४ जेष्ठ २०८१, शुक्रबार

चुनावमा मलाई कसरी सिध्याउने भनेर पार्टीभित्रकै मान्छे लागे : विनोद चौधरी

प्रकाशित मिति :  23 July, 2023 1:01 pm


काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोदकुमार चौधरीले गत प्रतिनिधि सभा निर्वाचनमा आफूलाई हराउनका लागि पार्टीभित्रकै मान्छे लागि परेको दाबी गरेका छन् ।

आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै नेता चौधरीले निर्वाचनमा पार्टीको उम्मेदवारलाई जिताउन सबै एक ठाउँमा उभिएर सहयोग गर्नुका साटो कसरी सिध्याउने भनेर लागेका आरोप लगाएका हुन् ।

उनले बिरोधीलाई जिताउनका लागि पार्टीभित्रकै मान्छेहरू लागि परेको भन्दै आफूले प्रमाणसहित अनुशासन आयोगमा पेस गरेको बताए ।

आफ्नै उम्मेदवारलाई हराउन लाग्ने संस्कारको अन्त्य गर्न नसकिए आगमी दिनमा पार्टीलाई अझ असर पर्दै जाने उनले बताए । “निर्वाचनको क्रममा टिकट पाउनेवित्तिकै समग्र पार्टी, स्थानीय नेतागण, टिकटका प्रत्यासी सबै पार्टीको संरचना र संस्कार बमोजिम एक ठाउँमा उभिएर सहयोग गर्नुको साटो कसरी सिध्याउने हो भन्नेमा लागेको मेरो अनुभूति भयो,” उनले भने, “धेरैले यस्तो अनुभूति गरेको हुनुपर्छ । निर्वाचनमा हराउने मात्र होइन, विरोधीलाई कसरी जिताउने भन्नेसम्म लागेका प्रत्यक्ष प्रमाणहरू सार्वजनिक छन् । यो गम्भीर समस्या हो । त्यस्ता मानसिकता बोकेका मान्छेहरूलाई पन्छाउनै पर्दछ ।’

उनले नयाँ राजनीतिक दलहरूले जस्तै पार्टीलाई प्रविधिमैत्री बनाउनुपर्ने र जनताको मुद्दाहरू उठाउनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !