१२ कार्तिक २०८३, बुधबार

ओलीको टिप्पणीः ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान् जन्मिएर हैरान छ’

प्रकाशित मिति :  28 October, 2026 7:39 am


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा नक्कली भगवान् र अन्धभक्तिको प्रवृत्ति बढेको भन्दै व्यङ्ग्य गरेका छन्।

मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले धार्मिक मान्यता, योग दर्शन र समाजमा देखिएको अन्धभक्तिप्रति टिप्पणी गरेका हुन्।

पार्वतीले देवताहरूलाई सराप दिएपछि देवताका सन्तान जन्मिने क्रम रोकिएको र त्यसपछि नक्कली भगवान् जन्मिन थालेको भन्दै उनले व्यङ्ग्य गरे। भारतबाट आउने जोगीहरूलाई देख्नेबित्तिकै खुट्टा समातेर ढोग्ने प्रवृत्तिप्रति पनि उनले टिप्पणी गरे।

ओलीले योगलाई ईश्वरसँग जोडेर भ्रम सिर्जना गर्न खोजिएको आरोप लगाउँदै योगको प्रारम्भिक दर्शन कुनै ईश्वरसँग सम्बन्धित नरहेको दाबी गरे। उनका अनुसार अष्टाङ्ग योगका यम र नियमले हिंसा नगर्न, असत्य नबोल्न, सत्य बोल्न, शान्तिको मार्गमा हिँड्न र अरूको सम्पत्तिमा लोभ नगर्न सिकाउँछन्।

अरूको सम्पत्तिमा लोभ नगर्ने र आफ्नो जायज हकमा मात्र सीमित रहने मान्यता आफूहरूले खोजेको सामाजिक आदर्शसँग मेल खाने उनको भनाइ थियो।

ओलीले पतञ्जलिको योग दर्शनमा आइपुग्दा योग ईश्वरवादसँग मिसिएको दाबी गरे। त्यसअघि सांख्य र शैव परम्परामा योग ईश्वरवादसँग नमिसिएको उनको भनाइ थियो।

‘सत्यबाट हामी आफ्ना विचार बनाउन प्रस्थान गर्न थाल्छौँ। त्यहीँबाट हाम्रा विचारको प्रस्थान हुन्छ, न्यायबाट र मानवतावादबाट। यसैकारण अष्टाङ्ग योगको पहिलो अङ्ग यम र दोस्रो नियम हो। हिंसा नगर, असत्य नबोल, सत्य बोल, शान्तिको मार्गमा हिँड, सबैको सुरक्षा गर र अर्काको सम्पत्तिमा लोभ नगर भन्छ। आफ्नो हकको, जायज हकको चीजमा बाहेक अन्त कुनै लोभ नगर भन्छ। हामीले खोजेकै त्यही त हो नि,’ उनले भने।

योग दर्शनमा ईश्वरवादको प्रवेशबारे आफ्नो धारणा राख्दै ओलीले शिवको योग र सांख्य योगले स्वस्थ शरीर तथा स्वस्थ मस्तिष्कमा जोड दिने बताए।

‘२२–२३ सय वर्ष अगाडि मात्रै आइपुग्दाखेरि चाहिँ भगवान्हरू छ्याप्छ्याप्ती जन्मिँदा जन्मिँदा ३३ कोटि जन्मिए। धन्न पार्वतीले सराप दिइछन् र त्यसपछि देवता जन्मिन पाएनन्। अब देवता बढी जन्मिँदैनन्। तर पार्वतीले सराप दिएपछि फेरि भगवान्हरू, नक्कली भगवान् जन्मिएर हैरान छ,’ उनले भने।

समाजमा धार्मिक आस्था र व्यक्तिपूजाका नाममा देखिने अन्धभक्तिप्रति व्यङ्ग्य गर्दै ओलीले दक्षिणतिरबाट आउने जोगीलाई देख्नेबित्तिकै खुट्टा समातेर ढोग्ने प्रवृत्तिसमेत रहेको बताए।

उनले योगले स्वस्थ शरीर र स्वस्थ मस्तिष्कको विकासमा सहयोग गर्ने उल्लेख गर्दै मदन भण्डारी स्मृति प्रतिष्ठानलाई नयाँ खोज तथा अनुसन्धान र रैथाने ज्ञान, सीप एवं परम्पराको खोजीमा ध्यान दिन आग्रह गरे।

– न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !