१२ कार्तिक २०८३, बुधबार

उत्कृष्ट बलिङसँगै कर्णाली याक्स विजयी, कठिन अवस्थामा खेल फर्काउने अभ्यास गरेका थियौँ : युनिस

प्रकाशित मिति :  28 October, 2026 7:49 am


काठमाडौं। कर्णाली याक्सले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) मा जित हासिल गरेको छ ।

कर्णालीको इनिङ सुरुआतमै दबाबमा परेको थियो । ओपनर मार्क वाट १ रन, विकेटकिपर दीपक डुम्रे १३ रन र हुसेन तलत ३ रनमा आउट भएपछि कर्णाली ५.३ ओभरमा ३७ रन जोड्दा तीन विकेट गुमाएर संकटमा परेको थियो ।

एक छेउबाट बंगलादेशी ओपनर अरिफुल इस्लामले इनिङ सम्हाल्ने प्रयास गरे । तर, १३औँ ओभरमा स्पिनर हरमीत सिंहले इस्लामलाई ४३ रनमा राहुल यादवबाट स्लिपमा क्याच गराए । २९ बल खेलेका इस्लामले चार छक्का प्रहार गरेका थिए ।

हरमीतले सोही ओभरमा अकबर अलीलाई १ रनमा एलबिडब्लु आउट गरेपछि कर्णाली १२.४ ओभरमा ८७ रन जोड्दा पाँच विकेट गुमाएको अवस्थामा पुग्यो ।

छैटौँ विकेटका लागि पवन सर्राफ र गुलसन झाले २२ रनको साझेदारी गरे । मोइन अलीले गुलसनलाई १२ रनमा आउट गर्दै साझेदारी तोडे । अर्को छेउमा पवनले धैर्यपूर्वक ब्याटिङ गरे पनि उनलाई अन्य ब्याटरबाट पर्याप्त साथ मिलेन ।

कप्तान सोमपाल कामी १ रन र नन्दन यादव ९ रनमा आउट भए । पवन पनि १९औँ ओभरमा ३७ बलमा ३७ रन बनाएर पभेलियन फर्किए । उनको इनिङमा तीन छक्का समावेश थियो ।

जनकपुरको बलिङमा हरमीत सिंहले तीन विकेट लिए भने राहुल यादव र मोइन अलीले समान दुई विकेट लिए । ललित राजवंशीले एक विकेट लिए । ललितले तीन ओभरमा ३८ रन खर्चिए । युवा बलर राहुलले भने चार ओभरमा १५ रन मात्रै दिए ।

बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । पोखराको यो पहिलो र सुदूरपश्चिमको दोस्रो खेल हुनेछ । सुदूरपश्चिमले पहिलो खेलमा लुम्बिनी लायन्ससँग हार बेहोरेको थियो ।

कठिन क्षणमा खेल फर्काउने अभ्यास गरेका थियौँ : कर्णालीका बलर युनिस

जनकपुर बोल्ट्सविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका कर्णाली याक्सका बलर युनिस सिंह ठकुरीले कठिन अवस्थामा खेल आफ्नो पक्षमा फर्काउन गरेको अभ्यासले जित दिलाउन मद्दत गरेको बताएका छन् ।

जनकपुरविरुद्ध प्लेयर अफ दी म्याच बनेका युनिसले तीन विकेट लिएका थिए । उनले जनकपुरका महत्त्वपूर्ण ब्याटर हरमीत सिंह, जिमी निसम र आदित्य महतालाई आउट गरेका थिए । यी विकेट लिनुअघि जनकपुर राम्रो अवस्थामा थियो ।

जितपछि पत्रकार सम्मेलनमा युनिसले कठिन क्षणमा खेल जोगाउने अभ्यासले मैदानमा दबाब सामना गर्न सहयोग पुगेको बताए । हरमीतलाई बलिङ गर्नुअघि कप्तान सोमपाल कामीले बाउन्ड्री जोगाउने गरी बलिङ गर्न सुझाव दिएको उनले जानकारी दिए ।

“कप्तानले बाउन्ड्री जोगाउने तरिकाले बलिङ गर्न भन्नुभएको थियो । त्यहीअनुसार स्टम्प टु स्टम्प बलिङ गरेँ र सफलता मिल्यो,” युनिसले भने ।

आफ्नो टोलीका हरेक खेलाडी जितको नायक बन्न सक्ने विश्वास व्यक्त गर्दै उनले आफू कर्णाली प्रदेशकै खेलाडी भएकाले यस स्तरमा पुग्न कर्णालीका अन्य खेलाडी पनि सक्षम रहेको बताए ।

जनकपुर बोल्ट्सका कप्तान हरमीत सिंहले भने पहिलो हारबाट टोली हतोत्साहित नभएको बताएका छन् । टोलीमा राम्रा खेलाडी रहेकाले आगामी खेलमा सुधार गर्दै पुनरागमन गर्न सक्ने उनको विश्वास छ ।

हरमीतले १७ वर्षीय बलर राहुल यादवको तीव्र गतिको बलिङको प्रशंसा गर्दै उनको भविष्य उज्ज्वल रहेको बताए ।

जितको नजिक पुगेको अवस्थामा सानो गल्तीका कारण हार बेहोर्नुपरेको हरमीतको भनाइ थियो । आफू वा जिमी निसममध्ये एकले खेल जिताएर फर्किने रणनीति बनाए पनि त्यसमा सफल हुन नसकेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !