नेकपाको डेढमहिने ‘राष्ट्रिय जागरण अभियान’ सुरु, आत्मसमीक्षासहित गाउँ पस्दै
काठमाडौं।
नेपाली कम्युनिष्ट पार्टीले विद्यमान राजनीतिक, आर्थिक तथा सामाजिक संकट, बढ्दो महँगी र जनजीविकाका सवाललाई सम्बोधन गर्न देशव्यापी ‘राष्ट्रिय जागरण अभियान’ सुरु गरेको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट सुरु भएको अभियान मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ।
अभियानको घोषणा गर्दै पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्व गाउँ, वडा र बस्तीसम्म पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने बताए।
वर्तमान दुईतिहाइ समर्थित सरकारले जनअपेक्षाअनुसार नतिजा दिन नसक्दा सर्वसाधारणमा निराशा र अन्योल बढेको दाहालको आरोप छ।
बढ्दो महँगी, बेरोजगारी, युवा पलायन तथा किसान र व्यवसायीका समस्याले जनजीवन कष्टकर बन्दै गएको उनले बताए।
अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि हस्तक्षेप भइरहेको दाबी गर्दै उनले लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी संविधानमाथि भूराजनीतिक चलखेल तथा आन्तरिक कारणले जोखिम बढेको उल्लेख गरे।
यसपटक पार्टीले विगतका कमजोरीप्रति खुला आत्मसमीक्षा गरेको पनि दाहालले बताए। कम्युनिष्ट आन्दोलन श्रमजीवी, किसान र उत्पीडित वर्गसँग टाढिँदै गएको तथा ‘जनमुखीभन्दा नेतामुखी र गाउँमुखीभन्दा केन्द्रमुखी’ बन्दै गएको यथार्थलाई स्वीकार गर्दै जनताको विश्वास पुनः आर्जन गर्न नेताहरूले कार्यशैली बदल्नुपर्ने निष्कर्ष पार्टीको छ।
अभियानका क्रममा केन्द्रीय नेताहरूकै नेतृत्वमा टोलीहरू टोलटोलमा पुगेर महँगी, कालोबजारी, भ्रष्टाचार र प्रशासनिक ढिलासुस्तीबारे जनताका गुनासा संकलन गरिने दाहालले बताए।
समस्या समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकारसमक्ष मागपत्र तथा ज्ञापनपत्र पेस गरिनेछ। अभियानकै अवधिमा सदस्यता नवीकरण र संगठन सुदृढीकरणका काम पनि अघि बढाइने पार्टीले जनाएको छ।
हालै देशका विभिन्न भूभागमा आएको बाढीपहिरो तथा रसुवाको भोटेकोशी क्षेत्रमा भएको विपद्का बेला राज्य संयन्त्रले नागरिकको खोज, उद्धार र राहतमा प्रभावकारी तदारुकता देखाउन नसकेको भन्दै पार्टीले आपत्ति जनाएको छ।
मित्रराष्ट्रबाट प्राप्त हुन सक्ने प्राविधिक सहयोग समयमै सदुपयोग नगरिँदा थप क्षति भएको उल्लेख गर्दै पार्टीले प्रभावितहरूको सुरक्षित पुनःस्थापना र क्षतिग्रस्त पूर्वाधारको तत्काल पुनर्निर्माण गर्न सरकारसँग माग गरेको छ।








