४ कार्तिक २०८३, मंगलबार

चालु वर्ष विपद्बाट ३८६ जनाको मृत्यु, सर्पदंशबाट मात्रै ११० जनाको ज्यान

प्रकाशित मिति :  20 October, 2026 2:44 pm


काठमाडौं । चालु आर्थिक वर्ष २०८३ को वैशाख १ देखि कात्तिक ३ गतेसम्म देशभर भएका ७ हजार ४३९ वटा विपद्का घटनामा ३८६ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा धेरै मानवीय क्षति सर्पदंशबाट भएको छ ।

प्राधिकरणको तथ्यांकअनुसार सर्पदंशबाट मात्रै ११० जनाको मृत्यु भएको छ भने १ हजार ५२५ जना घाइते भएका छन् । उक्त अवधिमा सर्पदंशका १ हजार ६२२ घटना भएका छन्, जसबाट १ हजार ६२७ परिवार प्रभावित भएका छन् ।

कुल २ हजार ४३३ जना घाइतेमध्ये ६२ प्रतिशतभन्दा बढी सर्पदंशका कारण घाइते भएका छन् । यसले सर्पदंशको जोखिम न्यूनीकरण, प्राथमिक उपचार र एन्टिस्नेक भेनमको उपलब्धतामा ध्यान दिनुपर्ने देखाएको छ ।

पहिरोबाट ७६ र बाढीबाट ४१ जनाको मृत्यु

प्राधिकरणका अनुसार यस अवधिमा पहिरोबाट दोस्रो ठूलो मानवीय क्षति भएको छ । देशभर १ हजार ७०९ स्थानमा पहिरो जाँदा ७६ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता र ७५ जना घाइते भएका छन् । पहिरोबाट १ हजार ४२६ परिवार प्रभावित भएका छन् ।

त्यस्तै, ४६० स्थानमा बाढी आउँदा ४१ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । बाढीबाट १ हजार ३४८ परिवार प्रभावित भएका छन् । बाढी र पहिरोमा गरी १४ जना बेपत्ता रहेकाले मृतकको संख्या बढ्न सक्ने जोखिम छ ।

यस अवधिमा चट्याङका ३३३ घटनामा ३६ जनाको मृत्यु भएको छ भने २०४ जना घाइते भएका छन् । चट्याङका कारण ४०३ परिवार प्रभावित भएका छन् ।

आगलागी र वन्यजन्तुको आक्रमणबाट पनि क्षति

प्राधिकरणको तथ्यांकअनुसार देशभर १ हजार ५०७ स्थानमा आगलागी हुँदा २९ जनाको मृत्यु भएको छ भने २१९ जना घाइते भएका छन् । आगलागीबाट १ हजार ६३९ परिवार प्रभावित भएका छन् ।

हिमाली तथा उच्च पहाडी क्षेत्रमा लेक लाग्ने समस्याका ७२ घटनामा २६ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् ।

त्यस्तै, मानव–वन्यजन्तु द्वन्द्वअन्तर्गत जनावरको आक्रमणका ३९८ घटनामा २१ जनाको मृत्यु भएको छ भने २४१ जना घाइते भएका छन् । छ वटा हिमपहिरोका घटनामा १९ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

हावाहुरीका ५३७ घटनामा १६ जनाको मृत्यु भएको छ भने १ हजार ४९५ परिवार प्रभावित भएका छन् । त्यस्तै, भारी वर्षाका ५८४ घटनामा सात जनाको मृत्यु भएको प्राधिकरणको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु

प्राधिकरणका अनुसार कात्तिक २ गते बिहान १० बजेदेखि कात्तिक ३ गते बिहान १० बजेसम्मको २४ घण्टामा देशका २१ जिल्लामा २४ वटा विपद्का घटना भएका छन् ।

यस अवधिमा आगलागीका १८ घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पाँच जिल्लामा भएका सर्पदंशका पाँच घटनामा नौ जना घाइते भएका छन् । त्यस्तै, जनावरको आक्रमणका एक घटनामा एक जना घाइते भएका छन् ।

पछिल्लो २४ घण्टामा विपद्का कारण कुल एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । यस अवधिमा १८ लाख २ हजार ५०० रुपैयाँ बराबरको अनुमानित आर्थिक क्षति भएको छ भने १६ वटा चौपाया मरेका छन् ।

विपद् प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि १४१ जना प्रहरी परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।

९ हजार ५२५ परिवार प्रभावित

वैशाख १ देखि कात्तिक ३ गतेसम्म भएका ७ हजार ४३९ विपद्का घटनामा ३८६ जनाको मृत्यु, १४ जना बेपत्ता र २ हजार ४३३ जना घाइते भएका छन् । उक्त अवधिमा ९ हजार ५२५ परिवार प्रभावित भएका छन् ।

मौसम परिवर्तन, सुक्खा मौसमको सुरुवात र हिउँद नजिकिँदै गर्दा आगलागी तथा चिसोबाट हुन सक्ने जोखिमप्रति सतर्क रहन प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ । साथै, विपद्सम्बन्धी पूर्वसूचना तथा जानकारीका लागि आधिकारिक माध्यमको प्रयोग गर्न अनुरोध गरेको छ ।

नोटः यस तथ्यांकमा भोटेकोशी बाढी र कालीगण्डकी बाढीका घटना समावेश गरिएको छैन ।

– न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !