निर्माण व्यवसायी महासङ्घको सहयोगमा बनेको ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा
नुवाकोट । नुवाकोटको ढुङ्गेबजार र प्रमुख व्यापारिक केन्द्र त्रिशूली बजार जोड्ने २६७ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा आएको छ ।
नेपाल निर्माण व्यवसायी महासङ्घको आर्थिक सहयोग तथा प्राविधिक समन्वयमा रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछिको संकट समाधान गर्न एक महिनामै निर्माण सम्पन्न गरिएको उक्त पुलको महासङ्घका अध्यक्ष निकोलस पाण्डेले उद्घाटन गरेका हुन् ।
गत भदौ १० गतेको बाढीपहिरोले आवतजावत अवरुद्ध भएपछि स्थानीय बासिन्दा, बिरामी तथा विद्यार्थीले लामो समयदेखि सास्ती खेप्दै आएका थिए । संकट समाधानका लागि महासङ्घको पहलमा भदौ तेस्रो सातादेखि द्रुत गतिमा पुल निर्माण सुरु गरिएको थियो । पुल सञ्चालनमा आएसँगै ढुङ्गेबजार र त्रिशूली बजारबीचको सम्पर्क पुनःस्थापित भएको छ ।
उद्घाटन समारोहमा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजेन्द्रविक्रम सिंह ठकुरीले कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत महासङ्घले विपद्का समयमा खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।
त्यस्तै, निर्माण व्यवसायी सङ्घ नुवाकोटका अध्यक्ष शैलेन्द्रराज प्याकुरेल तथा वाग्मती प्रदेश अध्यक्ष छत्रबहादुर तामाङले छोटो समयमै हजारौँ नागरिक लाभान्वित हुने संरचना निर्माण भएकाले निर्माण व्यवसायीप्रतिको सामाजिक दृष्टिकोण सकारात्मक बन्ने विश्वास व्यक्त गरे ।
नेपाल विद्युत् प्राधिकरणको जग्गासमेत उपयोग गरी निर्माण गरिएको उक्त पुलबाट सर्वसाधारणको आवागमन सहज हुनुका साथै बिरामी बोकेका एम्बुलेन्स र आवश्यकताअनुसार मोटरसाइकलसमेत आवतजावत गर्न सकिने स्थानीय सरोकारवालाले बताएका छन् ।
चाडपर्वको मुखमा पुल सञ्चालनमा आएसँगै नुवाकोटवासीले सहज आवागमनको राहत पाएका छन् ।
– न्युज एजेन्सी नेपाल








