भारतले गहुँ निर्यातमा रोक लगाएपछि नेपाली उद्योग सङ्कटमा
.काठमाडौँ । भारत सरकारले बैशाख ३० गतेदेखि गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदा \आँटाको चरम अभाव भएको छ ।
मैदा \आँटा कच्चा पदार्थको रूपमा प्रयोग हुने बिस्कुट, चाउचाउ, बेकरी, तन्दुुरी नान, भोजनालय, रेष्टुरेण्ट लगायत ठुला–साना सबै होटललाई माग अनुसारको मैदा \आँटा मैदा उद्योगले उपलब्ध गराउन नसक्दा बजारमा चरम अभावको अवस्था सिर्जना भएको नेपाल मैदा उद्योग संघका महासचिव राधेश्याम अग्रवालले बताए ।
अग्रवालले पछिल्लो समयमा बजारमा गहुँ नहुदाँ देशभरिका ८० प्रतिशत मैदा उद्योग नै बन्द हुने अवस्थामा पुगेका र बाँकी उद्योगहरू पनि एक हप्तामा पूर्ण रूपमा बन्द हुने अवस्थामा रहेको बताए । उनले भने, “मैदा उद्योगले बजारमा मैदा \आँटा दिन सक्ने अवस्था नै छैन । यो विषम परिस्थितिबाट केही हदसम्म राहत पाउन तोकिएको कोटा तुरुन्त पाउनुपर्ने देखिन्छ । अहिले प्राप्त पचास हजार मेट्रिक टन गहुँ सबै मैदा मिलले मिलिङ गर्न पाउँदा पनि हाराहारी २० दिनलाई पुग्छ, त्यसपश्चात फेरि हाहाकार मच्चिन सक्छ । नेपालमा गहुँको सिजन आउन अझै तीन महिना बाँकी छ ।’’
संघले तीन महिनाको लागि ३८ वटा उद्योगको लागि लगभग २ लाख मेट्रिक टन गहुँ आवश्यक पर्ने र गहुँ उपलब्ध भएमा उद्योग चल्ने भएकाले मैदा आयातको सट्टा गहुँ आयात गर्न सरकार समक्ष अनुरोध गरेको छ ।








