२१ बैशाख २०८१, शुक्रबार

संसदबाट एमसीसी पारित भएकोमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा स्वागत

प्रकाशित मिति :  28 February, 2022 6:24 pm


काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भएकोमा नेपाल उद्योग वाणिज्य महासंघ स्वागत गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले एमसीसी सम्झौता अनुमोदन गरेको हो ।

अस्पष्टता भएको बुँदालाई प्रतिनिधिसभाले प्रष्ट पार्दै त्यसको व्याख्यात्मक घोषणाका साथ सम्झौता अनुमोदन भएकोले यसका विषयमा रहेका सबै भ्रम चिरिने विश्वास लिएको महासंघले जनाएको छ ।

नेपाल सरकार र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच सन् २०१७ सेप्टेम्बर १४ मा भएको सम्झौता अनुसार विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतको काम संघीय संसदबाट सम्झौता अनुमोदन पश्चात शुरु हुने छ । सम्झौता अनुमोदन पश्चात यो परियोजना पूर्णरुपमा कार्यान्वयनमा जाने महासंघको विश्वास छ ।

“नेपालको विकासमा रणनीतिक महत्व राख्ने विद्युत प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गर्न सक्दा उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्ने हाम्रो विश्वास छ,” विज्ञप्तीमा उल्लेख गरिएको छ ।

महासंघले सम्झौता कार्यान्वयन हुँदा महामारीपछि अर्थतन्त्रको पुनरुत्थानमा सहयोग पुग्नुका साथै दीर्घकालमा विद्युत निर्यात एवं प्रविधि हस्तान्तरणको समेत ढोका खुल्ने जनाएको छ ।

एमसिसी अन्तर्गतका आयोजना सुरु भएको ५ वर्षभित्र सम्पन्न गर्नुपर्ने व्यवस्थाले विकास सुशासनका लागि समेत नमुना बन्न सक्ने महासंघले उल्लखे गरेको छ ।

सम्झौता कार्यान्वयनका लागि गठित मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए)ले तदारुकताका साथ काम गर्नुपर्ने र सरोकारवाला सबैले खबरदारी गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

विज्ञप्तीमा उल्लेख भएअनुसार,“तीन दर्जन बढि मुलुकमा एमसिसि अन्तर्गत परियोजना निर्माण भइसकेकाले नेपालमा पनि सहज कार्यान्वयन हुनेमा निजी क्षेत्र विश्वस्त छ । पूर्वाधार विकास, आर्थिक वृद्धि र रोजगारी सिर्जनाका कुनै पनि क्रियाकलाप कुनै पनि वहानामा प्रभावित हुनु हुदैन भन्नेमा महासंघ स्पष्ट छ ।”

यो सम्झौता अनुमोदनबाट नेपालमा लगानीको वातावरण रहेको संदेश विश्व समुदायसम्म पुुग्ने र यसबाट भविष्यमा अन्य वैदेशिक लगानी एवं सहायता भित्रिने विश्वास महासंघले लिएको छ ।



प्रतिक्रिया दिनुहोस !