मिथिलाञ्चलका शक्तिपीठमा ‘खोइछ’ भर्ने लर्को, सन्तानको दीर्घायु र सौभाग्यको कामना
जनकपुरधाम । जनकपुरधामसहित मिथिला क्षेत्रका प्रमुख शक्तिपीठमा विवाहित महिलाले पारिवारिक सुख, सन्तानको दीर्घायु र अखण्ड सौभाग्यको कामना गर्दै देवी दुर्गाको ‘खोइछ’ भर्ने धार्मिक अनुष्ठान सुरु गरेका छन् ।
दसैँको नवरात्र सुरु भएसँगै प्रसिद्ध राजदेवी मन्दिरलगायतका शक्तिपीठमा परम्परागत विधिअनुसार खोइछ चढाउने महिलाको उल्लेख्य भीड लागेको छ ।
मिथिला संस्कृतिमा विशेष महत्त्व राख्ने यस परम्पराअनुसार विवाहित महिलाले धान, दुबो, बेसारको गाँठो, सिन्दूर, सुपारी, पान र दक्षिणासहितको पोको तयार पारेर भगवती दुर्गालाई अर्पण गर्छन् ।
असोज शुक्ल प्रतिपदाका दिन माइत आएकी देवी भगवती नवरात्रभर माइतीमै बस्ने र विजयादशमीका दिन ससुराली प्रस्थान गर्ने जनविश्वासका आधारमा खोइछ भर्ने चलन रहिआएको छ ।
जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको राजदेवी मन्दिरमा बिहानैदेखि खोइछ भर्न आउने महिलाको लाम लागेको छ । नवदुर्गाको विशेष आराधना गर्ने मैथिल महिलाले यस अनुष्ठानलाई नारी शक्तिको सम्मान र सन्तानको रक्षासँग जोडेर हेर्ने गरेका छन् ।
सांस्कृतिक अध्येताहरूका अनुसार खोइछ भर्ने परम्परा कोख र मातृवात्सल्यसँग प्रत्यक्ष रूपमा जोडिएको छ । भगवती दुर्गाको आराधना र सामीप्यबाट जीवनमा आनन्द, सुख, आरोग्य र ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास छ ।
छोरीलाई माइतीबाट बिदाइ गर्दा घरमा अन्नपूर्णाको बास होस् र भोकमरी नहोस् भन्ने कामनासहित आँचलभरि खोइछ दिएर पठाउने प्राचीन मौलिक चलनलाई शक्तिपीठमा देवी दुर्गालाई खोइछ अर्पण गर्ने परम्परासँग जोडेर निरन्तरता दिइएको मानिन्छ ।
नवरात्रको अन्तिम चरण नजिकिँदै गर्दा मधेस प्रदेशका विभिन्न जिल्लामा रहेका शक्तिपीठ तथा दुर्गा पूजा पण्डालमा पनि यो परम्परा चलिरहेको छ । यसले मिथिलाको सांस्कृतिक परम्परा, धार्मिक आस्था र पारिवारिक सम्बन्धको गहिराइलाई उजागर गरेको छ ।
– न्युज एजेन्सी नेपाल








