राष्ट्रियता र जनजीविकाको सवालमा बालेन्द्र सरकार असफलः लेखनाथ दाहाल
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता लेखनाथ दाहालले बालेन्द्र साह नेतृत्वको सरकार राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा असफल भएको आरोप लगाएका छन्।
मंगलवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै दाहालले बजेट कार्यान्वयन प्रभावकारी हुन नसकेको र भौतिक विकासका ठेक्का प्रक्रिया अघि नबढेको भन्दै सरकारको आलोचना गरेका हुन्।
सरकार गठन भएको आठ महिना बितिसक्दा पनि भौतिक विकासका कुनै पनि ठेक्का प्रक्रिया अघि नबढेको उनको दाबी छ। उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खर्च व्यवस्थापन र बजेट कार्यान्वयनमा ध्यान दिन नसकेको आरोपसमेत लगाए।
वाग्ले कानुनी रूपमा नेपालको अर्थमन्त्री भए पनि विश्व बैंक र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को स्वार्थअनुसार काम गरिरहेको आरोप दाहालले लगाए। विश्व बैंकबाट ऋण लिएर फजुल खर्च बढाउने काममा मात्र अर्थमन्त्री केन्द्रित रहेको उनको भनाइ थियो।
‘डा. स्वर्णिम वाग्ले कानुनतः हाम्रो अर्थमन्त्री भए पनि उहाँ विश्व बैंक र यूएनडीपीको जागिरे हो। त्यहाँबाट कसरी पैसा ल्याउने र फजुल खर्च गर्ने, बालेन्द्रजीको २७ जना सचिवालय पाल्ने, सिंहदरबारभित्र ठगहरूलाई छिराएर फजुल खर्च बढाउँदै हामीलाई ऋणको भारी बोकाउनेबाहेक अरू केही काम भएको छैन,’ उनले भने।
दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध र विगतका विवादबारे दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए। सरकारका प्रतिनिधि तथा सत्तारूढ दलका नेताहरूले भारतसँगको सम्बन्धबारे दिएका अभिव्यक्तिले मुलुकको स्वाभिमानमा गम्भीर चोट पुर्याएको उनको आरोप थियो।
लामिछानेले भारत भ्रमणका क्रममा विगतका विवाद उठाउन नचाहेको र सम्बन्धलाई पछाडि फर्काउन नहुने आशय व्यक्त गरेको विषयलाई दाहालले राष्ट्रियताको सवालसँग जोडेर आलोचना गरे।
त्यस्तै, बालेन्द्र साहले संसद्को रोस्ट्रमबाट नेपालले भारतीय भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको र निजी टेलिभिजन कार्यक्रममा नेपालको राष्ट्रियताबारे प्रश्न उठाएको भन्दै दाहालले आपत्ति जनाए।
‘राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा बालेन सरकार पूर्णतः असफल छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिजी दिल्ली जानुभयो र भारत–नेपाल सम्बन्धका सन्दर्भमा हामी पछाडि फर्किन चाहँदैनौँ, पहिलेका विवादबारे कुरा उठाउन चाहँदैनौँ भन्नुभयो। यो गम्भीर प्रश्न हो,’ उनले भने।
दाहालले सरकारलाई बाढी प्रभावित नागरिकको पुनःस्थापनामा ध्यान दिन पनि आग्रह गरे। प्रभावित नागरिकको पुनःस्थापना र जनजीविकाका समस्याको समाधानलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
– न्युज एजेन्सी नेपाल








