४ जेष्ठ २०८१, शुक्रबार

अर्घाखाँचीको खाँचीकोटमा चन्द्रप्रभावतीको शालिक

प्रकाशित मिति :  13 April, 2022 4:05 pm


अर्घाखाँची । अर्घाखाँचीको खाँचीकोट स्थिति डिहिडाँडामा चन्द्रप्रभावती शाहको शालिक अनावरण गरिएको छ ।

डिहिडाँडाको चन्द्रप्रभा माध्यमिक विद्यालयको साथमा रहेको उक्त शालिक आज एक समारोहका बिच सन्धिखर्क नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति कमलप्रसाद भुसालले अनावरण गरेका हुन् ।

शालिक अनावरण समारोहमा बोल्दै मेयर भुसालले भने,“हामी र हाम्रो पुस्ताले इतिहासको संरक्षण गरे मात्र आउदो पुस्ताले हामीलाइ चिन्ने छ, ईतिहास बचाउनु भनेको हामीले आफ्नो परिचय जोगाउनु पनि हो ।”

सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बि.क.ले इतिहासको संरक्षण र प्रवर्द्धन गर्नमा सबै सधै लागिपर्नुपर्ने र आफू पनि सधै ईतिहास र संस्कृतिको रक्षा गर्न लागिपरेको उल्लेख गरे ।

खाँचीकोटको ईतिहास जगेर्ना गर्ने उद्देश्यले निर्माण गरिएको उक्त शालिकको निर्माणका लागि सन्धिखर्क नगरपालिकाको रु ३ लाख, वार्ड नं ७ को कार्यालयबाट बिनियोजित फाउन्डेशन निर्माणका लागि रु. १ लाख खर्च भएको बताइएको छ । यस्तै चन्द्रप्रभावतीको अर्धकदको शालिक निर्माणको लागि काठमान्डौमा नरेन्द्र भन्डारीको सहयोग उल्लेख्य रहेको मेयर भुसालले बताए ।

शालिकसँगै रहेको चौपारी पनि मर्मत गरि सुन्दर बनाइएको छ । यसको लागि कुन्ज बहादुर मल्लका छोराहरू त्रिलोचन मल्ल , श्रीजन मल्ल र सुजन मल्ल द्वारा एक लाख ३० हजार , सुपा देउराली ग्रील उद्योगका सञ्चालक मधु शाह र रबी शाहद्वारा ३० हजार र सहरी शासकीय योजनाबाट रु. ३० हजार बराबरको सहयोग र सामग्री प्राप्त भएको समाजसेबी सुरेन्द्र बिक्रम शाहले जानकारी दिए ।

को हुन् चन्द्रप्रभावती ?

चन्द्रप्रभावती तत्कालिन बाइसे चौबिसे राज्य अन्तरगत चौबिसे राज्य समूहको खाँची राज्यका तेह्रौ राजा दलजित शाह र रानी सुभद्रावती कि छोरी हुन् । उनको जन्म बि .स. १७५९ मा खाँचीमा भएको थियो । उनको विवाह तत्कालिन गोरखा राज्यका राजा नरभुपाल शाहसंग भएको थियो । गोरखाका राजा नरभुपाल शाह जन्ती लिएर खाँचीमा आइ उनलाई बिवाह गरेर गोरखा दरबारमा भित्र्याएको इतिहास छ ।

चन्द्रप्रभावतीबाट सन्तान नभएपछि नरभुपाल शाहले पाल्पाबाट बिबाह गरेका थिए । तिनै पाल्पाली राजकुमारी कौशल्यावतीबाट नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्म भएको थियो । तर पृथ्वीनारायण शाहको जन्मैदेखि स्याहार सुसार र संरक्षण यिनै चन्द्रप्रभावतीले गरेको इतिहासकारहरु बताउछन् ।



प्रतिक्रिया दिनुहोस !