बीवाईडी र एभरेष्ट बैंकबीच सम्झौता, गाडी खरिदमा ८० प्रतिशत कर्जा दिने
काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रालि र एभरेष्ट बैंकबीच ग्राहकलाई वित्तीय विकल्प उपलब्ध गराउने सम्झौता भएको छ । एभरेष्ट बैंकका ग्राहकलाई विद्युतीय सवारी साधनका लागि सहज वित्तीय विकल्प उपलब्ध गराउने उद्देश्यले यो सहकार्य भएको हो ।
यस सम्झौता अनुसार बीवाईडीको कुनै पनि विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकले एभरेष्ट बैंकबाट ८० प्रतिशतसम्म कर्जा पाउनेछन् । एभरेष्ट बैंकका कुनै पनि शाखाबाट बीवाईडीका लागि ८० प्रतिशतसम्म ऋण पाउन सकिनेछ ।
एभरेष्ट बैंकले सात वर्षसम्मका लागि बीवाईडी सवारीसाधनको लागि विशेष ब्याजदरसहित कर्जा उपलब्ध गराउने भएको हो । २० प्रतिशत डाउन पेमेन्ट गरेको खण्डमा ग्राहकहरूले हालसालै लन्च गरिएको बीवाईडी एट्टो ३ खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
सो योजनाअन्तर्गत बीवाईडी एट्टो ३ खरिद गर्न १२ लाख ९८ हजार रुपैयाँ र वीबाईडी ई६ ११ लाख ८० हजार रुपैयाँ डाउन पेमेन्ट गरे पुग्छ । यो वित्तीय व्यवस्था नेपाल राष्ट्रको सम्बन्धित निर्देशन र निर्देशिका अन्तर्गत रहेको बताइएको छ ।
बैंकले बीवाईडी गाडी खरिदका लागि आवश्यक कागजात पेस गरेको सात दिनभित्र ऋण उपलब्ध गराउनेछ । त्यस्तै बैंकले ऋण प्रक्रियाका लागि लाग्ने शुल्कमा पनि ३३ प्रतिशत छुट दिने घोषणा गरेको छ ।
एभरेष्ट बैंकले बीवाईडीका ग्राहकलाई आवश्यक डकुमेन्ट उपलब्ध भएको ७ दिन भित्रै ऋण उपलब्ध गराउने छ भने सेवा शुल्कमा ३३ प्रतिशत छुट समेत उपलब्ध गराउने जनाएकाे छ ।
साइमेक्सले बीवाइडी एट्टो- ३ ८९ लाख ९० हजार रुपैयाँमा वितरण गर्दै आएको छ भने वीबाईडी ई६ का लागि ५९ लाख रुपैयाँ तोकिएको छ ।
कम्पनीले बीवाईडी एट्टो ३ लाई नेपालकै पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी र अल न्यु ई६ लाई सबैभन्दा लामो रेन्ज दिने ईभी दावी गर्दै आएको छ








