने नेप्सेमा नकारात्मक सर्किट नै लाग्यो।
नकारात्मक सर्किट लागेपछि त्यस दिनको कारोबार स्थगित भयो। नेप्से परिसूचक ६ प्रतिशतले ओरालो लागेपछि त्यस दिनको कारोबार स्थगित भएको हो। नेप्सेका अनुसार त्यस दिन दिउँसो १ बजेर २९ मिनेटदेखि कारोबार स्थगित गरिएको थियो। बिहान ११ बजे खुलेको बजार निरन्तर ओरालो लाग्दै १ बजेर २९ मिनेटसम्म पुग्दा नेप्से ९६ दशमलव ०६ विन्दुले झरेको थियो।

उक्त गिरावट प्रतिशतका आधारमा ६ दशमलव ०६ हो। त्यस दिन १७३ कम्पनीको ४९ लाख ८६ हजार ५४४ कित्ता सेयर दुई अर्ब १५ करोड ४४ लाख २८ हजार २१५ रुपैयाँमा कारोबार भएको थियो।

यस्तै म‌ंगलबार नेप्सेको अनलाइन प्रणालीमा समस्या आउँदा कारोबार केही समय स्थगित भयो। त्यसदिन १८१ कम्पनीको ८२ लाख ११ हजार २८९ कित्ता सेयर तीन अर्ब ८५ करोड १६ लाख २२ हजार ९९६ मूल्यमा खरिद बिक्री भए।

बुधबारसमेत नेप्से परिसूचकमा भारी गिरावट आयो। त्यस दिन नेप्से ६८ दशमलव ४७ अंकले घटेर एक हजार ४४१ दशमलव २० मा पुग्यो। त्यस दिन १७४ कम्पनीका ६७ लाख ७१ हजार १४१ कित्ता सेयर दुई अर्ब ९० करोड ८४ लाख ७२ हजार ६०३ मा खरिद बिक्री भए।

यस्तै बिहीबार पनि नेप्से परिसूचक आज पनि ओरालो लाग्यो। नेप्से ओरोलो लागे पनि कारोबार रकम भने झण्डै अढाई अर्बको हाराहारीमा रहेको थियो। कूल १७९ कम्पनीको ५९ लाख ४० हजार ५३३ कित्ता सेयर दुई अर्ब ४५ करोड ७० लाख ९३ हजार ४६३ मूल्यमा खरिद बिक्री भए। रासस



प्रतिक्रिया दिनुहोस !