२२ मंसिर २०८२, सोमबार

नेप्से झिनो अंकले बढ्दा कारोबार रकम साढे २ अर्बमाथि

प्रकाशित मिति :  26 February, 2023 4:04 pm


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजार ४ अंकले बढेको छ । गत साता लगातार घटेको सेयरबजार यो साताको कारोबारको पहिलो दिन भने हरियो देखिएको छ ।

देशमा चलेको अस्थिर राजनीति र नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरुले लघुवित्तबाट ऋण लिन नपाउने र एकभन्दा बढी लघुवित्तबाट ऋण लिन नपाउने व्यवस्था गरेसँगै सेयरबजारमा गिरावट आएको सेयर विज्ञहरू बताउँछन् ।

लघुवित्तमा बढ्दै गएको जोखिम र अर्थमन्त्री परिर्वतन हुने विषयले पनि लगानीकर्ताको मनोबल घट्दै गएको हुनाले बजार प्रभावित बनेको उनीहरूको तर्क छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ४.५५ अंकले बढेर २०२७ अंकमा पुगेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक भने ०.५१ अंकले घटेर ३८३.८५ अंकमा झरेको छ ।

नेप्सेमा आज कारोबार भएका कुल १३ उपसमूहमध्ये ५ वटा उपसमूहको सेयर घटेको छ भने ८ वटा उपसमूहको सेयर बढेको छ ।आइतबार कारोबार रकमका आधारमा हिमालयन डिष्ट्रलरी लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १० करोड ५८ लाख ७० हजार ९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ७.९४ प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन सिटिजन्स म्यूचुअल फण्ड–१ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

कुल २६२ कम्पनीको ६५ लाख १५ हजार ८ सय ५२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८ सय ६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !