दरवारमार्गमा वैशाख २ गते सडक महोत्सव हुने
काठमाडौँ। नेपाली नयाँ वर्ष २०८० को अवसरमा एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डे :१६ औं दरवारमार्ग सडक महोत्सव हुने भएको छ।
महोत्सव वैशाख २ गते, शनिबार काठमाडौँको दरवारमार्गमा नेपाल उद्योग वाणिज्य महासंघ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) ले एनसेलसँग महासंघको विषेश सहकार्य र मुख्य प्रायोजनमा हुन लागेको हो।
लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्नको लागि यो महोत्सव आयोजना हुन लागेको हो। आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने महोत्सवको मुल उद्देश्य रहेको छ।
काठमाडौँ महानगरपालिकाभित्रको सांस्कृतिक प्रवर्द्धन एवं संरक्षणमा समेत यो महोत्सव सहयोगी हुनेछ। साथै काठमाडौँ उपत्यकाभित्रका संस्कृति झल्कने प्रस्तुति दिइनेछ। गीतसंगितका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु र महोत्सव आयोजना हुने क्षेत्रमा विविध रमाइला गतिविधिहरू प्रदर्शन गरिने छ। महोत्सव बिहान ११ बजेदेखि बेलुका ८:३० बजेसम्म आयोजना हुने आयाेजकले जनाएकाे छ ।
महोत्सवमा चर्चित गायकगायिका, कलाकार तथा सांगितिक समूहहरूको प्रस्तुति हुनेछन्। त्यस्तै कलाकारहरू दिपक बज्राचार्य एन्ड रिदम व्यान्ड, कुटुम्ब, पहेलो बत्ति मुनी, त्रिशाला गुरुङ, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दि एलिमेन्टस् आदिले आ( आफना प्रस्तुति राख्नेछन्।
आयाेजकका अनुसार महोत्सवमा शारिरीक रुपमा भिन्न क्षमता भएका उद्यमीहरूले उत्पादन गरेका हस्तकलाका वस्तुहरू र महिला उद्यमी सहित हस्तकला उद्यमीहरूबाट उत्पादित वस्तुहरूका उत्पादन पनि प्रर्दशनीमा रहनेछन्। विभिन्न नेपाली खानाका परिकारहरू र स्वदेशी उत्पादनहरूको विषेश प्रदर्शन र प्रस्तुतिका स्टलहरू, बालबालिकाका लागि छुट्टै किडस् जोन महोत्सवको विशेष आकर्षणहरू हुनेछन्।
यसैगरी महोत्सवमा भिडियो गेमका पारखीहरूका लागि अनलाइन गेमिङ प्रतियोगिता पनि हुनेछ। दरवारमार्गको दक्षिण क्षेत्र महेन्द्र शालिकबाट उत्तरतर्फ नारायणहिटी संग्राहालय गेट अगाडिसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ।
महोत्सव संरक्षकमा काठमाडौँ महानगरपालिका, मुख्य प्रायोजनमा एनसेल, सह( प्रायोजकमा कार्लबर्ग वेभरेज पार्टनरमा डाबर नेपाल, सहयोगी संस्था नेपाल पर्यटन बोर्ड र अन्यमा कुनु नेपाल, एनडीज् आइसक्रिम र केएफसी रहेका छन्।
पछिल्लो पटक देखिएको तरलता संकटलगायत विविध कारणले थलिएको अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चाडोभन्दा चाडो पुनरुत्थान, नव उत्थानमा लैजान सकिन्छ भनि निरन्तर काम भैरहेको सन्दर्भमा महोत्सवले यो प्रयासमा निकै ठूलो सहयोग गर्ने विश्वास आयोजकहरूको रहेकाे छ।








