९ कार्तिक २०८३, आइतबार

प्रचण्डको चेतावनी : इतिहासको भूमिकालाई अवमूल्यन गर्न खोजियो, मुलुकमा फेरि नयाँ परिस्थिति बन्छ

प्रकाशित मिति :  25 October, 2026 9:34 am


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित ‘पार्टी जागरण अभियान’को उद्घाटन गर्दै दाहालले तत्कालीन जनयुद्धको स्मरण गरे। जनताका मुद्दा निष्ठापूर्वक उठाउँदा जस्तोसुकै प्रतिकूलतामा पनि जनसमर्थन जुट्ने विश्वास व्यक्त गर्दै उनले पार्टीले इतिहासमा खेलेको भूमिका र विचारको महत्त्वलाई अवमूल्यन गर्न खोजिएको बताए।

जनयुद्धको प्रारम्भिक चरणको कठिन यात्राको समीक्षा गर्दै दाहालले सुरुवाती दिनमा सीमित संख्यामा रहेका कार्यकर्ताबाट सुरु भएको आन्दोलन कालान्तरमा लाखौँ जनताको समर्थनमा रूपान्तरण भएको र त्यसले मुलुकमा ऐतिहासिक परिवर्तन सम्भव बनाएको बताए।

वर्तमान राजनीतिक परिवेशमा माओवादी आन्दोलन र त्यसको ऐतिहासिक योगदानलाई कमजोर आँक्ने प्रवृत्ति बढेको उल्लेख गर्दै उनले परिवर्तनका संवाहकलाई उपेक्षा गर्ने प्रयास सफल नहुने जिकिर गरे। विचार, सिद्धान्त र बलिदानको जगलाई कसैले पनि सजिलै मेटाउन नसक्ने उनको भनाइ छ।

पछिल्लो समय पार्टीप्रति भइरहेका टीकाटिप्पणी र आलोचनाप्रति संकेत गर्दै दाहालले इतिहासलाई ‘माइनस’ गरेर अघि बढ्न नसकिने बताए। जनताको हित र परिवर्तनका एजेन्डामा दृढ रहेमा निकट भविष्यमै पार्टीको पक्षमा अनुकूल राजनीतिक वातावरण बन्ने उनको विश्वास छ।

दाहालले भने, ‘जनताका मुद्दा उठाउने र जनताकै निम्ति लड्ने हो भने अन्ततः जनताले साथ दिन्छन् भन्ने विश्वासका साथ हामी अघि बढ्यौँ । जनयुद्ध सुरु गर्दा हामी जम्मा ६० जना थियौँ। त्यही संख्या बढ्दै ६००, ६ हजार, ६ लाख हुँदै ६० लाखसम्म पुग्यो र अन्ततः नेपाल गणतन्त्र बन्यो। आज हाम्रो विचार र इतिहासमा खेलेको भूमिकालाई अवमूल्यन गर्ने प्रयास भइरहेको छ। तर हामीलाई विश्वास छ, केही समयपछि देशमा फेरि नयाँ परिस्थिति निर्माण हुनेछ।’

उनले जनतासँग जोडिएर परिवर्तनका एजेन्डालाई दृढतापूर्वक अघि बढाएमा राजनीतिक परिस्थितिमा फेरबदल आउने र पार्टीले पुनः जनसमर्थन प्राप्त गर्ने विश्वास व्यक्त गरे।

– न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !