८ बैशाख २०८१, शनिबार

कोरोनाको त्रासमा जनता, झुट बोल्दै गाँउपालिकाका अध्यक्ष काठमाण्डौंमा बस्दै

प्रकाशित मिति :  29 March, 2020 9:59 am


रोल्पा, १६ चैत । महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण यतिबेला विश्व आक्रान्त छ । नेपालमा समेत संक्रमित भेटिनेक्रम जारी छ ।

केन्द्रदेखि स्थानीय सरकारसमेत सबैको ध्यान कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा केन्द्रित छन् । तर, रोल्पाको सुनिल स्मृति गाँउपालिकाका अध्यक्ष भने यतिबेला काठमाण्डौंमा अलमलिएका छन् ।

उनले तत्कालिन नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका थिए । गाँउपालिकाको अध्यक्ष पनि तत्कालिन नेकपा माओवादी केन्द्रले नै पाएको छ । सत्तारुढ नेकपाका अध्यक्ष पूर्व माओवादीबाट नै छन् । संकटका बेला गाँउपालिका अध्यक्ष गुणेन्द्र घर्ती काठमाण्डौंमा बसेपछि पार्टीका गाँउपालिकाका अध्यक्ष मनिराम बुढाथोकी समेत तनाबमा परेका   छन् ।

गाँउपालिकाका  पार्टीका नेताले फोन गर्दा ‘मैले भिडियो कल र फोनबाटै सबै गरिरहेको छुँ, फोनबाट सबै चलिरहेको छ’ भन्दै जवाफ दिने गरेका छन् ।

सुनिल स्मृति गाँउपालिका रोल्पाको महत्वपूर्ण नाकाका हो । पूर्वी रोल्पा प्रवेश एक मात्र नाका प्यूठान रोल्पाको नाका समेत सुनिल स्मृति गाँउपालिकाभित्रै पर्छ भने सबैभन्दा ठूलो पूर्वी बजार सुलिचौरसमेत सुनिल स्मृति गाँउपालिकाभित्रै पर्छ । तर, जनता आक्रान्त भइरहेका बेला अध्यक्ष घर्ती भने ‘लकडाउनमा फसें’ भन्दै काठमाण्डौंमै अलमलिएका छन् । जसका कारण गाँउपालिकामा कोरोना नियन्त्रणका लागि प्रभावकारी काम हुन सकेको छैन ।

जिल्लाकै अन्य कतिपय गाँउपालिकाले कोष स्थापना गरेर कारोना विरुद्धको रणनीति बनाउँदै गर्दा सुनिल स्मृति गाँउपालिकामा भने एकीकृत योजना बन्न सकेको छैन । वडाहरुले आफ्नो क्षमता अनुसार काम गरेपनि गाँउपालिकाका अध्यक्ष नै नभएपछि एकीकृत निर्णय हुन सकेको छैन । वडाहरुले आफ्नो क्षमता अनुसार स्वास्थ्य सामाग्री संकलन गरेर वितरण गरेका छन् । अध्यक्ष घर्तीले भने आफू काठमाण्डौंमै रहेको स्वीकार गरे । उनले भने लकडाउन भएर काठमाण्डौंंमा रोकिएँ, उपाध्यक्षको नेतृत्वमा कार्यदल बनाएर काम भईरहेको छ, म आजै (आइतबार)  हिड्दैछुँ ।’

यस्तो अवस्थामा पनि काठमाण्डौं बसेको भन्दै घर्तीको स्थानीय पार्टी भित्र समेत आलोचना भइरहेको छ । सुनिल स्मृति गाँउपालिकाबाट अन्य जिल्ला र भारतमा काम गर्न गएका व्यक्तिहरु बाटैमा रोकिएका छन् । खाद्यान्न संकट आाउने अवस्था बनेको छ । गाँउपालिकामा आवश्यक उपकरण पुग्न सकेका छैनन् । अध्यक्ष घर्तीले लुम्बिनी सञ्चारसँग भने,‘मनाबैज्ञानिक त्रास हो त्यस्तो भयावह केही छैन ।’

संकटका बेला गाँउपालिका नेतृत्वविहिन भएपछि गाँउपालिका र वडाका पदाधिकाहरु भने अलमलमा परेका छन् । वडा नम्बर ४ का गञ्जबहादुर क्षेत्रीले भने,‘गाँउपालिका नेतृत्वविहिन छ हामी मलमलमा छौं,स्वास्थ्यकर्मी अलमलमा छन् उपकरण छैन, वडाले सकेजति गरेका छौं हामी अलमलमा छौं ।

कार्यदल निष्कृय, कोरोना विरुद्ध लड्न कोष छैन

लकडाउन भएपछि कोरोना रोक थाम तथा नियन्त्रणका लागि गाँउपालिकाको बैठक बसेर उपाध्यक्ष बागमती क्षेत्रीनिको संयोजकत्वमा कार्यदल बनेको थियो । बैठक बस्दापनि अध्यक्ष घर्ती उपस्थित थिएनन् । उपाध्यक्षको नेतृत्वमा बसेको कार्यदलपनि निष्कृय जस्तै छ । उपाध्यक्ष घरमा गएर बसेको आरोप लागेको छ । लुम्बिनी सञ्चारले पटकपटक प्रयास गर्दा पनि उपाध्यक्ष क्षेत्रीनिको मोवाईलमा सम्पर्क हुन सकेन ।

गाँउपालिकाको सूचना प्रवाह गर्ने जिम्मा पाएका प्रेस संयोजक घरमा गएर बसेका छन् । गाँउपालिकाको गतिविधिबारे जानकारी माग्न खोज्दा प्रेस संयोजक आशिष क्षेत्रीले भने,‘म घर छुँ भोली मात्रै फर्कन्छु ।’  अन्य सेवाग्राहीले  संयोजक क्षेत्रीले  फोन गर्दा आफू विदामा बसेको भनेका  छन् ।

अध्यक्ष नभएपछि कोरोना विरुद्ध लड्नका लागि कोष छैन भने थप रणनीति बनाउनेबारे अन्योल भईरहेको छ । गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव पार्देले भने,‘पहिलेकै विपद व्यवस्थापन कोषमा २ लाख थियो त्यसैबाट चलिरहेका छौं, अध्यक्ष नभएपछि थप रकम विनियोजन हुन सकेको छैन, उहाँ एक दुईदिनमै आएपछि थप काम अगाडी बढ्छ ।’

गाँउपालिकाका अध्यक्ष झुट बोल्दै, प्रमुख प्रशासकीय अधिकृत साथ दिदै

लुम्बिनी सञ्चारसँग अध्यक्ष घर्तीले भने,‘स्वास्थ्य सेवा विभागमा निवेदन दिएका छौं म केही स्वास्थ्यका सामान लिएर जाँदैछुँ र आजै हिंड्छुँ ।’ कार्यकारी अधिकृत पार्देले पनि लुम्बिनी सञ्चारसँग भने,‘चीनबाट आएको स्वास्थ्य सम्बधि सामाग्री लिएर  अध्यक्ष ज्यू आउनुहुन्छ होला ।

एक दुइ दिनमै आउनु हुन्छ की ?’ अध्यक्ष घर्तीले लकडाउनका कारण कामाण्डौंमै अलमलिएको समेत भनेका छन् । तर, स्वास्थ्यमन्त्री भानुभक्त ढकालका प्रेस संयोजक माधव तिवारीले भने स्वास्थ्य सेवा विभाग मातहतका सामाग्री सिधै जिल्ला वा प्रदेशमा जाने बताए ।

उनले भने,‘ गाँउपालिकाले सम्पर्क नै गर्ने हो भने प्रदेशको सामाजिक विकास मन्त्रालयमा सम्पर्क गर्ने हो गाँउपालिकामा जाँदैन, अझ चीनबाट आएको सामान त गाँउपालिकाका अध्यक्षले लिएर जाने भन्ने कुरा पुरै असम्भव छ ।’ संयोजक तिवारीले लकडाउनका कारणले कुनैपनि स्थानीय निकायका प्रमुख काठमाण्डौं नरोकिने बताए ।

र,यो पनि….



प्रतिक्रिया दिनुहोस !