२५ बैशाख २०८१, मंगलबार

बुटवलमा अत्याधुनिक ‘स्लटर हाउस’ र ‘काेल्ड स्टाेर’ बनाउँदै श्रीनगर, १८ करोड लागत

प्रकाशित मिति :  28 February, 2024 2:39 pm


काठमाडौँ । लुम्बिनी प्रदेशको बुटवलमा अत्याधुनिक मासु प्रशोधन केन्द्र (स्लटर हाउस) र कोल्ड स्टोरेज निर्माण कार्य सुरू गरिएको छ । श्रीनगर एग्रिटेक इन्डष्ट्रिज लिमिटेडले १८ करोड लगानीमा बुटवल औद्योगिक क्षेत्रभित्र पूर्वाधार निर्माण कार्य अगाडि बढाएको हो ।

लुम्बिनी प्रदेशका श्रीगरको ह्याचरी तथा दाना उद्योगहरू सञ्चालमा छन् । कृषिजन्य उत्पादन तथा उद्योगमा सक्रिय रहेको श्रीनगरले आउँदो बैशाख भित्र मासु प्रशोधन तथा कोल्ड स्टोरेजको काम सुरू गर्नेगरी काम अगाडि बढाएको श्रीनगर एग्रिटेक इन्डष्ट्रिज लिमिटेडका अध्यक्ष सतिश चन्द्र श्रेष्ठले बताए ।

किसानबाट बजारमै चलेको भाउमा हामीले कुखुरा खरीद गर्ने भएकाले किसानले पनि उचित मुल्य पाउने उनको भनाइ छ । मासु प्रशोधन उद्योगबाट दैनिक ३ हजार कुखुरा अर्थात ६ हजार किलो मासु तयार गरी बजारमा पठाउने लक्ष्य रहेको र कोल्ड स्टोरको क्षेमता २ सय टनको हुने श्रेष्ठले बताए ।

मासु प्रशोधन उद्योगबाट फ्रोजन मिट साथै बोनलेस, विथ बोन, किमा, ससेज, विंग्स, लगायतका मासु उपलब्ध हुने जनाइएको छ ।

वाणिज्य विभागबाट नेपाल गुणस्तर (एनएस) चिन्ह लिएर प्रशोधन केन्द्र संचालनमा ल्याउने सोचका साथ काम सुरू भएको श्रेष्ठको भनाइ छ ।

“प्रथम चरणमा मासु प्रशोधन तथा कोल्ड स्टोर तथा दोश्रो चरणमा अन्डाको प्रोसेसिंग प्लान्ट पनि जडान गर्ने भएको छ । नेपालमै पहिलो पटक अन्डाको झोल बिक्री गर्ने योजना कम्पनिको रहेको छ । हामी दोश्रो चरणमा अण्डाको झोल र पाउडर पास्चराइज गरी बिक्री समेत गर्छौ, अब अन्डाको झोल ग्यालेन र बोतलमा उपलब्ध हुन्छ, बिकसित मुलुकमा जस्तै”, अध्यक्ष श्रेष्ठले भने ।

कम्पनीको उत्पादन ४० भन्दा बढी जिल्लामा वितरण तथा खपत हुँदै आएकोमा प्रशोधित मासुको मुख्य बजार लुम्बिनी प्रदेशलाई लक्षित गरिएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !