१२ कार्तिक २०८३, बुधबार

विराटनगरमाथि चितवनको नाटकीय जित

प्रकाशित मिति :  28 October, 2026 7:41 am


कीर्तिपुर । बलरले उत्कृष्ट पुनरागमन गरेपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विजयी सुरुवात गरेको छ। मंगलवार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवनले विराटनगर किङ्सलाई ८ रनले पराजित गरेको हो।

चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै अलआउट भयो। जितको नजिक पुगेको विराटनगरले अन्तिम पाँच विकेट केवल १७ रन जोड्दा गुमाएपछि नाटकीय हार बेहोर्नुपर्‍यो।

विराटनगरलाई अन्तिम २५ बलमा २६ रन आवश्यक हुँदा पाँच विकेट बाँकी थियो। वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलको आक्रामक ब्याटिङले विराटनगर जिततर्फ अग्रसर देखिएको थियो। तर चितवनका बलरले दबाब कायम राख्दै खेल आफ्नो पक्षमा पारे।

विराटनगरका लागि रसेलले १७ बलमा एक चौका र चार छक्कासहित ३३ रन बनाए। उनले पाँचौँ विकेटका लागि एन्जेलो म्याथ्युजसँग ४३ रनको साझेदारी गरे। १६औँ ओभरमा कमलसिंह ऐरीले रसेललाई देव खनालबाट क्याच गराएपछि खेलले नयाँ मोड लियो।

रसेल आउट हुँदा विराटनगर १५.५ ओभरमा १३२ रनमा पाँच विकेट गुमाएको अवस्थामा थियो। त्यसपछि विराटनगरले थप १७ रन जोड्दा बाँकी पाँच विकेट पनि गुमायो।

ओपनर लोकेश बमले १४ बलमा चार चौका र एक छक्कासहित २४ रन बनाए। इमरानले ३९ तथा बसिर अहमदले १३ रन जोडे। म्याथ्युजले १४ र शुभम रञ्जानेले १० रन बनाए। रूपेश सिंह, प्रतीश जिसी र कप्तान सन्दीप लामिछानेले खाता खोल्न सकेनन्।

चितवनका कमलसिंह ऐरीले चार विकेट लिए। रिजन ढकालले दुई तथा टोम टेलर, रञ्जित कुमार, डान मौस्ले र मौसम ढकालले समान एक विकेट लिए। चितवनका बलिङमा उत्रिएका सबै खेलाडीले विकेट लिन सफल भए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो।

चितवनका लागि इंग्ल्यान्डका ब्याटर डेविड मलानले सर्वाधिक ७० रन बनाए। उनले ५० बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे। ओपनर देव खनालसँग पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका मलानले टोलीलाई राम्रो सुरुवात दिलाए।

देव १२ रनमा आउट भए भने विकेटकिपर अर्जुन साउदले तीन रन मात्र बनाउन सके। मलानलाई रसेलले १३औँ ओभरमा बोल्ड गरेपछि चितवनको रनगति केही सुस्त बनेको थियो।

त्यसपछि कप्तान रवि बोपारा र डान मौस्लेले अविजित साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्‍याए। बोपारा ३२ र मौस्ले २९ रनमा अविजित रहे। यी दुईले चौथो विकेटका लागि ६७ रनको अविजित साझेदारी गरे।

विराटनगरका एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चारिथ असालंकाले समान एक विकेट लिए।

बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै दबाबपूर्ण अवस्थामा खेल आफ्नो पक्षमा पारेपछि चितवनले एनपीएलको तेस्रो संस्करणमा सुखद् सुरुवात गरेको छ।

– न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !