विश्वव्यापी संकट समाधानका लागि तत्काल कूटनीतिक पहल आवश्यक : इस्तानबुल सम्मेलन
काठमाडौं । विश्वभर गहिरिँदै गएका संकट समाधानका लागि तत्काल प्रभावकारी कूटनीतिक पहल र क्षेत्रीय उपायको खोजी गर्नुपर्नेमा अन्तर्राष्ट्रिय समुदायले जोड दिएको छ।
टर्कीको इस्तानबुलमा शुक्रबारदेखि सुरु भएको नवौँ ‘इस्तानबुल मध्यस्थता सम्मेलन’मा सहभागी कूटनीतिज्ञ तथा द्वन्द्व समाधानविद्हरूले युद्ध रोक्न र दीर्घकालीन शान्ति कायम गर्न संवादको विकल्प नभएको बताएका छन्।
परिवर्तित विश्व परिदृश्यमा शान्ति स्थापनाका लागि साझेदारी र नयाँ दृष्टिकोणको खोजी गर्ने उद्देश्यले आयोजित दुईदिने सम्मेलनमा झन्डै २०० उच्चस्तरीय कूटनीतिज्ञ, प्राज्ञ तथा द्वन्द्व समाधान विज्ञ सहभागी छन्। यस वर्षको सम्मेलनको नारा ‘शान्तिका लागि साझेदारी र नयाँ दृष्टिकोण : बदलिँदो विश्वमा मध्यस्थता’ तय गरिएको छ।
सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वभर द्वन्द्वहरू बढ्दै गएको र ती झन् घातक, जटिल तथा समाधान गर्न कठिन बन्दै गएको बताए।
मध्यस्थता तत्काल परिणाम दिने जादुमयी उपाय नभए पनि सुझबुझ र दृढ संकल्पका साथ अघि बढाइएमा यसले शान्तिको सम्भावनालाई दिगो यथार्थमा बदल्न सक्ने उनको भनाइ थियो। विश्वभर जारी हिंसा र हत्याको शृङ्खला अन्त्य गर्न तथा द्वन्द्वरत पक्षलाई हतियार बिसाउन प्रेरित गर्न सामूहिक राजनीतिक इच्छाशक्ति आवश्यक रहेको उनले बताए।
त्यसैगरी, आयोजक राष्ट्र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले पनि भिडियो सन्देशमार्फत विश्वव्यापी तनाव चुलिँदै गएको अवस्थामा निरन्तर संवाद आवश्यक रहेको बताए।
द्वन्द्वरत पक्षहरू एकअर्कासँग संवाद गर्न तयार नभएको र आशाका किरणहरू क्षीण हुँदै गएको अवस्थामा समेत कूटनीतिक प्रयास त्याग्न नहुने टर्कीको मुख्य मान्यता रहेको उनले स्पष्ट पारे।
बढ्दो भूराजनीतिक तनाव, क्षेत्रीय युद्ध तथा मानवीय संकटका बीच सुरु भएको सम्मेलनले द्वन्द्व समाधानका व्यावहारिक उपाय पहिचान गर्नुका साथै अन्तर्राष्ट्रिय मध्यस्थता प्रक्रियालाई थप सुदृढ बनाउन दिशानिर्देश गर्ने अपेक्षा गरिएको छ।
– न्युज एजेन्सी नेपाल/सिन्ह्वा







