काठमाडौंका सम्पदा चिनाउँदै १० किलोमिटर ‘हेरिटेज रन’ सम्पन्न (फोटो फिचर)
काठमाडौं । काठमाडौंका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाको आयोजनामा आइतबार बिहान १० हजार मिटरको ‘हेरिटेज रन–सम्पदा दौड’ आयोजना गरिएको छ।
काठमाडौं फिल्म फेस्टिभलसँग जोडिएको उक्त दौड बिहान ६ बजे वसन्तपुरबाट सुरु भएको हो। दौडमा सहभागी धावकहरूले काठमाडौंका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको पहिचान प्रवर्द्धन गर्दै दौड पूरा गरेका छन्।
महानगरपालिकाले खेलकुद र सम्पदा प्रवर्द्धनलाई जोड्दै आयोजना गरेको यस कार्यक्रमले काठमाडौंको मौलिक संस्कृति, ऐतिहासिक स्थल तथा पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ।
दौडमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल व्यक्तित्वहरूको समेत सहभागिता रहेको थियो। कार्यक्रममा अस्ट्रेलियाली पाराओलम्पियन क्याट्रिना बेव, १३औँ दक्षिण एसियाली खेलकुदमा १० हजार मिटर दौडतर्फ स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठ तथा ओलम्पियन हरिबहादुर रोकायालगायतको उपस्थिति रहेको थियो।
दौडको महिला तथा पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने धावकलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको थियो।
काठमाडौं महानगरपालिकाले सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धन र सहरको सांस्कृतिक पहिचानलाई खेलकुद गतिविधिसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो।














तस्बिर : नेपाल फोटो सर्भिस







