४ जेष्ठ २०८१, शुक्रबार

राप्रपा र राप्रपा संयुक्तबीच एकीकरणको घोषणा, पार्टी फुट्न नदिने प्रतिबद्धता

प्रकाशित मिति :  11 March, 2020 4:15 pm


काठमाडौं, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच एकीकरणको अपचारिक घोषणा भएको छ।

बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एकता सभामा अध्यक्षद्वय कमल थापा र पशुपतिशम्शेर जवराले एकीकरण पत्र आदानप्रदान गरेर पार्टी एकीकरणको अनौपचारिक घोषणा गरेका हुन् ।

दुई पार्टी एकीकरणपछि राप्रपामा अब तीन अध्यक्ष रहनेछन्। थापा, राणा र प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेका छन्। एकीकरण घोषणा सभामा अध्यक्ष थापाले राप्रपाको विकल्प कांग्रेस वा कम्युनिष्ट हुन नसक्ने दाबी गरे। ‘अब जनताले भोट हाल्ने ठाउँ पाएका छन्।

त्यो विकल्प हामीले वैचारिक रूपले पनि गर्ने प्रयास गरिराखेका छौं,’ उनले भने, ‘यो थापा, राणा र लोहनीको मात्रै मिलन होइन। नेपाललाई समृद्ध बनाउने उद्घोषको दिन हो।’ थापाले गीता छोएर आफूले कहिल्यै पार्टी नफुटाउने उद्घोष गरे ।

थापाले खल्तीबाट गीताको पुस्तक निकाल्दै भने, ‘पार्टीलाई माया गर्ने साथीहरूलाई साक्षी राखेर प्रतिज्ञा गर्दछौं, म कहिल्यै पनि पार्टी फुटाउने छैन। तपाईंहरूलाई विश्वास लागेन? मैले गीता ल्याएको छु। यो गीता हातमा राखेर म भन्छु, राप्रपा फुट्दैन।’



प्रतिक्रिया दिनुहोस !