२० बैशाख २०८१, बिहिबार

सत्तारुढ नेकपाको सचिवालय बैठक विना निष्कर्ष सकियो,स्थायी कमिटी बैठक अन्योलमा

प्रकाशित मिति :  6 May, 2020 6:26 pm


काठमाण्डौं, २४ वैशाख ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अन्योलमा परेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकमा स्थायी कमिटी बैठकबारे सहमति नजुटेपछि अन्योलता देखिएको हो ।

गत बैशाख २० गतेको सचिवालय बैठक निर्णय अनुसार पार्टी एकता सुदृढीकरण, स्थायी कमिटी बैठकको एजेण्डा लगायतका विषयमा निर्णय गर्न आज सचिवालय बैठक बसेको थियो ।

तर, पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बैठकबाट बाहिरिएपछि कुनै निर्णय हुन सकेन । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलीका लागि तय भएको स्थायी कमिटी बैठकको एजेण्डा वा बैठकबारे नै के गर्ने भन्ने विषयमा दुई अध्यक्षले छलफल गर्ने बताए ।

बैठकपछि उनले भने,‘भोली स्थायी कमिटीको बैठक बस्ने निर्णय भएको हो । त्यस सन्दर्भमा बैठकको कार्यसूची र बैशाख २० गतेको मर्म अनुरुप प्रस्ताव तयार गर्ने प्रकृयाका सन्दर्भमा दुईवटा अध्यक्ष कामरेडहरुले अझैपनि गृहकार्य गर्न बाँकी रहेको जानकारी बैठकलाई गराईयो र त्यस सन्दर्भमा अहिलेपनि दुईजना अध्यक्ष कमरेडहरुले सल्लाह गरेर बैठकको कार्यसूची वा बैठकका बारेमा नै के गर्ने भन्ने निर्णय गर्नुहुने भएको छ । ’

पार्टी सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठकबारे जानकारी दिदै:

आजको बैठक पार्टी अध्यक्ष एव प्रधानमन्त्री केपी शर्मा ओलीले बीचमै छोडेकोबारे प्रवक्ता श्रेष्ठले भने,‘बैठकमा सके सधै सबैजना बस्ने हो, सकिएन भने विभिन्न कारणले बैठकलाई जानकारी गराएर बैठकबाट निष्कने प्रचालन छँदैछ ।

आज अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री ज्यूले आफ्नो केही व्यवस्थता र साविक कार्यक्रमका कारण बैठकको पुरा समय बस्न नसक्ने जानकारी गराएर जानुभएको हो । यसमा अन्यथा केही छैन ।’

पछिल्लो समय सत्तारुढ नेकपाभित्र चर्को विवाद छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दलविभाजन सम्बन्धित अध्ययादेश ल्याएपछि नेकपाभित्रको विवाद सतहमा आएको छ ।

बैशाख २० गते बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित दुबै अध्यक्ष र नेताहरुले आफ्ना कार्यशैलीबारे आत्मालोचना गर्दै सहमति अनुसार जान तयार भएपछि विवाद केही मत्थर भएको मानिएको थियो । तर ४ दिन नहुँदै नेकपाभित्र विवाद फेरी बढेको देखिएको    छ । आन्तरिक विवादसँगै भोलीको स्थायी कमिटी बैठक समेत अलमलमा परेको छ ।



प्रतिक्रिया दिनुहोस !