हराएका २१ मोटरसाइकल प्रहरीद्वारा सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडौँ । विभिन्न मितिमा हराएका २१ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । रामशाहपथ स्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार एक कार्यक्रम गरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले १४ वटा मोटरसाइकल र ७ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनको आधारमा खोजी गर्ने क्रममा फेला परेका ३ सय ६३ वटा सवारी साधन चालु आर्थिक वर्षमा ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ ।
धनी नखुलेका ९५ वटा सवारी साधन भने भन्सार कार्यालयमा बुझाइएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले जानकारी दिए । चालु आर्थिक वर्षमै २७ वटा चोरीका २ पाङ्ग्रे सवारी साधन सहित ३१ जनालाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर र प्रहरी वृत्तमा पठाइएको छ ।








