१२ कार्तिक २०८३, बुधबार

पाँच दिनको मौसम पूर्वानुमान ; बिहीबारदेखि शनिबारसम्म मौसमको प्रभाव बढी हुने, आइतवार बाट क्रमशः सुधार हुने

प्रकाशित मिति :  28 October, 2026 8:46 am


काठमाडौं। मौसम विज्ञान विभागले बिहीबारदेखि शनिबारसम्म देशका धेरैजसो भागमा मौसमको प्रभाव बढ्ने पूर्वानुमान गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार उक्त अवधिमा केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ।

विभागले बुधबार बिहान ८ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। बिहीबारदेखि बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभावसमेत थपिने जनाइएको छ।

बिहीबारदेखि शनिबारसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

बिहीबार राति केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान छ। शुक्रबार देशका अधिकांश भागमा बादल लाग्ने र मेघगर्जनसहित वर्षा तथा हिमपात हुने सम्भावना छ। उक्त दिन पनि केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने विभागले जनाएको छ।

शनिबार पनि मौसमको प्रभाव कायम रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ।

आइतबार भने मौसममा क्रमिक सुधार हुने पूर्वानुमान छ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने तथा तराईका केही स्थानमा बिहान हुस्सु वा कुहिरो लाग्न सक्ने विभागले जनाएको छ।

मौसमको प्रतिकूल प्रभावलाई ध्यानमा राख्दै विभागले किसानलाई बिहीबारअघि नै धानबाली भित्र्याउन आग्रह गरेको छ। उच्च हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले पर्यटकलाई त्यस्ता क्षेत्रमा नजान तथा गइसकेकालाई सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।

वर्षाका कारण चिसो बढ्ने, पहिरो जाने तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सर्वसाधारण र सरोकारवाला निकायलाई आवश्यक पूर्वतयारी गर्न पनि विभागले आग्रह गरेको छ।

मौसमसम्बन्धी थप जानकारीका लागि विभागको बबरमहलस्थित कार्यालयको फोन नम्बर ११५५ मा सम्पर्क गर्न सकिनेछ।



प्रतिक्रिया दिनुहोस !