२४ घण्टामै अधिवेशन अन्त्य, सरकारको नियतमाथि प्रश्नः महामन्त्री पौडेल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल ले आह्वान भएको २४ घण्टा नबित्दै संसद अधिवेशन अन्त्य गरिएको विषयमा गम्भीर प्रश्न उठाएका छन्। उनले यस घटनाले सरकारको राजनीतिक नियत र पारदर्शितामाथि शंका उत्पन्न गरेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पौडेलले बलियो बहुमत प्राप्त सरकारले नीति निर्माणका विषयमा संसदलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा उल्टै अधिवेशन छोट्याएर अध्यादेशको बाटो रोज्न खोजिएको संकेत देखिएको टिप्पणी गरे।
उनले सहज संसदीय अंकगणित र अनुकूल राजनीतिक परिस्थिति हुँदाहुँदै पनि सरकारको आत्मविश्वास कमजोर देखिएको प्रश्न उठाए। “किन सरकार संसदबाट छलाङ मार्न खोज्दैछ?” भन्ने आशय उनको टिप्पणीमा देखिन्छ।
पौडेलले लोकतान्त्रिक व्यवस्थामा विधि, प्रक्रिया र पारदर्शिताको उच्च मूल्य रहने उल्लेख गर्दै प्रक्रिया मिचेर परिणाम खोज्ने प्रवृत्तिले संस्थागत मर्यादा कमजोर बनाउने चेतावनी दिएका छन्।
उनका अनुसार जननिर्वाचित संस्थाको गरिमा जोगाउन सरकार संसदप्रति उत्तरदायी र पारदर्शी बन्न आवश्यक छ। उनले संसदलाई पूर्ण विश्वासमा लिएर निर्णय प्रक्रियामा अघि बढ्न सरकारलाई आग्रह गरेका छन्।








