६ जेष्ठ २०८१, आइतबार

भीरकोट नगरपालिकाको शौक्षिक अवस्था ध्वस्त, सामुदायिक विद्यालयमा ८१ प्रतिशत विद्यार्थी अनुत्तीर्ण

प्रकाशित मिति :  21 April, 2023 2:08 pm


नारायण काेइराला

स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकालाई बालमैत्री नगरपालिको रूपमा घोषणा गरेको करिब दुई वर्ष पुग्यो । २०७७ फागुन २२ गते भीरकोट नगरपालिका गण्डकी प्रदेशको दोस्रो तथा स्याङ्जा जिल्लाको पहिलो बालमैत्री नगरपालिका घोषणा भएको थियो ।

बिडम्बना घोषण भएको दुई वर्ष नबित्दै भीरकोटका सामुदायिक विद्यालयको शौक्षिक अवस्था ध्वस्त भएको छ । उसो त नगरपालिकाकालाई बालमैत्री घोषणा गर्नको लागि शौक्षिक अवस्थादेखि विद्यार्थीका लागि पढ्ने वातावरण र सुविधालाई मध्यनजर गरेर घोषण गर्नुपर्छ तर नगरपालिकाकाे सामुदायिक विद्यालयहरूको आधारभूत तह कक्षा ८ को नतिजा हेर्दा हचुवाकाे भरमा नै बालमैत्री नगरपालिका घाेषण गरेकाे पाइन्छ ।

नगरपालिकाबाट प्राप्त भएको तथ्यांकमा भीरकोटमा रहेका १४ वटा सामुदायिक विद्यालय र ५ वटा संस्थागत विद्यालयहरूको नतिजा हेर्दा आधारभूत तहमा ६० प्रतिशत भन्दा बढी विद्यार्थी अनुतीर्ण भएका छन् ।

पालिकाले अंग्रेजी, गणित र विज्ञान विषयका उत्तरपुस्तिकाहरू समपरीक्षण गरी नतिजाको विश्लेषण गर्दा ३ वटा मूख्य विषयमा ३९.२७ प्रतिशत विद्यार्थी मात्रै उत्रिर्ण भएका छन् भने ६०.७३ प्रतिशत विद्यार्थी अनुतीर्ण भएका छन् ।

गत शैक्षिकसत्रको कक्षा ८ को वार्षिक परीक्षामा पालिकाका १९ वटा विद्यालयबाट ४१५ जना विद्यार्थी सहभागी भएका थिए जसमध्ये १६३ जना मात्रै तीन वटा मुख्य विषयमा उतीर्ण भएका छन् ।

संस्थागत विद्यालय र सामुदायिक विद्यालयहरूको नतिजा तुलनात्मक रूपमा हेर्दा संस्थागत विद्यालयहरूको नतिजा अब्बल देखिएको छ ।

संस्थागत विद्यालयबाट १३३ विद्यार्थी परीक्षामा सहभागी भएकोमा १०९ जना विद्यार्थीहरू ३ वटा मुख्य विषयमा उतीर्ण भएका छन् । संस्थागत विद्यालयबाट ८१.९५ प्रतिशत विद्यार्थीहरू उतीर्ण भएका छन् ।

संस्थागत विद्यालयहरूमध्ये कन्साइन्स मा. वि. को नतिजा पालिकामै सर्वोत्कृष्ट देखिएको छ । परीक्षामा २३ जना विद्यार्थी सहभागी भएकोमा शतप्रतिशत विद्यार्थी उतीर्ण भएका छन् ।

बालोदय मा. वि. बाट ९७ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् भने बालज्योति मा. वि. बाट ८५ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् भने बुद्ध मा. वि. र भू.पु सैनिक मा.वि. को विद्यार्थी उतीर्ण प्रतिशत समान अर्थात् ६७ प्रतिशत रहेको छ ।

सामुदायिक विद्यालयहरूको नतिजा हेर्दा पालिकाको नमुना विद्यालय भाग्योदय माध्यमिक विद्यालयबाट १९ प्रतिशत विद्यार्थी मात्रै उतीर्ण भएका छन् । शहिद शुक्र मा. वि. को उतीर्ण प्रतिशत १४ मात्रै छ भने दहथुम मा. वि. बाट ५३ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् ।

सिरूखर्क मा.वि. र सिर्कोट मा. वि. को नतिजा शुन्य रहेको छ । सामुदायिक विद्यालयहरूमा दहथुम मा. वि. को नतिजा राम्रो देखिएको छ ।

समग्रमा सामुदायिक विद्यालयबाट १९.१४ प्रतिशत विद्यार्थी मात्रै उतीर्ण भएका छन् भने ८०.८६ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

उक्त विषयमा भीरकोट नगरपालिकाका शिक्षा अधिकृत नविन थापाले कोभिडका कारण शौक्षिक अवस्था ध्वस्त भएकाे र त्यसको असर भीरकाेटमा पनि परेको बताए ।

साथै थापाले उक्त तंथ्याकलाई अस्विकार गर्दै भने,”हामीले तीन वटा विषयको नतिजालाई मात्र मूल्याङ्कन गरेको हो । तीनवटा विषयलाई लिएर ४० आउने कति र ४० भन्दा कम आउने कति छन् भनेर हेरेकाे हाे त्यति नराम्राे भएकाे जस्ताे लाग्दैन । विद्यालयलाई नराम्रो आयो है, सुधार गर्न पर्यो भनेर अवगत गराउनकाे लागि मात्र त्याे तंथ्याक तयार पारेका हो । त्यस्तो नराम्रो भने होइन ।”

भाग्योदय माध्यमिक विद्यालयबाट १९ प्रतिशत विद्यार्थी मात्रै उत्रिर्ण भएकाे विषयमा विद्यालयका प्रधानध्यापक रेशमलाल खनालले ४७ जनामा १९ प्रतिशत उत्रिर्णलाई अरूको तुलनामा राम्रो रहेको बताएका छन् । उनले भने, “अन्य वर्षको भन्दा यस वर्षको राम्रो रहेको छ । आउँदाे दिनमा हामीले यसलाई थप सुधार गर्न पहल गर्ने छाैँ ।”



प्रतिक्रिया दिनुहोस !