१२ कार्तिक २०८३, बुधबार

स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे

प्रकाशित मिति :  28 October, 2026 7:37 am


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले स्वतन्त्रतापूर्वक बोल्न, हिँड्न र आफ्ना विचार व्यक्त गर्न पाउनुपर्ने भावनाले आफू राजनीतिमा प्रवेश गरेको बताएका छन्।

मंगलवार पोखरामा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले बाल्यकालमा लोकतान्त्रिक आन्दोलनमा संलग्न नेताहरूले भोग्नुपरेको कठिनाइ नजिकबाट देखेको स्मरण गरे। त्यही अनुभवले आफूभित्र राजनीतिक चेतना र स्वतन्त्रताका पक्षमा उभिने प्रेरणा जगाएको उनले बताए।

आफू १०–११ वर्षको हुँदा रामचन्द्र पौडेललगायतका नेताहरू राति आफ्नो घरमा आउने गरेको स्मरण गर्दै पाण्डेले उनीहरू किन राति मात्र आउने र उज्यालो भएपछि मात्र बाहिर निस्कने गर्थे भन्ने जिज्ञासा बाल्यकालमा जागेको बताए।

पछि बुझ्दै जाँदा ती नेताहरूले स्वतन्त्रतापूर्वक बोल्न, हिँड्न र आफ्ना विचार व्यक्त गर्न नपाएको थाहा पाएको उल्लेख गर्दै उनले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकारप्रतिको त्यही भावनाले राजनीतिमा आउन प्रेरित गरेको बताए।

“म सानो छँदा, १०–११ वर्षको उमेरमा, रामचन्द्र दाइ लगायतका नेताहरू राति घरमा आउनुहुन्थ्यो र उज्यालो भएपछि मात्र निस्कनुहुन्थ्यो। उहाँहरू किन राति मात्र आउनुहुन्छ र दिउँसो खुलेर हिँड्न सक्नुहुन्न भन्ने कौतूहलता मलाई लाग्थ्यो। पछि बुझ्दै जाँदा उहाँहरूले खुलेर बोल्न, हिँड्न र आफ्ना विचार राख्न पाउने अवस्था रहेनछ भन्ने थाहा पाएँ,” उनले भने।

पाण्डेले राजनीतिक आन्दोलनका क्रममा जेलनेल भोगेका, लामो समय संघर्ष गरेका र पार्टीमा निरन्तर योगदान दिएका नेता तथा कार्यकर्ताको योगदानलाई पद र अवसरका आधारमा मात्र मूल्यांकन गर्न नहुने बताए।

कांग्रेसमा धेरैले जेलनेल सहेर त्याग र तपस्या गरे पनि राजकीय पद प्राप्त नगरेको उल्लेख गर्दै उनले अवसर पाएका व्यक्तिसँगै लामो समय योगदान दिएर पनि अवसर नपाएका नेताकार्यकर्तालाई सम्झनुपर्नेमा जोड दिए।

“पद र अवसर प्राप्त गरेका व्यक्तिहरूलाई मात्र होइन, लामो समयदेखि पार्टीमा योगदान दिँदै आउनुभएका तर अवसर नपाएका साथीहरूलाई पनि सम्झनुपर्छ। उहाँहरूको योगदानको सम्मान गर्न सक्यौँ भने मात्र हामीले वास्तविक आत्मसन्तुष्टि प्राप्त गर्न सक्छौँ,” उनले भने।

राजनीतिक आन्दोलनको इतिहास, नेताहरूको त्याग र लोकतान्त्रिक मूल्यबारे नयाँ पुस्तालाई जानकारी गराउनुपर्ने उल्लेख गर्दै पाण्डेले सम्बन्धित पुस्तक पनि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरे।

– न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !