१४ बैशाख २०८१, शुक्रबार

रोल्पा जिल्लाका धरोहर रेग बहादुर सुवेदीः एक संस्मरणात्मक श्रद्धाञ्जली

प्रकाशित मिति :  17 March, 2022 10:24 am


तत्कालीन प्यूठान जिल्ला र वि.सं. २०१९ सालपछि रचित स्वर्गद्वारी अञ्चल (पछि राप्ती अञ्चल) अन्तरर्गतको रोल्पा जिल्लाका राजनीतिक एवं सामाजिक क्षेत्रका एक आदरणीय उच्च अभियन्ता रेग बहादुर सुवेदीको देहावसान भएको ४५ औं दिन पनि व्यतित भएको छ ।

समय र मृत्यु नैसर्गिक सत्य भएपनि यस्ता घटनाले सम्बन्धित समाज र क्षेत्रमा अपूरणीय रिक्तता भने रहिरहने रहेछ । र, त्यो खालीपनले सम्बन्धित समाज र क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष दीर्घकालीन प्रभाव पार्ने रहेछ ।

यसै सन्दर्भमा दिवंगत सुवेदीको उतार चढ़ावपूर्ण जीवन तर मातृभूमि र जनताप्रति समर्पित जीवनीको छोटो झलक यहाँहरू समक्ष प्रस्तुत गरी श्रद्धा व्यक्त गर्नु सामयिक होला भन्ने ठानेको छु ।

किशोरावस्थादेखि आफ्नो मृत्युसमयसम्म नै राजनीतिक एवं सामाजिक क्षेत्रमा अत्यन्तै सक्रिय रहँदै आउनु भएका दिवंगत सुवेदीको पूरा जीवन नै ऊर्जाशील र अथक संघर्षशील व्यक्तित्वको रूपमा व्यतित भएको थियो ।

तत्कालीन प्यूठान जिल्ला बाईसखुवा थुम मौजे गजुलकोट दलङ्गा निवासी पिता चन्द्रकान्त उपाध्याय तथा माता पम्फा देवीका ज्येष्ठ पुत्र एवं सुवेदी भवन परिवारकै पहिलो सन्तानको रूपमा १९९६ साल श्रावण २ गते जन्मनु भएका सुवेदीमा तत्कालीन राणा शासन विरोधी आन्दोलन र प्रजातान्त्रिक संघर्षमा आफ्ना पिताजीहरूको राजनैतिक क्रियाशीलताको प्रत्यक्ष प्रभाव बाल्यकालदेखि नै परेको थियो ।

आफ्नै ठूलोबुबा षडानन्द सुवेदीद्वारा २००८ सालमै स्थापित जनोद्धार पाटेश्वरी प्राइमरी स्कूलमा शिक्षा प्राप्त गर्न सुरु गरेका यी चेतनशील बालकले २००९ साल देखिनै आफ्ना पिताजीहरूका साथमा प्यूठानको सदरमुकाम सार्ने आन्दोलनमा नारा जुलुसहरूमा भाग लिनु भएको थियो ।

त्यसै समयमा २००९ सालमा प्यूठान बाग्दुलामा आफ्ना ठूलो बुबा षडानन्द लगायतको अगुवाइमा जनमुक्ति सेनाद्वारा चन्दा सङ्कलन समेत गरी स्थापित मुक्ति हाइस्कूलमा गठित छात्र संघसँग सम्पर्क गरी २०११ सालमा आफ्नो गाउँको प्राइमरी स्कूलमा पनि सुवेदीले छात्र संघ गठन गर्नुभएको थियो । यसबाटपनि किशोरावस्थादेखि नै उहाँमा राजनीतिक संवेदनशीलता र नेतृत्व चाहिँ तिखारिँदै गएको प्रस्ट हुन्छ।

यही क्रियाशीलताको सिलसिलामा नेकपा प्यूठानले चलाएको एक महिने शिविरमा पनि उनले प्रशिक्षण लिइ जाली फटाहा उन्मूलन अभियानमा समेत संलग्न हुनुभएको थियो।

