२ पुस २०८२, बुधबार

एसेम्बलिङ उद्योगको छुट कटौती गर्न पाइन्न : नाडा

प्रकाशित मिति :  24 May, 2023 11:18 am


काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी आर्थिक वर्ष २०८०| ०८१ को बजेटमा सवारी साधन एसेम्बल उद्योगलाई थप प्रोत्साहित गर्ने नीति अवलम्बन गर्नुपर्ने धारणा व्यक्त गरेको छ । एसेम्बल उद्योगले आद्योगिक सिपको विकासगरी नेपालमा रोजगारी सृजना गर्न र नेपालबाट बौद्धिक जनशक्ति पलायनको समस्यालाई हल गर्न समेत मद्दत गर्ने बताउँदै यस्तो धारणा राखेको हो ।

सरकारले तत्कालको समस्या अर्थात राजश्वलाई मात्र दृष्टिगतगरी नीति बनाउँदा त्यसको दिर्घकालिन असरलाई समेत ध्यान दिनु पर्ने नाडाले जनाएको छ । नाडाले लामो समय अघिदेखि राख्दै आएको मागलाई दृष्टिगत गदैं सरकारले नेपालमा सवारी साधनहरुको एसेम्बली उद्योग स्थापनाका लागि नीजिक्षेत्रलाई आकर्षित र प्रोत्साहित गर्न त्यसमा लाग्ने महशुलहरुमा विभिन्न छुट र नीतिगत सुविधाहरूको व्यवस्था गरेको छ ।

त्यसैको फलस्वरुप नेपालमा ४ वटा दुई पाँगे्र सवारी साधनहरुको एसेम्बल उद्योगहरुले उत्पादन गरिरहेको, अरू दुईवटा उद्योगहरू तत्कालै उत्पादनको अवस्थामा रहेको र केही अरू यस्ता एसेम्बल उद्योगहरू खुल्ने तयारीमा रहेका छन् ।

नेपालमा केही चारपाँग्रे सवारी साधनहरू उत्पादन तथा एसेम्बल गर्ने उद्योगहरू पनि खुल्ने क्रममा रहेका छन् । सरकारले ल्याउने बजेटमा त्यस्ता सवारी साधन एसेम्बलिङ्ग उद्योगहरूलाई दिँदै आएको महशुलमा छुट लगायत नीतिगत सुविधाहरूलाई कटौती गर्न लागेको भन्ने विषयमा नाडाको ध्यान भएको जनाएको छ ।

सवारी साधनको एसेम्बल तथा उत्पादन उद्योग धेरै पुँजी तथा लगानी चाहिने उद्योग हो। नेपालमा नै सवारी साधनहरुको एसेम्बल उद्योग स्थापना हुँदा सर्वसाधरण वर्गले समेत केही सस्तो मूल्यमा सवारी साधनहरू प्राप्त गर्ने मात्र नभई नेपालमा थप रोजगारी सिर्जना हुने र नेपालमा विदेशी प्रविधिको समेत हस्तान्तरण हुन गई नेपाली प्राविधिज्ञहरूको क्षमता विकासमा ठूलो सहयोग पुग्ने नाडाको भनाई छ। एसेम्बल उद्योगहरूले औद्योगिकरण र आर्थिक स्थिरता कायम गर्न ठूलो टेवा पुर्‍याई रहेको विज्ञप्तिमा उल्लेख छ।

सरकारले सबै नागरिकले सवारी साधन प्रयोग गरुन भन्ने उद्देश्यले सोही अनुरुप नीतिगत प्रोत्साहनका प्याकेजहरू ल्याउदै जानु पर्नेमा थोरै बर्षको अन्तरालमा भएकै नीतिहरूलाई समेत पटक पटक हेरफेर गर्दै जाने हो भने नेपालमा एसेम्बलिङ्ग उद्योग खुल्ने त कुरै छाडौ भएकै एसेम्बल उद्योगहरू पनि बन्द हुने अवस्था आउने छ भन्ने नाडाको धारणा रहेको विज्ञप्तिमा जनाइएको छ।



प्रतिक्रिया दिनुहोस !