एकल विन्दु सेवा सुचारु गर्ने प्रधानमन्त्री दाहालको प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशी लगानीकर्ताका समस्या समाधानका लागि एकल बिन्दु सेवा सुचारु गर्ने प्रतिवद्धता जनाएका छन्र ।
मंगलवार नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड सीसीपीआईटी० को संयुक्त आयोजनामा भएको नेपाल–चाइना बिजनेस फोरम २०२३ लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विदेशी लगानीकर्ताहरुको समस्या समाधानका लागि सरकारले एकल बिन्दु सेवा शुुरु गर्ने विषयमा कानून बनाएर संसदबाट पारित गर्ने क्रममा रहेको बताएका हुन्।
प्रधानमन्त्री दाहालले सरकारले विदेशी लगानीकर्तालाई चाँडै नै सबै प्रकारका सेवा एउटै ठाउँबाट प्राप्त गर्ने वातावरण मिलाउने घोषणा गरे ।
उनले पूर्वाधार विकासका लागि नेपाललाई ठूलो लगानी र नयाँ नयाँ प्रविधिको आवश्यक्ता रहेको उल्लेख गर्दै चीन सरकारले नयाँ प्रविधि र ठूलो लगानी भित्र्याउन सहयोग गर्ने बताए ।
प्रधानमन्त्री दाहालले चीन सरकारले प्रतिवद्धता गरेअनुसारको लगानी नेपालले नपाउनुमा सरकारको नीति नियम कारक रहेकाले अफ्ठ्यारा नीति नियमलाई सहज बनाउँदै धेरै भन्दा धेरै लगानी भित्र्याउन सरकार प्रतिवद्ध रहेको जिकिर गरे ।
नेपालबाट निर्यात हुने आयुर्वेदिक औषधि, तरकारी, चिया, मासु लगायतका उत्पादनलाई सहजै चीनमा निर्यात गर्ने व्यवस्थालाई सहज बनाउन आग्रह गर्दै प्रधानमन्त्री दाहालले भने ‘हामीलाई पूर्वाधार विकास गर्न ठूलो लगानी र नयाँनयाँ प्रविधिको आवश्यकता रहेको छ, चीनले हाम्रो यो आवश्यकता पूरा गर्न सहयोग गर्नेछ भन्ने मलाई विश्वास छ, सरकार अहिले विदेशी लगानीकर्तालाई सहज हुनेगरी वातावरण बनाउन प्रतिवद्ध रहेको छ । पछिल्लो समयमा चीन सरकारले प्रतिवद्धता गरेअनुसारको लगानी आउन सकेको छैन, त्यो अरुलाई दोष िदनुभन्दा हाम्रै सरकारका पोलिसीहरुका कारण हो । ती समस्याको समाधान गर्न पनि हामी लागिपरेका छौँ । ’
प्रधानमन्त्रीले दुई देशबीचको व्यवसायिक सम्भावना खोज्न र उजागर गर्नको लागि निजी क्षेत्रको भुमिका प्रशंसनीय रहँदै आएको छ, अबका दिनमा पनि निजी क्षेत्रहरुले दुई देशबीचको व्यवसायलाई प्रवद्र्धन गर्न त्यत्तिकै भुमिका खेल्नेछ भन्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री दाहालले नेपाल एक चीन नीतिमा स्पष्ट रहेकाले नेपाली भूमि छिमेकीका बिरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा सीसीपीआईटीका उपाध्यक्ष चाङ साओहाङले ६७ वर्षदेखि नेपाल र चीनको सम्बन्ध बिस्तार हुँदै आएकाले आगामी दिनमा पनि दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए । उनले नेपालबाट निर्यात हुने ९८ प्रतिशत सामानलाई चीन सरकारले कर छुटमा आफ्नो बजारमा पहुँच दिएको बताए।
चीन सरकारले नेपाललाई पनि पर्यटकीय गन्तव्यको रुपमा राखेकाले चिनियाँ नागरिकहरु नेपाल भ्रमण गर्दा अर्थतन्त्र बिस्तर हुने विश्वास व्यक्त गर्दै उनले भने, ‘चीन नेपालको राम्रो मित्र हो, विगत ६७ वर्षदेखि नेपाल र चीनबीछ दौत्य सम्बन्ध कायम रहेको छ । नेपालबाट निर्यात हुने ९८ प्रतिशत सामानलाई चीन सरकारले कर छुट दिइ बजारमा पहुँच बिस्तार गरेको छ, त्यसले नेपालको निर्यात बढाउन सहयोग पुग्छ, साथै चीनले पर्यटकीय गन्तव्यस्थलको रुपमा नेपाललाई पनि समावेश गरेको छ, यसले पनि नेपालको अर्थतन्त्र थप बिस्तार हुनेछ, साथै हामी नेपालमा लगानी र सहकार्यका लागि नयाँ व्यापारिक क्षेत्रहरुको पहिचान गरिरहेका छौँ, स्वच्छ उर्जा, प्रविधि, विद्युतका क्षेत्रमा सहकार्य गर्ने हाम्रो सोच रहेको छ ।’
नेपाल र चीनका व्यपारीहरुबीच सोमवारदेखि छलफल शुरु भएको हो । करिव ४ वर्षपछि नेपाल र चीनका व्यवसायीहरुबीच छलफलमा सीसीपीआईटीका उपाध्यक्ष चाङ साओहाङसहितको १२ सदस्यीय टोली नेपाल आएको छ ।