त्यस पछि युवामयमै उहाँहरू मिलेर २०१३ सालमा गजुलमा पनि यस्तै प्रकारको शिविर सञ्चालन गरी स्थानीय ६०÷७० जना युवाहरूलाई प्रशिक्षित गर्न सहयोग पु¥याउनु भएको थियो ।

तर प्यूठानको शिविर र गजुलको शिविर सञ्चालनमा फरक के थियो भने प्यूठानको शिविर त्यहाँका कम्युनिस्ट नेता मोहनविक्रम सिंहलगायतद्वारा सञ्चालित र कम्युनिष्ट सिद्धान्त प्रचार हेतु थियो भने गजुलमा सञ्चालित शिविर खडानन्द सुवेदी एवं अनिरुद्ध शर्मा लगायतका प्रजातन्त्रवादी नेताहरूद्वारा सञ्चालित थियो र नेपाली कांग्रेसको सिद्धान्तद्वारा अभिप्रेरित थियो ।

रेग बहादुर २०१४ सालमा माथिल्लो कक्षामा पढ्नका लागि प्यूठान बाग्दुला स्थित जनता हाइस्कूलमा आफ्ना अन्य ३ भाइहरूसहित भर्ना हुनुभयो । उमेर र चेतनाको समेत मूल्याङ्कन गरेर उहाँलाई हाइस्कूलको माथिल्लो कक्षामा भर्ना लिइयो ।

त्यहाँ पनि उहाँले छात्र संघमा सक्रिय रही काम गर्नु भयो । त्यहाँ पढ्दा पढ्दै २०१५ सालको पहिलो संसदीय आम निर्वाचनको घोषणा भएकोले पढ़ाइ छोडेर निर्वाचन क्षेत्र नम्बर ८३ र८४ मा नेपाली कांग्रेसको सङ्गठन र प्रचार प्रसारको जिम्मेवारी लिइ सक्रिय रहनु भयो ।

८३ नम्बर क्षेत्रबाट आफ्ना ठूलोबुबा खडानन्द उपाध्याय (सुवेदी) ले कांग्रे्रेस पार्टीबाट अत्याधिक मतले प्रतिनिधि सभा सदस्यमा विजय प्राप्त गरेपछि समाजमा शिक्षाको विकासका लागि आफ्नै ठूलो बुबाको निर्देशन शिरोपर गरी आफ्नै पिताजीहरूद्वारा स्थापित आफ्नै गाउँको जनोद्धार पाटेश्वरी प्राइमरी स्कूलको हेड मास्टर बन्नु भयो । शिक्षकहरू नपाइने र बाहिर बाट खोजी खोजी ल्याएर राख्नु पर्ने शिक्षकको अभावको त्यो समयमा उहाँको नियुक्तिले विद्यार्थीको शिक्षा दीक्षामा ठूलो योगदान पुग्यो ।

तर राजनीतिको चस्का लागिसकेका यी महत्वाकांक्षी युवालाई हेडमास्टरको पदले धेरै
रोक्न भने सकेन ।

२०१७ साल पुस १ गतेको राजा महेन्द्रको संसदीय व्यवस्था माथिको ‘कू’ ले सिर्जना गरेको अलमल अवस्थामा रहेका यस्ता युवाहरुलाई २०१९सालको पञ्चायती संविधानले बाटो खोलिदियो ।

दलीय राजनीतिलाई पाखा लगाउँदा जनताको सीमित मताधिकारलाई भने पञ्चायती चुनावमा पनि साबुतै राखेका कारण नागरिकको मताधिकारको संरक्षणकै लागि पनि पिताजी खडानन्द सुवेदीको मार्ग निर्देशनमा युवा बालाराम घर्तीमगर राष्ट्रिय पञ्चायत सदस्य बन्न पुगे भने रेग बहादुर सुवेदी नेपाल युवक संगठनको जिल्ला कार्य समितिमा पुग्नुभयो । र, क्रमशः युवकसंगठन जिल्ला सभापति हुँदै २०३३ सालसम्म लगातार जिल्ला पञ्चायत सदस्य चुनिनुभयो ।

पञ्चायती राजनीतिको भित्री तहसम्म घुस्न प्रयत्न गर्दै रहनुभएका चलाख र महत्वाकांक्षी रेगबहादुरले २०३४ सालमा आफ्ना अग्रज ठूलो बुबा षडानन्दले खाली गरिदिएको राजनीतिक स्थानमा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित हुनु भयो ।

२०३६ साल जनमत संग्रहपछि सुधारिएको पञ्चायती व्यवस्थाको बालिग मताधिकारको आधारमा हुने राष्ट्रिय पञ्चायत सदस्यको प्रत्यक्ष निर्वाचन प्रणालीमा विजय हासिल गर्नु पर्ने प्रणाली लाग्नु भयो । यस अन्तर्गत २०३८ सालमा भएको पहिले चुनावमा उहाँ पुनः राष्ट्रिय पञ्चायत सदस्य सदस्य निर्वाचित हुनुभयो र रोल्पाकै अर्को सिटमा बालाराम घर्तीमगर पनि पुनः चुनिनु भयो । त्यस बखत दुवै एउटै प्यानल बनाइ लडेका थिए।

यसै अवधिमा नै उहाँलाई तत्कालीन राजा वीरेन्द्रबाट भूमिसुधार सहायक मन्त्री नियुक्त गरियो । मन्त्री चाहीं पछि पञ्चायत प्रवेश गरेका पुराना कांग्रेसी नेता चितवनबाट निर्वाचित बखान सिंह गुरुङ हुनुहुन्थ्यो । बखान सिंह गुरुङले, “ मेरो २०१५ सालको एमपी साथी खडानन्दजीको छोरा रहेछौ तिमी, मेरो पनि छोरै सरह हौ, म प्रजातन्त्रका लागि लडेरै बुढो भै सकें, राजाले कांग्रेसी पनि मन्त्री बनाएको छु भन्ने देखाउन मात्र मलाई मन्त्री बनाएका हुन् । मन्त्रालयको सबै काम मन्त्रीकै सरहले हेर्नु बाबु, क्याबिनेटमा मिटिङमा बस्ने र सही छाप हाल्ने राजालाई जवाफ दिने काम मात्र मेरो भयो, बाँकी मन्त्रालयको सबै राजकाज तिमीले सम्हाल्नु छोरा !” भनि जिम्मेवारी दिनुभएको थियो ।

उहाँलेपनि सक्रियताका साथ देश र जनताको सेवामा कटिबद्ध रहि आफ्नो विवेक र सामथ्र्यले भ्याएसम्म काम गर्नुभयो । १० महिनापछि प्रधानमन्त्री सूर्य बहादुर थापा माथि सदनले अविश्वास व्यक्त गरे पछि सरकार ढलेसँगै उहाँ पनि मन्त्री पदबाट हट्नु भएको भए पनि जनसेवा प्रखर रूपमा जारी राख्नु भयो ।

२०४३ सालको राष्ट्रिय पञ्चायतको बालिग मताधिकारको आधारमा भएको दोस्रो प्रत्यक्ष निर्वाचनमा अघिल्लो अवधिका लागि मनोनित गरी दरबारले राष्ट्रिय पञ्चायत सदस्य बनाइदिएकी सुश्री बम कुमारी बुढासँग प्रतिस्पर्धा निकै कडा रहे पनि ३०५ मतको अग्रतामा रेग बहादुर सुबेदी निर्वाचित हुनुभयो ।

त्यस बखतसम्म रोल्पा जिल्लाबाट २ वटा राष्ट्रिय पञ्चायत सदस्य सिटको लागि निर्वाचन हुन्थ्यो । एक भोटरले २ जना उम्मेदवारलाई भोट दिने अधिकार दिइएको थियो । पहिलो र दोस्रो अत्याधिक मत ल्याउने २ उम्मेदवार विजयी घोषित भइ राष्ट्रिय पञ्चायतमा समग्र जिल्लाको समान प्रतिनिधित्व गर्दथे ।

राष्ट्रिय पञ्चायत सदस्यमा तेस्रो पटकको यो विजयले उहाँ झन् तीव्रता र परिपक्वताका साथ आफ्नो जिल्लाको र जनताको सेवामा दत्तचित्तका साथ संलग्न हुनुभयो । जिल्लाका सर्वमान्य नेता खडानन्द सुवेदीपछि जनसेवामा समर्पित, निष्पक्ष र सहज व्यवहारका, अन्य राष्ट्रिय पञ्चायत सदस्य जस्तो सम्पत्ति र कमाउधन्दाबाट चोखो र सहज पहुँचका नेताको रूपमा उहाँको लोकप्रियता बढ्दै गयो ।

सबैसँग भातृत्वपूर्ण समान व्यवहार गर्ने उहाँको काठमाडौंस्थित डेरामा जिल्लावासी नेता तथा कार्यकर्ता मात्र नभएर सामान्य व्यक्तिहरूको अनि अञ्चलवासीहरूको समेत घुइँचो भइ नै रहन्थ्यो ।

रोल्पा जिल्लाको निर्माणकालदेखि नै मौलाएको पूर्वी र पश्चिमी भेगीय राजनीतिक विभाजन पछिल्लो समयका पञ्चायती नेताहरूको चरित्र र व्यवहारले झन् झाँगिनुमा नेताहरूको व्यक्तिगत वा भेगीय स्वार्थ नै कारक तत्व रहेको थियो ।

त्यसैले जनताहरू आफ्ना जल्दाबल्दा समस्याहरूको निकास र समाधान जसबाट हुन्छ त्यसैलाई रुचाउँथे । २०२५ सालदेखि नै लगातार जिल्ला पञ्चायत सदस्य रहनुभएका र यो अर्थ राम्ररी बुझ्नुभएका रेग बहादुर बाटो निर्माण, घोडेटो बाटो श्रमदान, सिचाइँ कुलो, खानेपानी, झोलुङगे पुल, खाद्यान्न ढुवानी, अस्पताल,स्कूलभवन,रोजगारीजस्ता जनता सँग प्रत्यक्ष सरोकार रहेका योजनाहरूको कार्यन्वयन सम्भाव्यता निर्माणमा आफै संलग्न र सक्रिय रहनुहुन्थ्यो ।

अड्डा अदालतका हाकिम कर्मचारीलाई उनको हैसियतमा ठेगानमा राख्ने निडर स्वभाव, सत्य कुराको पक्षपोषण गर्ने भएकाले पनि कर्मचारीतन्त्र पीडित जनताले उहाँलाई रुचाउँथे , खोज्दथे । त्यसैले उहाँको लोकप्रियता दुवै भेगमा बढेको थियो ।

२०३८ देखि २०४६ सम्मकै राष्ट्रिय पञ्चायत सदस्यको कालमा उहाँको क्रियाशीलता निकै बढेको थियो । जनताको माग,निवेदन वा स्वयं जनता नै लिएर सम्बन्धित मन्त्रालय,विभाग वा कार्यालयमा आफै पुगि कार्यान्वयन गराउन लगाउने,गाउँगाउँबाट माग भइ आउने योजना विकास बजेटको स्वीकृतिको लागि काम गर्नेदेखि लिएर र रोजगारीको लागि आशामुखी युवाहरूलाई अवसरको निर्माण गरिदिने काममा निरन्तर दौडधूप उहाँको दिनचर्या नै थियो ।

यसरी नै नयाँ विद्यालय स्थापनाको लागि सरकारी कोटा थप्ने बढाउने ,शिक्षकहरूको दरबन्दी थप्न लगाउने लगायत स्वास्थ्य केन्द्र स्थापना गराउने उहाँको जबर्दस्त क्रियाशीलताका कारण उहाँको बानेश्वर थापागाउँ स्थित डेरामा रोल्पा जिल्लाका पूर्वी पश्चिमी भेगका सबैगाउँका मात्र नभएर राप्ती अञ्चल भरीकै जनताहरू भेला जम्मा भइरहन्थे। जनताको र जिल्लाको काम केन्द्रबाट गराउन सक्ने नेताको रूपमा राप्ती अञ्चलका नेतामा त्यसबखतमा उहाँ र रुकुमका राष्ट्रिय पञ्चायत सदस्य गोपालजी जङ्ग शाहको नाम लोकप्रिय नेताका रूपमा चर्चित थिए।

२०४३ पछि रापककस रहेकै अवधिमै राज्य मन्त्री सरहको अख्तियारी प्राप्त वन सुदृढीकरण आयोगको मध्य क्षेत्रको अध्यक्षको रूपमा निष्ठा र इमानदारी पूर्वक जिम्मेवारी समेत निर्वाह गर्नु भयो ।

जनताको काम पूरा गर्नु त जिम्मेवारी भयो नै, पञ्चायत इतर पक्षका विचारधाराका व्यक्तिहरूलाई पनि उहाँले उदारतापूर्वक सहयोग पु¥याएका उदाहरण प्रशस्तै छन् । पेसाले शिक्षक तर भूमिगत राजनीतिको सतहका पात्र रोल्पा लिवाङ हाइस्कूलका शिक्षक कृष्णबहादुर महरालाई २०४३/४४ सालतिर २/३ पटक नै उहाँ आफै जिल्ला प्रशासनमा जमानी बसी थुनामुक्त गराएको इतिहास ताजै छ ।

इतर विचारधाराको भन्ने पुलिस प्रशासनका रिपोर्टका आधारमा सरकारी, शिक्षक आदि रोजगारी निषेध गरिएका शिक्षित युवाहरूको पक्षमा जिम्मा जमानी आफै बसी उनिहरूको आजिविका र वृत्तिको सुरक्षा गरिदिनु भएका घटना कति छन् कति। त्यस समयमा प्रतिबन्धित नेपाली कांग्रेसका रोल्पाका नेता सुरेन्द्र हमाललाई अनेक पटक सहयोग गरेका उदाहरण हाम्रै समेत जानकारीमा छन् ।

मैले एक पटक उहाँलाई सोधेको थिएँ । “ यस्तो जनसेवी हुनुहुन्छ, व्यवस्था अनुकुल काम गरिराख्नु भएको छ, लप्पन छप्पन छैन, आफू सरहकै रापककस मन्त्रीले सात पुस्तालाई पुग्ने सम्पत्ति जोडेका देखिन्छन तर तपाईँ भने आफ्नो खल्ती रित्याएर जनताको काम गर्नुहुन्छ। यसरी काम गर्दा पनि दरबारले किन पछि फेरि मन्त्री बनाएन ?”

यसको जवाफमा उहाँले भन्नु भएको थियो,“ पहिलो कारण त एउटै जिल्लाबाट २/२ वटा मन्त्री लिन पनि गाह्रो थियो । दरबारले ३१ सालदेखि बालारामजीलाई लगातार मन्त्री बनायो, उहाँ माथि बढी विश्वास होला उहाँको वफादारी पनि होला। फेरि दरबारले मन्त्रिमण्डलमा जातजातीको प्रतिनिधिमूलक उपस्थिति पनि मिलाउने हुनाले म प्राथमिकतामा नपरेको हो कि भन्ने लाग्छ ।

दोस्रो कारण त म राजा वीरेन्द्रको सम्मानमा आँच नपुगोस भनेर काम गर्ने प्रयास गर्थें ।

मलाई गर्न लगाइएको काममा श्री ५ वीरेन्द्रको के कस्तो धारणा छ , त्यसलाई सकेसम्म बुझेर काम गर्थें । तर दरबारको नाममा कति व्यक्तिहरुले अनेक स्वार्थका काम गर्न गराउन लगाउने । दरबार भित्र “भूमिगत गिरोह “ सक्रिय र प्रभावशाली छ भन्ने त सबैलाई थाहा थियो नै । म त्यो गिरोहलाई खुशी पार्न होइन कि स्वयं राजा नै खुशी हुने वा राजा बाटै जानकारी भएका, देश र जनताको हितको लागि ठीक छ भन्ने लागेका कामहरू गर्न प्रयत्न गर्थे ।

राजाले विश्वास गरे अरुलाई खुशी पार्न चाहिने नचाहिने काम किन गर्ने भन्ने दृढताले गर्दा सबैलाई रिझाउन सकिएन होला । राजा देशको बारे सोच्ने अरु आफ्नो स्वार्थ हेर्ने । स्वार्थ हेर्नेको धेरै चल्दो रहेछ । त्यसैले जनताको काम गर्नेलाई कदर दिन कसलाई चासो कसलाई हतार र ? “

निर्दलीय पञ्चायती व्यवस्था ढलेपछि पनि राजसंस्था र प्रजातान्त्रिक पद्धतिप्रति पनि उहाँको अटल विश्वास थियो । त्यसैले राष्ट्रिय प्रजातन्त्र पार्टीको गठनदेखि नै उहाँ यसैमा क्रियाशील रहनु भएका उहाँले २०४८ सालको संसदीय निर्वाचनमा बालाराम घर्तीलाई निशर्त सहयोग गर्नु भयो । तर जनमोर्चाको आक्रामक प्रतिस्पर्धामा उहाँहरूको दलको जोडबल चलेन । तर पनि सोही पार्टीको सशक्तिकरणका खातिर उहाँ जिल्लामै बसेर सङ्गठन बनाउनतिर लाग्नुभयो ।

२०५१ सालको मध्यावधि चुनावमा रेग बहादुर सुवेदी आफै नै रोल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट पार्टीको उम्मेदवार बन्न दौड त गर्नुभयो । तर बालाराम घर्तीको उहिल्यै देखिको “अहिले यति यस पटक मात्रै” भन्ने कुटिल चालको अघि केही नलागे पछि आगामी निर्वाचनमा भने उम्मेदवारी र पार्टीको टिकट पाउने सर्तमा २०५१ को आम चुनावमा पनि राप्रपाका उम्मेदवार बालाराम घर्तीलाई पूर्ण सहयोग गरी रोल्पा क्षेत्र नम्बर १ बाट सांसदमा विजयी तुल्याउनु भयो । २ नम्बर क्षेत्रबाट नेपाली कांग्रेसका सुरेन्द्र हमाल (सुवेदी) सांसद विजयी भए।

आगामी २०५६ सालको चुनावमा आफूले राप्रपाबाट सांसदको टिकट पाउनेमा ढुक्क भएर माओवादी हिंसा बढ्दा पनि राप्रपाको सङ्गठनमा निडरताका साथ लागेका रेग बहादुरले फेरि धोका पाउनु भयो ।

उहाँको उम्मेदवारीको क्षेत्रको राप्रपा टिकट बालाराम घर्तीका भाइ भूपनारायणको पोल्टामा हालिदिएपछि जीवन भर त्याग तपस्या र योगदान गरेको सट्टामा पार्टीबाट अपमान र धोका एकसाथ पाएपछि राप्रपाबाट उहाँको मोह भङ्ग भयो र तत्कालै पार्टी परित्याग गरी सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव लडनु भयो । माओवादीको बढ्दो असरसँगै कमजोर बन्दै गएको राप्रपाले रेग बहादुर जस्तो खम्बाको बहिर्गमनको परिणाम चुनावमा नराम्रो हार बेहोर्नु पर्‍याे । राप्रपा रोल्पामा क्षतविक्षत् हुन पुग्यो ।

राप्रपाको राजनीति परित्याग गरेर स्वतन्त्र हैसियतबाटै २०५६ साल पुसमा आफ्ना ३०० समर्थक सहितको दलबल लिएर सुवेदी आफुलाई प्रारम्भिक राजनीतिक दीक्षा र प्रजातान्त्रिक संस्कारले भरिदिने राजनीतिक स्कूल नेपाली कांग्रेसमा प्रवेश गर्न काठमाडौं आई तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोईराला समक्ष नेपाली कांग्रेसमा समाहित हुनुभयो ।

रेग बहादुर राप्रपामा रहुञ्जेल हिंसाको राजनीतिमा प्रवृत्त माओवादीलाई कुनै आपत्ति नरहेकोमा नेपाली कांग्रेसमा प्रवेश असह्य भयो । र केही समय पछि नै गजुलस्थित निवासबाटै उहाँ र उहाँको कान्छो छोरालाई माओवादीले अपहरण गरी बेपत्ता पारे । ७५ दिनसम्मको यातनापूर्ण अपहरणपछि उहाँहरू माओवादीको बन्धक जीवनबाट मुक्त हुनु भयो ।

बीबीसीबाट पूर्वमन्त्रीको अपहरणको समाचार प्रसारण भएपछि मात्र उहाँको हातमा १८ दिनसम्म लगाएको हतकडी खोलेको कुरा पछि थाहा भयो ।

त्रास र आतंकका कारण घरमा जिल्लामा बस्न नसकिने भएका कारण उहाँ सपरिवार विस्थापित हुनु बाध्य हुनुभयो । र यही समयमा गजुलस्थित उहाँको घरका सम्पूर्ण चल सम्पत्ति माओवादीले लुटे । अगेनाको खरानी बाहेक सम्पूर्ण सम्पूर्ण सामाग्री लुटेर लगे र अचल सम्पत्ति पनि माओवादीले कब्जा गरे ।

अपहरित अवस्थाको यातना, दबाबपूर्ण अव्यवस्थित बन्धक दैनिकी , उमेर र स्वास्थ्यले नथेग्ने अत्याधिक बलमिचाई र श्रमपूर्ण दिन रातको बलात हिँडाई माओवादीको हिंसक र बदलाग्रस्त हिरासतको ज्यादतीका कारण कमजोर भएको उहाँको स्वास्थ्य स्थितिका कारण विस्थापित अवस्था मै उहाँको मुटुमा गम्भीर र जटिल समस्या देखियो । र भारतको नयाँ दिल्लीमा एस्कर्ट हस्पिटलमा ओपन हार्ट सर्जरी गर्नुप¥यो । जटिल स्वास्थ्य समस्याहरूसँग जुध्दै बाँच्न सफल भए पनि खानपान, गतिविधिको सीमितता, निरन्तर औषधि सेवन , नियमित चेकअपका जटिलता जीवनभरका लागि गासिन पुगे ।

२०६४ सालमा भएको बृहत शान्ति सम्झौतापछि विस्थापित जीवनबाट आफ्नै जन्म एवं कर्मस्थल फर्कनु भएका रेग बहादुर सुवेदीको स्वास्थ्य अवस्था , उमेर र हिंसाले गलेको वातावरणले समेत राजनीतिक क्रियाकलापहरूका लागि बाधक बनिरहे तापनि उहाँ आफु संलग्न राजनीतिक दलमा निरन्तर सक्रिय रहिराख्नु भयो । तर यिनै प्रमुख कारक तत्वले गर्दा त्यस पछिका संसदीय निर्वाचनहरूमा उम्मेदवारी सम्भव भएन ।

र,पनि प्रजातान्त्रिक राजनीतिको निरन्तरको क्रियाशीलताका बीच स्वास्थ्य स्थिति कमजोर हुन गइ ८३ वर्षीय लामो उतार–चढाव, राजनीतिक अभियान– – उपलब्धि , राजकाज– कठिनतम् भोगाइको जीवनलाई विश्रान्ति दिँदै आफ्नो जीवन्त इतिहास समाजका माझ छोडेर संघर्षपूर्ण जीवनको प्रवाह र गतिशीलतालाई आफ्नै भूमिमा जनताकै आगनमा पूर्ण होशको अवस्थामै पूर्ण विराम दिनु भयो ।

श्रध्दान्जली !



प्रतिक्रिया दिनुहोस !