विजयादशमीमा प्रधानमन्त्री शाहको सन्देशः सोचसँगै व्यवहार बदलौँ
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुनुपर्ने बताएका छन् ।
विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हरेक नागरिकलाई सरकार आफ्ना लागि छ भन्ने महसुस गराउन आवश्यक रहेको बताएका हुन् ।
उनले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको उल्लेख गर्दै इमानदार प्रयास, अठोट र सामूहिक मेहनतले समाजमा विद्यमान विकृति हटाउन मद्दत गर्ने बताएका छन् ।
प्रधानमन्त्री शाहले विजयादशमी असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा मनाइने पर्व भएको उल्लेख गरेका छन् । पौराणिक मान्यताअनुसार यसै दिन दुर्गा भवानीले महिषासुरमाथि विजय प्राप्त गरेको र भगवान् रामले असत्यका प्रतीक रावणको अन्त्य गरेको दिनका रूपमा विजयादशमी मनाइने उनले बताएका छन् ।
उनले विजयादशमीका अवसरमा देश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
विजयादशमीमा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले दुर्गा भवानीले विजय प्राप्त गरेजस्तै सबैले हरेक सत्कर्ममा विजय प्राप्त गर्न सकून् भन्ने कामना गरेका छन् । टाढा रहेका मान्यजनलाई समेत खोजीखोजी भेटेर आशीर्वाद ग्रहण गर्ने परम्पराले पारिवारिक आत्मीयता बढाउने उनको भनाइ छ ।
प्रधानमन्त्री शाहले विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक सोच त्याग्न प्रेरणा दिने बताएका छन् ।
उनले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त नेपाली समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताको सूत्रमा बाँध्न विजयादशमीले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन् ।
वर्षौँदेखि छुट्टिएका साथीभाइ तथा आफन्तजनसँग आत्मीयता साट्ने अवसरका रूपमा समेत यो पर्व महत्त्वपूर्ण रहेको उनले बताएका छन् ।
अन्त्यमा प्रधानमन्त्री शाहले सबैलाई आआफ्नो ठाउँ र क्षमताअनुसार विजयादशमी मनाउन तथा आपसमा सद्भाव, एकता, सम्मान र माया साटासाट गर्न आह्वान गरेका छन् ।








