१२ श्रावण २०८१, शनिबार

असिना पीडित परिवारलाइ प्रदेश ५ सरकाले क्षतिपूर्ति दिने

प्रकाशित मिति :  17 March, 2020 10:41 pm


रूपन्देही, ४ चैत । 

गत फागुन ३० र चैत १ गते अविरल वर्षासँगै परेको असिनाका कारण ज्यान गुमाएका परिवारलाई प्रदेश ५ सरकारले राहत दिने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले असिनाका कारण प्रदेशका १२ वटै जिल्लामा भएको क्षतिको यकिन विवरण सङ्कलन गरी राहत प्रदान गर्ने निर्णय भएको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयो । कृषि ज्ञान केन्द्र र स्थानीय तहमार्फत सम्बन्धित वडाको प्रभावित क्षेत्रको जनधनको क्षतिको विवरण माग गरिएको उहाँले बताउनुभयो ।

कृषि उत्पादनमा भएको क्षतिको यकिनका लागि प्रदेशका सबै प्रजिअको नेतृत्वमा समिति गठन गरी अनुगमन गरी तत्काल विवरण ल्याउन निर्देशन जारी गरिएको प्रवक्ता चौधरीले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा असिनाका कारण १० वर्षीय बालकको ज्यान गएको थियो भने अर्घाखाँचीको भूमिकास्थानमा शनिबार राति परेको भीषण वर्षापछि आएको खोलाले बगाएर एकजनाको मृत्यु भएको थियो ।

मन्त्रिपरिषद बैठकले प्रदेश ५ को सञ्चार परिषद् गठन तथा सञ्चालन गर्ने व्यवस्था गर्न बन्ने विधेयक तर्जुमा सम्बन्धमा तयार गरिएको अवधारणापत्रलाई स्वीकृत गरेको छ । सङ्घ र प्रदेशको साझा अधिकारको सूचीमा रहेको सो व्यवस्थाअनुसार सञ्चारमाध्यमको दर्ता अनुमति, आचारसंहिता निर्धारण र अनुगमन, अभिलेखाङ्कन, वर्गीकरण, सञ्चालन र नियमन गर्नका लागि सो प्रस्तावलाई स्वीकृत गरिएको सरकारका प्रवक्ता चौधरीले जानकारी गराउनुभयो ।

सरकारले दाङको लमहीमा अस्थायी ऊर्जा कार्यालय स्थापना गरी प्रदेशका सबै जिल्लालाई हेर्ने गरी कार्य सञ्चालन गर्न स्वीकृति प्रदान गरेको हो । बैठकले प्रदेश ५, सहकारी नियमावली, २०७६ लाई स्वीकृत गर्दै भूमि व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बन्ने विधेयकको अवधारणापत्रलाई समेत सैद्धान्तिक स्वीकृति दिएको छ । यसैगरी जीवनाशक विषादी व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बन्ने विधेयकको अवधारणापत्रलाई समेत सरकारले स्वीकृति प्रदान गरेको प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।

रासस



प्रतिक्रिया दिनुहोस !