१३ बैशाख २०८१, बिहिबार

रोल्पाको रुन्टीगढी गाँउपालिकाद्धारा कोरोना विरुद्ध लड्न ३० लाख रुपैयाँको कोष बनाउने निर्णय

प्रकाशित मिति :  28 March, 2020 5:16 pm


रोल्पा, १५ चैत ।

रोल्पाको रुन्टीगढी गाँउपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ३० लाख रुपैयाँको कोष स्थापना गर्ने निर्णय गरेको छ ।

गाँउपालिका स्तरीय कोरोना भाइरस रोकथाम तथा सर्तकता समितिको आज बसेको बैठकले रुन्टीगढी लगायतको क्षेत्रलाई संभावित जोखिमबाट न्यूनिकरण गर्नका लागि कोष स्थापना गर्ने निर्णय गरेको हो ।

साथै बैठकले रुन्टीगढी-४ मसिनाको सूर्योदय मावि र होलेरीको महेन्द्र माविमा कोरेन्टाइन स्थापना गर्ने निर्णय गरेको छ । बैठकमा गाँउपालिकाका सबै वडाअध्यक्षहरुले आ—आफ्नो वडामा विदेशबाट आएका नागरिक र उनीहरुको अवस्थाबारे जानकारी गराएका थिए । बैठकमा रुन्टीगढी स्वास्थ्य शाखा संयोजक गणेश बुढाले होलेरी सहायता कक्षमा लगातार सेवा दिदै आएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुको सुरक्षा सहितको सेवा मिलाउन आग्रह गरेका थिए ।

अहिलेसम्म रुन्टीगढी गाउँपालिकाले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि २ ठाउँमा सहायता कक्ष संचालन गरेको छ भने होलेरीमा आइसोलेसन कक्ष स्थापना गरिएको छ । सम्बन्धित ठाउँमा आवश्यकता अनुसार रेडियोबाट जनकारी मूलक सन्देश प्रसारण गरिएको रुन्टीगढी गाउँपालिका पर्यटन फोकल पर्सन दिपक डाँगीले जानकारी दिए ।

रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले कोरोनाको चुनौतिसँग जुध्न कार्यपालिकाको बैठक बसेर ३० लाख विनियोजन गर्ने बताएका छन् । रुन्टीगढी गाउपालिकामा अहिलेसम्म ९८ जना बिदेशबाट नेपाली नागरिक भित्रिएका गाँउपालिकाले जनाएको छ ।

र, यो पनि…..



प्रतिक्रिया दिनुहोस !